१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
भोजराज भण्डारी काठमाडाैं
Invalid date format o६:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा गएका नेपालीलाई दसैँअघि नै आइपिओमा १० प्रतिशत आरक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२६:oo

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका नेपालीलाई दसैँअघि नै प्राथमिक सेयरमा १० प्रतिशत छुट्याइने भएको छ । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर गएका श्रमिकले प्राथमिक सेयरका लागि छुट्याएको १० प्रतिशत सेयर पाउने सुनिश्चित भएको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषद्बाट विनियमावली पास भएको मौखिक जानकारी आएको र लिखित पत्र आउन बाँकी रहेको बताए । उनले भने, ‘विनियमावली पास भएको मौखिक जानकारी पाएको छु, अब केही दिनमै पत्र आएपछि कार्यविधि बनाएर १५ दिनभित्रैमा सम्पूर्ण पक्रिया टुंग्याई असोजको पहिलो साताभित्रै श्रमिकले आवेदन दिन सक्नेछन् ।’ 

सरकारले विभिन्न माध्यमबाट रेमिट्यान्स भित्र्याउने योजनासहित श्रमिकलाई प्राथमिक सेयर (आइपिओ)मा आरक्षण दिन सकिने गरी चालू आर्थिक वर्षको बजेटमार्फत नै १० प्रतिशत सेयर छुट्याउने घोषणा गरेको थियो ।सोही घोषणालाई कार्यान्वयन गर्दै बोर्डले विनियमावली बनाएर अर्थ मन्त्रालयमा असारको अन्तिम सातामै पेस गरेको थियो । अर्थ मन्त्रालयबाट गएको विनियमावली प्रस्तावलाई ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पास गरेको हो ।

बोर्डका अनुसार सर्वसाधारणले पाउँदै आएको ३० प्रतिशत सेयर आरक्षणभित्रबाटै १० प्रतिशत सेयर श्रम स्वीकृत लिएर गएका नेपालीलाई छुट्याइएको हो । श्रमिकका लागि सेयर आरक्षण छुट्याएसँगै सर्वसाधारणले २० प्रतिशत मात्र  प्राथामिक सेयरमा आवेदन दिन पाउनेछन् । अब  आइपिओ जारी गर्ने कम्पनीले नै श्रमिकका लागि आरक्षण छुट्याउने गरी निर्देशन दिने बोर्डको तयारी छ । जसअनुसार असोजबाट आइपिओ जारी गर्ने कम्पनीले सर्वसाधारणलाई २० प्रतिशत मात्र छुट्याउनेछन् ।

बोर्डका अनुसार श्रम स्वीकृत लिएर विदेशबाटै डिम्याट खाता खोलेर नेपाल आएपछि एकपटक बैंक तथा वित्तीय संस्थामा पुग्नुपर्ने गरी कार्यविधि बनाइनेछ । आइपिओमार्फत सेयर परेको सेयर बिक्री गर्न भने व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ । हमालले भने, ‘तत्काललाई नेपालमै आएर ब्रोकर खाता खोलेपछि मात्र बेच्न मिल्छ, पछि दोस्रो बजारमा पनि ल्याउन सकियो 
भने स्वतः भइहाल्ने कुरा हो, अहिलेलाई स्वदेशमै आउनुपर्छ ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ आरक्षणमा १० प्रतिशत सेयर पाउने विषयलाई गैरआवासीय नेपाली संघले सकारात्मक रूपमा लिएको छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमै समावेश गर्नुपर्ने माग रहे पनि सुरुवातमा प्राथमिक सेयरमा पनि सुनिश्चित हुनु सकारात्मक भएको संघका महासचिव गौरीराज जोशीले बताए । जोशीले भने, ‘सरकारसँग हाम्रो माग दोस्रो बजारमा आबद्ध रहेर कारोबार गर्न पाउनुपर्छ भन्ने हो, तर सुरुवातमा आइपिओमै आरक्षण छुट्याउँदा केही राहत श्रमिक र सरकारलाई फाइदा मिल्नेछ, यसले रेमिट्यान्स भित्र्याउन केही मद्दत पुग्छ ।’

 वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षभित्रमा करिब ६ लाख १० हजारले श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीको संख्या कम्तीमा ३० लाख रहेको विभागको तथ्यांकले देखाउँछ । श्रमिकले सेयर आरक्षण भर्न सुरुमा कुनै पनि नेपालको बैंक तथा वित्तीय संस्थाको वेबसाइडमा गएर वा बैंकको सम्पर्कमा रही भिडियो कलमार्फत सम्पूर्ण विवरण टिपाउनुपर्नेछ । डिम्याट खाता र सिआरएन नम्बर लिनुपर्ने हुन्छ, आफ्नो व्यक्तिगत विवरणलाई प्रस्टसँगै देखाएर मेरो सेयरको खाता लिन सक्नेछन् । भिडियो कलमा देखाइएको दस्तावेज सही भए–नभएको प्रविधि (आर्टिफिसियल इन्टलिजेन्स–आइए)ले पत्ता लगाउँछ ।