१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ भदौ ११ शनिबार ०५:५६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदन : सत्तागठबन्धनको चुनौती चिर्न ६ बुँदे योजना, एक सदस्य दुई भोट विस्तार अभियान 

Read Time : > 3 मिनेट
२०७९ भदौ ११ शनिबार ०५:५६:००

एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनको चुनौती चिर्न ६ बुँदे योजना र एक पार्टी सदस्य : दुई भोटको चुनावी अभियान प्रस्ताव गरेका छन् । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले बहुमतको लक्ष्य पूरा गर्न ती योजनासहित सबै पार्टी सदस्यलाई मत वृद्धिका लागि परिचालन गर्ने प्रस्ताव गरेका हुन् ।

बहुमतका लागि १६ प्रतिशत अपुग मत वृद्धि गर्न योजनासहित अगाडि बढ्ने, मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नाम हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण गर्ने ओलीको प्रतिवेदनमा छ । चुनावमा आफ्नो शक्तिमाथिको विश्वास बढाएर गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने, नयाँ पुस्तालाई बढी ध्यान दिने, एमाले सरकारले गरेका काम र पार्टीको नीति तथा एजेन्डाको सशक्त प्रचार गर्ने योजना ओलीको प्रतिवेदनमा छ ।

स्थानीय तहमा प्राप्त ३४ प्रतिशत मतलाई ५० प्रतिशत पुर्‍याउने लक्ष्य पूरा गर्न एक सदस्यबराबर दुई भोट विस्तारलाई देशव्यापी अभियानकै रूपमा सञ्चालन गर्ने एमालेको योजना छ । ‘एउटा पार्टी सदस्यले दुई भोट बढाउँदा कम्तीमा १६ लाख भोट बढ्छ । त्यही योजना र अभियानका साथ अगाडि बढ्छौँ । एक पार्टी सदस्य एक घर अभियान सुरु गरेका छौँ,’ उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘यसरी अगाडि बढ्दा हामीले अबको चुनावमा एक्लैले बहुमत ल्याउँछौँ ।’

त्यस्तै, राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने, शक्तिसन्तुलनमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्ने र अगाडि रहेका ठाउँमा ठोस कार्यक्रम नबाउनेलगायत योजना ओलीको प्रतिवेदनमा छन् । 

उपमहासचिव गुरुङले स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर घात–अन्तर्घातको शृंखला अन्त्य गर्दै पार्टीले एकताका साथ तलसम्म अभियान सञ्चालन गर्दा बहुमत ल्याउने दाबी पनि गरे । दशौँ महाधिवेशनपछि थपिएर पार्टी सदस्य संख्या करिब ११ लाख पुगिसकेको र व्यवस्थित रूपले अभियान सञ्चालन हुँदा थप दुई लाखसहित १८ लाख भोट बढ्ने सम्भावना रहेको उनको दाबी छ । अघिल्लो मंसिरमा सम्पन्न दशौँ महाधिवेशनसम्म एमालेका आठ लाख ५५ हजार संगठित सदस्य थिए । 

बहुमतको लक्ष्य पूरा गर्न स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर कमजोरी र असमझदारी हटाउने, पार्टीलाई एकतासहित चुनावी अभियानमा परिचालन गर्ने, निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने, प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने, निर्वाचन समीक्षाको निष्कर्षलाई सूची बनाएर विगतको कमजोरीलाई नदोहोर्‍याउने सुनिश्चित गर्ने योजना पनि प्रतिवेदनमा छ । स्थानीय निर्वाचनको परिणाामलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन क्षेत्रको अलग–अलग शक्तिसन्तुलनको अद्यावधिक समीक्षा गर्ने, पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने, यसका लागि स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना, आत्मालोचना र अन्य विधिमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने प्रस्ताव ओलीले गरेका छन् ।

मत रक्षाका लागि थप पाँच योजना अगाडि सार्दै उनले मद बदर हुन नदिने, आफ्ना मानिसलाई मतदानबाट वञ्चित हुने अवस्था आउन नदिने, युवा परिचालन र स्वयंसेवक टिम परिचालनको कमजोरीबाट सिकेर युवा, विद्यार्थी, ट्रेड युनियन, महिला, भूपू सैनिक र प्रहरी संगठनका सदस्यलाई परिचालन गर्ने, निर्वाचन आयोगसँग प्रभावकारी संयोजन गर्ने, सुरक्षा निकायलाई व्यावसायिक रूपमा काम गर्न प्रोत्साहित गर्नेलगायत प्रस्ताव राखेका छन् ।

पार्टीभित्रका कमजोरी अन्त्यका लागि उनले स्थानीय निर्वाचनका क्रममा देखिएको असमझदारी, असहयोग र अन्तर्घातलाई छुट्याएर असमझदारीलाई छलफल, असहयोगलाई आत्मालोचना र अन्तर्घातलाई कारबाहीबाट सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । कारबाही गर्दा भने आपसी अन्तर्विरोधका कारण कारबाहीको दायरा अनावश्यक रूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउनुपर्नेमा जोड दिँदै ओलीले प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा मात्र विधि पुर्‍याएर विनामोलाहिजा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् । 

शनिबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकका लागि सात एजेन्डा प्रस्तावित छन् । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि नौवटा समूह बनाइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार सात प्रदेशको सातवटा र त्यसभित्र उपत्यका, विशेष र सम्पर्क समन्वय कमिटीलाई बागमती समूहमा राखिएको छ । त्यस्तै, जनसंगठन र प्रवासको जिम्मेवारीमा रहेकाहरूको आठौँ र केन्द्रीय विभागको जिम्मेवारीमा रहेकाहरूको नवौँ समूह बनाइएको छ ।

बैठकमा केन्द्रीय आयोग र सल्लाहकार परिषद्ले लिखित प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यस्तै, स्थानीय निर्वाचनमा देखिएको समस्या अध्ययन र छानबिनका लागि गठित कार्यदलका तर्फबाट उपाध्यक्ष विष्णु पौडेलले छानबिनबारे बैठकलाई जानकारी गराएका छन् । त्यस्तै, बैठकमा उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड पनि छलफलका लागि प्रस्तुत भएको छ । 

तालमेल खुला, सत्तागठबन्धन डराएको दाबी
एजेन्डासँग सहमत हुने दलसँग चुनावी अभियानकै सिलसिलामा सहकार्यको ढोका खुला राख्ने योजना ओलीले प्रस्ताव गरेका छन् । तालमेलबारे प्रस्ट नखुलाइए पनि ओलीले प्रतिवेदनमा गठबन्धनमा आबद्ध दलहरूको चर्को आलोचना गरेर सत्ताबाहिर रहेका दलसँगै सहकार्यको जनाउ दिएका छन् । 

अर्कोतर्फ ओलीले स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको उपलब्धिबाट डराएर अहिलेको सत्तागठबन्धनलाई विस्तार गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । ‘तत्कालका लागि देखिएको प्रतिकूल शक्तिसन्तुलन हाम्राविरुद्धको घेराबन्दी र बृहत् षड्यन्त्र हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य भने छैन । स्थानीय निर्वाचनमै पनि हामीले देख्याँै– व्यापक घेराबन्दीलाई चिर्दै नयाँ ढंगले अगाडि बढेको हाम्रो पार्टीले सत्ताको चरम दुरुपयोग र गठबन्धनका बाबजुद जनताको सर्वाधिक मत र विश्वास हासिल गर्न सफलय भयो,’ ओलीले भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लड्न डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोसिस गरिरहेका छन्, यसले उनीहरूको शक्ति, सामथ्र्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धर्मराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ ।’

गठबन्धन अस्थिरताको माध्यम : ओली
सत्तागठबन्धनलाई अवसरवादी गठबन्धनका रूपमा चित्रित गर्दै ओलीले चुनावपछि भागबन्डा नमिल्दा अस्थिरताको माध्यम बन्न सक्ने र फोहोरी राजनीतिकै पुनरावृत्ति हुन सक्ने विश्लेषण गरेका छन् । ‘यो गठबन्धनले पाँच वर्ष राजनीतिक स्थायित्व दिन्छ भन्ने कुनै ग्यारेन्टी छ ? छैन,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘यथार्थमा यो कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्नासाथ भोलि कुनै पनि वेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी विकृत अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ । गठबन्धन खासमा अस्थिरताको माध्यम बनेको छ ।’

संसदीय व्यवस्था नस्विकार्ने र संसदीय व्यवस्थालाई लोकतन्त्रको पर्याय ठान्ने दलहरूबीचको दुई ध्रुवको गठबन्धनका पछाडि सत्ता स्वार्थबाहेक केही पनि नभएको भन्दै ओलीले माओवादी र एकीकृत समाजवादीलाई ‘कम्युनिस्ट आन्दोलनको वृक्ष ढाल्न कांग्रेसबाट बिँडका रूपमा प्रयोग’ भइरहेको आरोप लगाएका छन् । दुवै वाम भनिने पार्टीहरू दक्षिणपन्थी र बाह्य शक्तिको औजारका रूपमा प्रयोग भइरहेको कडा टिप्पणी गरेका छन् । ‘आफूलाई कम्युनिस्ट भनेर दावा गर्ने कतिपय समूहहरू कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरू र बाह्य शक्तिकेन्द्रहरूको औजारमा स्खलित हुनु यस कालखण्डको विडम्बना हो,’ ओलीले भनेका छन्, ‘दक्षिणपन्थी शक्तिहरू स्पष्ट छन्– पहिले उनीहरूको काँधमा बन्दुक राखेर नेकपा एमालेलाई कमजोर पार्ने, आफू सुदृढ बन्ने र एउटा बिन्दुमा पुगेपछि सके एकल नभए लोकतान्त्रिक गठबन्धनका नाममा गैरकम्युनिस्ट सरकार बनाएर आन्दोलनलाई समाप्त पार्ने । तर, नितान्त पदको कुण्ठा, सत्ता स्वार्थ र अवसरवादी चिन्तनका कारण कतिपय समूहहरू यसमा प्रयोग हुनु दूर्भाग्यपूर्ण छ ।’