मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १२ आइतबार ०८:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गरौँ : लामिछाने

तीन बाहरू केपी बा, देउवा बा र नानीका बा । पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गरौँ, किनकि अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १२ आइतबार ०८:४०:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख दलहरूका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंको खुला मञ्चमा आयोजित उपत्यका भेलामा सम्बोधन गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष प्रचण्डलाई अब बिदाई गर्नुपर्ने वेला आएको बताएका हुन् ।

‘ती तीन बाहरू केपी बा, देउवा बा र नानीका बा । पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गरौँ, किनकि अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके,’ उनले भने, ‘अब पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गर्ने वेला भएको छ । मलाई राजनीतिका घिनलाग्दा दाउपेच जान्नुछैन ।’स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रशंसा गर्दै उनले अवैधानिक संरचनामा डोजर चलाउँदा भइरहेको अवरोधबारे पनि बोले । ‘जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेले दुई मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन,’ उनले भने । 

जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेले दुई मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन ।

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलक्षित पार्टी भेलामा लामिछानेले पाँच दल टुक्रा परेको अवस्थामा गठबन्धन गर्नु भनेको जनताप्रतिको ठगी भएको भन्दै विरोध गरे । ‘सानो भएका दलहरू एक्लाएक्लै होइन, मिलेर चुनाव लड्नका लागि आएका छन्,’ उनले भने, ‘हो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्छ । दलहरू मिल्नुपर्छ, गठबन्धन हुनुपर्छ । तर, आमचुनावमा टुक्राटाक्री परेका पाँच–पाँचवटा दल, ६–६ वटा दल मिलेर एक भएर यसरी जनतामा जानु भनेको ठगी हो । यस्तो ठगीलाई नेपाली जनताले अनुमोदन गर्नुहुँदैन । राजनीतिक दल एक्लाएक्लै आउनुपर्छ ।’ 

लामिछानेको पार्टी हालै चुनावलक्षित कार्यक्रमसहित देशदौडाहामा थियो । आउँदो चुनावमा देशैभरबाट प्रदेश सभामा उम्मेदवार नउठाउने, प्रतिनिधिसभाका लागि मात्रै उम्मेदवार उठाउने स्वतन्त्र पार्टीले घोषणा गरिसकेको छ । लामिछानेले भने अहिलेसम्म कहाँबाट चुनाव लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । समानुपातिक मतबाट सांसद निर्वाचित गर्न सकिने उसको रणनीति छ ।