मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २० मंगलबार
  • Tuesday, 06 December, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १२ आइतबार ०७:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक सय पाँच वर्ष पुरानो सुरुङमार्ग पुनर्निर्माणले गति लिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १२ आइतबार ०७:५२:००

हेटौँडा–१५ स्थित चुरियामाईमा एक सय पाँच वर्षअघि निर्माण गरिएको दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग अलपत्र परेको छ । बागमती प्रदेश सरकारले एक वर्षअघि सुरुङमार्ग पुनर्निर्माण अघि बढाए पनि काम सुस्त हुँदा अलपत्र बनेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ०७९ वैशाखसम्म सुरुङमार्ग पुनर्निर्माण गर्ने भनेको थियो । तर, अवधि सकिएको पाँच महिनासम्म पनि ५० प्रतिशत काम हुन सकेको छैन ।

 तोकिएको समयमा पुनर्निर्माण नसकिएपछि तीन महिना समय थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर विजय केसीले ठूलो पहाडको ढिस्को खनेर पन्छाउने काम सकिएको र पुनर्निर्माण थपिएको समयमै हुने दाबी गरे । निर्देशनालयका इन्जिनियर केसीका अनुसार सहज आवतजावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर दुई सय १५ मिटर हुनेछ । ‘सुरुङ ऐतिहासिक झल्कने गरी पुरानै स्वरूपमा बनाइनेछ । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ, त्यसअनुसार बनाउन मिल्ने अवस्थासम्म निर्माण हुनेछ,’ उनले भने । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिने केसीले बताए ।

पुनर्निर्माणका लागि माउन्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । निर्देशनालयले तीन करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा माउन्टेन इन्फ्रालाई पुनर्निर्माणको ठेक्का दिएको हो ।
करिब पाँच सय मिटर रहेकोे सुरुङको उत्तरतर्फको भाग पुरिएपछि करिब दुई सय ८० मिटर दक्षिणतर्फ मात्र सुरुङमार्ग देखिन्थ्यो । मकवानपुर–बारा जोड्ने सुरुङमार्ग क्षेत्रमा चुरेको उकालो भएकाले सवारीसाधन आवतजावतमा सहज हुने उद्देश्यले एक सय पाँच वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो । विसं १९७४ मा बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम सदरमुकाम भीमफेदीसँग जोड्ने सडक बनाउँदा तराईबाट काठमाडौं सवारी आवागमन गर्न उक्त सुरुङले सजिलो बनाएको जानकारहरू बताउँछन् ।

 यस्तो छ सुरुङमार्गको कथा
मकवानपुर र बारा जोड्न १९७४ मा यो सुरुङमार्ग निर्माण गरिएको हो । दक्षिण एसियाकै पहिलो मानवनिर्मित चुरियामाई सुरुङ तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरका पालामा नेपाली सेनाका इन्जिनियर डिल्लीजंग थापाको डिजाइनमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो । त्यसवेला सुरुङको चौडाइ दुई मिटर ७० सेन्टिमिटर र उचाइ तीन मिटर ३० सेन्टिमिटर थियो । निर्माणपछि सुरुङमार्गबाट ०२० सालसम्म सवारी आउजाउ हुने गरेको थियो । इतिहासबारे जानकार केदारप्रसाद न्यौपानेका अनुसार प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला–ठूला सवारीसाधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । सुरुङमार्गको छेउमा विस्फोट गराएर भत्काइयो र त्यहीँ सडक बनाइयो, यसो गर्दा सुरुङको आधा भाग नष्ट भयो ।

‘सडकछेउ देखिएको सुरुङको मुख थुनियो, तर बारा जिल्लातर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो । सुरुङको केही भाग नष्ट भएपछि सडकपारिको अर्को भागलाई भने कंक्रिटले बन्द गरिएको  थियो ।’ न्यौपानेले भने ।त्यसवेला बाराको अमलेखगन्जसम्म रेल चल्ने गरेको र रेल पछिसम्म चले पनि सुरुङमार्ग भने बन्द भएको 
न्यौपानेले बताए ।