मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडौं
२०७९ भदौ १२ आइतबार ०७:०४:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देशकै ठूलो महिला कारागारमा २५ प्रतिशत कैदीबन्दी बैंकिङ कसुरका

देशभरका कारागारमा हाल एक हजार चार सय ३३ महिला कैदीबन्दी, कर्तव्य ज्यान कसुरका चार सय ५३ जना

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ भदौ १२ आइतबार ०७:०४:००

पटक–पटक आग्रह गरेपछि काठमाडौंका चिनकपुर गुरुङले धना शाहीलाई १० लाख ५० हजार रुपैयाँ सापटी दिए । काठमाडौंमै जय भवानी वस्त्रालय चलाउँथिन् धना । पसलमा सामग्री थप्न भन्दै उनले चिनकपुरसँग रकम मागेकी थिइन् । जब रकम हात पारिन् त्यसपछि सम्पर्कविहीन बनिन् । निकै दिनको खोजीपछि चिनकपुरले धनालाई फेला पारे । धनाले भटाभट चेकमा रकम भरिन् । हस्ताक्षर गरेर चिनकपुरको हातमा थमाइन् । सोही चेक लिएर चिनकपुर बैंक पुगे, बैंक खातामा उल्लेख गरिएको रकम थिएन । 

बैंकमा पर्याप्त रकम नभएको चेक दिएर धनाको झुक्यानमा परेका चिनकपुर पहिलो पीडित होइनन् । उनले धेरै व्यक्तिलाई त्यसैगरी झुक्याएर रकम फुत्काएकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै उनीविरुद्ध ‘चेक बाउन्स’का सातवटा उजुरी छन् । जसमा रकम एक करोड १० लाखभन्दा बढी छ । रकम नभएको बैंकको चेक दिएर सर्वसाधारण ठगी गर्नेमा विजयाश्री रेग्मी भण्डारी पनि पर्छिन् । उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा ‘चेक बाउन्स’का नौवटा उजुरी छन् । सबै गरी चेकमा एक करोड १५ लाख रुपैयाँ रकम उल्लेख छ । प्रहरीका अनुसार विजयाश्रीको काठमाडौंमा रोज ग्रुपअन्तर्गतको रोज निर्माण कम्पनी छ । कम्पनीका संरक्षक उनका श्रीमान् माधवप्रसाद भण्डारी हुन् । 

एक सय २० दिनभित्र निर्माण सम्पन्न गर्ने भन्दै भण्डारीदम्पतीले घर निर्माणको ठेक्का लिने गर्छन् । घर मालिकसँग १० देखि १५ लाख रुपैयाँसम्म अग्रिम भुक्तानी लिन्छन् । त्यसपछि बेपत्ता हुन्छन् । घरमालिकसँग भेट भइहाल्यो भने झोलामा तयार चेक हातहातै थमाउँछिन् र पुनः सम्पर्कविहीन हुन्छिन् । ‘चेक बाउन्स’ कसुरमै पोखराकी ४२ वर्षीया निशा गुरुङ पनि हुन् । रवाफिलो हाउभाउकी उनी ग्राहकसँग नजिकिन सुरुमा आत्मीय व्यवहार गर्छिन् ।

घरजग्गा कारोबारमा अर्बौँ लगानी रहेको गफ दिन्छिन् । अनेक बहाना बनाउँदै ग्राहकसँग रकम फुत्काउँछिन् । त्यसपछि अनेक बहाना देखाउँदै ग्राहकसँग टाढिन्छिन् । रकम दिन दबाब गरे फसाइदिने भन्दै उल्टै धम्की दिन्छिन् । भेट भइहाले झोलामा बोकिराखेको चेकमा रकम भर्छिन् । र, ग्राहकको हातमा थमाएर बेपत्ता हुन्छिन् । ‘चेक बाउन्स’ कसुरमा उच्च अदालत पाटनले गत १३ वैशाखमा उनीविरुद्ध २३ लाख १४ हजार दुई सय ५० रुपैयाँ जरिवानासहित पाँच दिनको कैद सजाय सुनुवाइ गरेको थियो । उनी अहिले केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेकी छिन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक  वासुदेव घिमिरे भन्छन् ‘कारागारमा जबर्जस्ती करणी कसुरमा जेल परेका महिला पनि छन् । तर, उनीहरू आफैँ घटनामा संलग्न भएका होइनन् । जेलमा रहेका उनीहरूले सहयोगीको भूमिका निभाएका छन् ।’
 
 

बैकिङ कसुरसँग सम्बन्धित माथिका चार यस्ता प्रतिनिधि घटना हुन्, जसमा मुख्य योजनाकार महिला छन् । प्रहरीको पछिल्लो तथ्यांकले यस्ता घटना बढ्दै गएको देखाएको छ । विशेष गरी, सहरी क्षेत्रमा यस्ता अपराध व्याप्त छन् । काठमाडौं प्रहरी परिसरमा मात्रै बैंकिङ कसुर अभियोगमा पाँच सय ६ महिलाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये २६ पक्राउ परेका छन् । बाँकी चार सय ८० बेपत्ता छन् । उनीहरूविरुद्ध खोजीकार्य तीव्र पारिएको प्रहरीको भनाइ छ । 

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले पुरुषको तुलनामा बैकिङ कसुरमा महिला कम संलग्न रहे पनि यो दर बढ्दो क्रममा रहेको बताए । ‘हामीकहाँ सबैभन्दा धेरै मुद्दा बैकिङ कसुरसँग सम्बन्धित छन् । जसमा पुरुषको संख्या धेरै छ । तर, यो अपराधमा संलग्न हुने महिलाको संख्या पनि कम छैन । यो दर निरन्तर बढ्दो क्रममा छ,’ उनले भने ।

प्रहरीका अनुसार यी कसुरमा संलग्न ‘इनोसेन्ट’ र ‘मास्टर माइन्ड’ दुवैखाले महिला छन् । उदाहरणका लागि कारोबार गर्ने एउटा हुन्छ, तर चेक काटिन्छ महिलाको बैंक खाताबाट । जो विशुद्ध गृहिणी हुन्छिन् । जसको कारोबारसँग कुनै संलग्नता हुँदैन । परिबन्धमा परी जेल पुगेका यस्ता धेरै घटना छन् । अर्को यस्ता अपराधमा त्यस्ता महिला संलग्न छन्, जसको पेसा नै ठगी हो । यी महिला यस्ता ‘मास्टर माइन्ड’का हुन्छन्, जसले पीडितलाई पत्तै नदिई सडकमा पुर्‍याउँछन् । पीडितले आफू ठगिएको त्यतिवेला थाहा पाउँछ, जतिवेला सबै रित्तिसकेको हुन्छ । माथि उल्लेखित तीन घटनामा संलग्न सोही प्रकृतिका महिला हुन् । जसले धेरैलाई उठीवास लगाएका छन् । ‘बैकिङ कसुरमा संलग्न महिला केही ‘इनोसेन्ट’ र केही ‘मास्टर माइन्ड’का छन् । ‘इनोसेन्ट’ महिला परिबन्धमा परेर फसेजस्तो देखिन्छ । ‘मास्टर माइन्डेड’हरू जानीबुझी यस्ता कसुरमा संलग्न भएको देखिन्छ । यस्ता प्रवृत्तिका महिला खतरनाक हुने गरेको पाइन्छ,’ एसपी मैनालीले भने ।

 सुन्धारा कारागारमा बैंकिङ कसुरका ९८ कैदीबन्दी
मुलुकको सबैभन्दा ठूलो सुन्धारास्थित महिला कारागार हो । पछिल्ला दिन कारागार बैकिङ कसुरसँग सम्बन्धित महिला कैदीबन्दीले भरिएका छन् । तथ्यांकअनुसार कारागारमा अहिले तीन सय ९४ महिला कैदीबन्दी छन् । जसमध्ये ९८ बैकिङ कसुर अर्थात् ठगीसँग सम्बन्धित महिला कैदीबन्दी छन् । यो कारागारभित्र रहेका कुल महिला कैदीबन्दीको २४.८७ प्रतिशत हो । 

कारागार कार्यालय सुन्धाराका प्रमुख  डोरेन्द्र निरौला भन्छन् ‘हामीकहाँ हाल झन्डै चार सयको हाराहारीमा महिला कैदीबन्दी छन् । जसमा सबैभन्दा ठूलो हिस्सा ठगी कसुरसँग सम्बन्धित अभियुक्तको छ । यो भनेको अधिकांश बैंंकिङ कसुर हो ।’

कारागार कार्यालय सुन्धाराका प्रमुख डोरेन्द्र निरौला महिला बन्दीगृह पछिल्ला दिन बैकिङ कसुरसँग सम्बन्धित महिलाले भरिएको स्वीकार गरे । ‘हामीकहाँ हाल झन्डै चार सयको हाराहारीमा महिला कैदीबन्दी छन् । जसमा सबैभन्दा ठूलो हिस्सा ठगी कसुरसँग सम्बन्धित अभियुक्तको छ । यो भनेको अधिकांश बंैकिङ कसुर हो,’ उनले भने । यसअघि कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित महिला कैदीबन्दीको संख्या कारागारभित्र धेरै हुन्थे । यो संख्या अहिले ९६ मात्रै छ । मानव बेचबिखन कसुरमा संलग्न ७१ महिला कैदीबन्दी कारगारमा छन् । त्यसबाहेक लागुऔषधमा ५४, अपहरणमा ८, चोरीमा ८, डाँकामा ५, विदेशी मुद्रामा ५, वनमा ४ र अन्य कसुरमा ४५ महिला कैदीबन्दी कारागारमा छन् । 

 समग्रमा कर्तव्य ज्यानमा  महिला कैदीबन्दी धेरै 
कारागार व्यवस्थापन विभागका अनुसार देशभरका कारागारमा हाल एक हजार चार सय ३३ महिला कैदीबन्दी छन् । जसमध्ये सबैभन्दा ठूलो हिस्सा कर्तव्य ज्यान कसुरसँग सम्बन्धित महिला कैदीबन्दीको छ । तथ्यांकअनुसार देशभरका कारागारमा हाल कर्तव्य ज्यान मुद्दाका चार सय ५३ महिला कैदीबन्दी छन् । यो कुल महिला कैदीबन्दीको ३१.६१ प्रतिशत हो । त्यसपछि मानव बेचबिखन कसुरसँग सम्बन्धित महिला कैदीबन्दी धेरै छन् । तथ्यांकअनुसार यसको संख्या दुई सय एक छ । यो कुल महिला कैदीबन्दीको १४.०२ प्रतिशत हो । 

लागुऔषध कारोबारमा संलग्न महिला कैदीबन्दीको संख्या एक सय ७० छ । यो कुल महिला कैदीबन्दीको ११.८६ प्रतिशत हो । ठगी मुद्दासँग सम्बन्धित महिला कैदीबन्दी एक सय १४ छ । यो कुल संख्याको ७.९५ प्रतिशत हो । त्यस्तै, ज्यान मार्ने उद्योगमा ९६, बहुविवाहमा ८०, अपहरणमा ३३ र अन्यमा दुई सय ८६ गरी देशभरको कारागारमा एक हजार चार सय ३३ महिला कैदीबन्दी छन् । 

 करणी उद्योग, हातहतियार र सैनिक कसुरमा महिला शून्य 
तथ्यांकअनुसार करणी उद्योगमा देशभर पुरुष कैदीबन्दीको संख्या तीन सय ३६ छ । तर, यो कसुरमा महिलाको संख्या शून्य छ । त्यस्तै, हातहतियार तथा खरखजाना कसुरमा पुरुष कैदीबन्दी एक सय ६१ छन् । महिला संख्या यसमा पनि शून्य छ । सैनिक कसुरमा महिला कैदीबन्दीको संख्या शून्य छ । यो अभियोगमा देशभर चारजना पुरुष कैदीबन्दी छन् ।

जबर्जस्ती करणीमा समेत महिला 
देशभरका कारागारमा जबर्जस्ती करणी कसुरसँग सम्बन्धित महिलासमेत कैदजीवन बिताइरहेका छन् । यस्ता महिलाको संख्या आठ रहेको तथ्यांकले देखाउँछ । जसमध्ये मोरङ र सिन्धुलीमा दुई–दुई, झापा, पर्सा, कास्की र दाङको तुलसीपुर कारागारमा एक–एक महिला कैदीबन्दी छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले जबर्जस्ती करणी कसुरमा कारागारमा रहेका महिला कैदीबन्दी आफैँ घटनामा संलग्न भएको नभई घटनाका मतियार भएको बताए । ‘कारागारमा जबर्जस्ती करणी कसुरमा जेल परेका महिला पनि छन् । तर, उनीहरू आफैँ घटनामा संलग्न भएका होइनन् । जेलमा रहेका उनीहरूले सहयोगीको भूमिका निभाएका छन्,’ उनले भने । 

 सवारी ज्यान र भ्रष्टाचारमा  महिला कैदीबन्दी कम 
तुलनात्मक रूपमा सवारी ज्यान मुद्दामा महिला कैदीबन्दीको संख्या सबैभन्दा कम छ । यो कसुरमा देशभरका कारागारमा पुरुष कैदीबन्दी नौ सय ४६ रहेको छ । यो कसुरमा महिला जम्मा एक मात्रै छन् । भ्रष्टाचार कसुरमा पनि महिला कैदीबन्दी कम छन् । देशभरका कारागारमा भ्रष्टाचार कसुरमा पुरुष कैदीबन्दी २२ र महिलाको संख्या तीन छ । अन्य अपराधको तुलनामा सार्वजनिक कसुरमा पनि महिला कैदीबन्दी कम छन् ।

मुलुकभर सार्वजनिक अपराधका पुरुष कैदीबन्दी एक पाँच छन् । तर, महिलाको संख्या दुई मात्रै छ । विभागका महानिर्देशक घिमिरेले महिला सवारीचालक र महिला कर्मचारी पुरुषको तुलनामा कम रहेको हुँदा सवारी ज्यान र भ्रष्टाचार कसुरमा महिला कैदीबन्दी कम हुन पुगेको बताए । ‘सवारीचालक महिला कम छन् । अझै पनि सवारी चलाउनु महिलाका लागि सोख हो, तर पुरुषका लागि पेसा हो । त्यसैले यो कसुरमा उनीहरूको संलग्नता कम भएको हो । भ्रष्टाचार कसुुरमा पर्न अधिकांश पुरुष छन् । नेपालको प्रशासनमा महिलाको तुलनामा पुरुष कर्मचारी धेरै छन् । त्यसैले कसुर गर्ने पुरुष धेरै देखिए,’ उनले भने ।