१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
न्यायका लागि २० दिनदेखि माइतीघरमा धर्नामा छन् नवलपरासीका पीडित
टेकराज थामी काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिटरब्याजीहरूविरुद्ध १७६८ उजुरी

मधेस प्रदेशबाट सबैभन्दा धेरै नौ सय ८२ पीडितले दिए उजुरी, बागमतीबाट तीन सय ५६, लुम्बिनीबाट दुई सय १६, प्रदेश १ बाट ९२, गण्डकीबाट ५५, सुदूरपश्चिमबाट ४५ र कर्णाली प्रदेशबाट २२ उजुरी संकलन

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:३२:oo

मिटरब्याजमा ऋण लगाएर उठीबास लगाउने साहुकारहरूविरुद्ध आइतबार साँझसम्म पीडितका १७ सय ६८ उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले आइतबारसम्म उजुरी दिन आह्वान गरेको थियो । कार्यदलका संयोजक तथा गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले साहुकारहरूविरुद्ध देशभरबाट  पीडितका उजुरी संकलन गरिएको बताए । ‘साहुकारबाट पीडित हुनेहरूको आवाज देशभरबाट आउन थालेपछि कार्यदल गठन गरिएको हो । पीडितलाई उजुरी दिन आह्वान गरिएको ५ भदौसम्मको अवधिमा पीडितका १७ सय ६८ जाहेरी परेको छ । ती जाहेरी अध्ययनको काम सुरु भएको छ,’ उनले भने । पीडितहरूले नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । 

सबैभन्दा धेरै मधेस प्रदेशबाट नौ सय ८२ पीडितले जाहेरी दिएका छन् । महोत्तरी र बारामा अझै जाहेरी संकलन हुन बाँकी छ । दोस्रोमा बागमतीबाट धेरै पीडितको जाहेरी परेको छ । साहुकारविरुद्ध यो प्रदेशमा तीन सय ५६ पीडितले जाहेरी दिएका छन् । अझै दोलखा, नुवाकोट र रामेछापबाट जाहेरी संकलन हुन नसकेको कार्यदलले जनाएको छ । लुम्बिनीमा दुई सय १६ पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत जाहेरी दिएका छन् । अर्घाखाँची र पूर्वी रुकुममा जाहेरी संकलन हुन बाँकी छ । गण्डकीमा ५५ र कर्णालीमा २२ पीडितले साहुकारविरुद्ध जाहेरी दिएका छन् । डोल्पाबाट कसैले पनि जाहेरी दिएका छैनन् । सुदूरपश्चिममा ४५ पीडितले जाहेरी दिएको कार्यदलले जनाएको छ । यो प्रदेशअन्तर्गतका अछाम, बझाङ र डडेल्धुराबाट भने जाहेरी परेका छैनन् । 

‘आइतबार साँझसम्म जाहेरी दिने म्याद राखेका थियौँ । तथ्यांक विश्लेषण गर्दा मधेस, बागमती र लुम्बिनीमा मिटरब्याजबाट पीडितहरू धेरै रहेको देखियो । जाहेरी अझै आउलान् । संकलित जाहेरीलाई एक–एक गरी केलाउँछौँ र के गर्ने निर्णयमा पुग्छौँ,’ सरकारी कार्यदलका संयोजक भुसालले भने ।सरकारले गत २७ साउनमा मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा गृह मन्त्रालयका दुईसहित नेपाल प्रहरीका तीन र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि गरी ६ उच्च अधिकारी छन् । गत २९ साउनमा कार्यदलले विज्ञप्तिमार्फत ५ भदौसम्म नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेको थियो

जाहेरी दिने म्याद थप्ने विषयमा आज निर्णय
पीडितहरूले जाहेरी दिने म्याद थप गर्ने विषयमा पनि छलफल भइरहेको छ । सोमबार बस्ने कार्यदलको बैठकले यसबारे निर्णय लिने कार्यदलका सदस्य तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले बताए । ‘मुलुकभरबाट जाहेरी संकलन भएका छन् । अझै पनि धेरै जाहेरी आउन बाँकी होलान् । सोमबार कार्यदलको बैठक बस्दै छ । जाहेरी दिन बाँकी हुनेहरूका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने विषय बैठकले नै टुंगो लगाउनेछ,’ उनले भने ।

मिटरब्याज अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदलका संयोजक भीष्मकुमार भुसाल भन्छन्, ‘साहुकारबाट पीडित हुनेहरूको आवाज देशभरबाट आउन थालेपछि कार्यदल गठन गरिएको हो । पीडितलाई उजुरी दिन आह्वान गरिएको ५ भदौसम्मको अवधिमा १७ सयभन्दा बढी पीडितको जाहेरी परेको छ । ती जाहेरी अध्ययनको काम सुरु भएको छ ।’​​​​​​

जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा परेका जाहेरीको सन्दर्भमा अनुसन्धान गर्न, मिटरब्याजीलाई पक्राउ गर्ने तथा मुद्दा अघि बढाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । ‘मिटरब्याजका कारण कतिपय निमुखा किसानको उठीबास भएको छ । उच्चस्तरीय छानबिन समिति बनेको छ । समितिबाट पक्कै पनि नयाँ विषय आउलान् । नेपाल प्रहरी पीडितलाई न्याय दिने सवालमा सधैँ तत्पर छ । दोषीविरुद्ध कुनै हालतमा कारबाही हुन्छ,’ उनले भने ।

जाहेरी आह्वान भएलगत्तै नवलपरासीका खुँखार साहुकार जगदीश कानु बानियाँको सबै परिवार भारततर्फ फरार भएका छन् । उनी र उनका भाइहरू सुजित, सुनील र सुरेशको घरमा ताला लागेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष रामसुरत तेली गुप्ताले बताए । ‘साहुकारविरुद्ध जाहेरी दिन सरकारले आह्वान गरेपछि जगदीश र उनका भाइहरू भागेर भारत गए । उनीहरूसँग भारतको रासनकार्ड छ । उनीहरूको धेरै सम्पत्ति उतै छ । हाम्रो रकम डुब्ने हो कि भन्ने चिन्ता लागेको छ,’ उनले भने ।

साहुकार जगदीशसहित चारै भाइ फरार
नवलपरासीका सर्वसाधारणलाई मिटरब्याजमा ऋण लगाएर सबैभन्दा धेरै प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश कानु बानियाँले दुःख दिएका छन् । उनका तीन भाइ सुनील, सुजित र सुरेशले पनि मिटरब्याजकै धन्दा चलाइरहेका थिए । सरकारले पीडितहरूलाई उजुरी दिन आह्वान गरेपछि चारै भाइ सपरिवार भारत भागिसकेको स्थानीयले बताएका छन् । उनीहरूले बैंकमा रहेको सबै रकम पनि झिकेर लगिसकेको पीडितहरूको भनाइ छ । उनीहरूको घरमा अहिले ताला लगाइएको छ ।

पीडितहरूको जाहेरीपछि महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ
फरार रहँदै आएका महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । पीडितहरूको उजुरीपछि उनी फरार थिए । प्रहरीले उनलाई आफ्नै घरबाट शनिबार राति पक्राउ गरेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । साहमाथि चर्को ब्याजमा ऋण लगानी तथा ठगी, जालसाजी गरी दर्जनौँ गरिब तथा निमुखाको सम्पत्ति हडपेको आरोप छ । महोत्तरी, धनुषा, सर्लाहीलगायत जिल्लाका गरिब तथा विपन्नलाई उनले गैरकानुनी रूपमा चर्को ब्याजदरमा ठगी गरेको पीडितहरूको भनाइ छ ।

 यस्तो थियो साहुकार  अनिरुद्धको ठगीधन्दा 
पीडित १  : साढे चार लाख ऋणको साढे १५ लाख तिर्दा पनि धितो राखेको जग्गा भएन फिर्ता
भंगहा नगरपालिका– ५ का ५७ वर्षीय वेचना धानुकले ०७१ तिर मिटरब्याजी अनिरुद्ध साहसँग चार लाख ५० हजार ऋण लिए । उनले २५ मंसिर ०७३ मा तीन लाख ५० हजार, २९ पुस ०७३ मा दुई लाख, २९ मंसिर ०७५ मा एक लाख, ८ माघ ०७५ मा चार लाख, २४ माघ ०७५ मा एक लाख ५८ हजार र ७ साउन ०७७ मा तीन लाख ५० हजार गरी कुल १५ लाख ५८ हजार रुपैयाँ रकम फिर्ता गरिसके । उनले लिएको ऋणको तमसुक पनि च्यातियो, तर तमसुकसँगै उनले रजिस्ट्री गरिदिएको तीन कट्ठा डेढ धुर जग्गा भने अझै फिर्ता भएन ।

पीडित २ : ऋण तिरे पनि तमसुक फिर्ता नगरी अदालतमा मुद्दा
भंगहा नगरपालिका– ३ का ५५ वर्षीय रामप्रीत सदाले करिब पाँच वर्षअघि मिटरब्याजी अनुरुद्धसँगै ५० हजार ऋण लिएको सम्झन्छन् । सोही ऋण लिँदा अनुरुद्धले दुई लाख रुपैयाँको कागज बनाएका थिए । दुई वर्षअघि सदाले एक लाख १९ हजार रकम फिर्ता पनि गरे, तर अनुरुद्धले उनको तमसुक फिर्ता गरेनन् । आज दिन्छु, भोलि दिन्छु भन्दाभन्दै समय खेप्दै गए र अन्ततः रामप्रीतविरुद्ध अदालतमा सोही कागज देखाउँदै मुद्दा हाले । गत वर्षको १७ भदौमा अदालतले अनुरुद्धको पक्षमा फैसला गर्दै सदालाई अदालतमा उपस्थित हुन पत्रसमेत काटेको छ । सदा भने तिरिसकेको ऋणको भारी टाउकोमा बोक्दै पुनः अदालतको आदेशअनुसार पैसा तिर्ने वा जेल जाने भन्ने चिन्तामा छन् । 

पीडित ३ : उधारो लगेको चारवटा सारीको ३५ हजार तिरिसक्दा पनि मुद्दा खेप्न विवश
भंगहा– ५ कै रामवती देवीले साहुसँग पैसा नै नलिई ऋणको भारी बोक्नुपरेको छ । उनले घरमा आएको पाहुनालाई बिदावारी गर्न अनुरुद्धका दाजु लक्ष्मण साहको तत्कालीन खोलिएको (हाल बन्द) कपडा पसलबाट चार थान सारी उधारोमा लिएकी थिइन् । ०७० मा एक हजार चार सयमा उधारो लिएको सारीको ०७२ मा उनले ३५ हजार तिरिसकिन् । तर, अनुरुद्धकै दाजु अर्का मिटरब्याजी लक्ष्मणले रामवतीका श्रीमान्सँग सोही सारीबापत तीन लाखभन्दा बढीको कागज बनाउन लगाए । अहिले सोही कागजका आधारमा रामवतीविरुद्ध अदालतमा मुद्दा हालिएको छ । 

पीडित ४ : ऋण लिएको दिनको भन्दा तीन वर्षअघिको मिति राखेर ठगी
०७६ मा लिएको एक लाख ५० हजारको चार लाख तिरिसकेर पनि हाल नौ कट्ठा १० धुर जग्गा अदालतले रोक्का राखेको श्यामपरी कुमारीको बिजोग छ । भंगहा– २ निवासी रामलोचनबाट लिएको कर्जाको कागज साहुले मिटरब्याजी अनुरुद्धलाई बेचेपछि श्यामपरीको अहिले जग्गासमेत रोक्का छ । एक लाख ५० हजार ऋण लिएकोमा साहुले ऋण लिएको मितिभन्दा तीन वर्षअगाडिको मिति राखी १२ लाख ऋण लिएको भन्दै कागज बनाए र सोही कागज अदालतमा पेस गरेर श्यामपरीलाई सर्वस्व लिलामीको अवस्थामा पुर्‍याए । पक्राउ पर्ने डरले अदालतमा सजायबापत जग्गा नै तिर्ने भनेर बिगो फाँटमा तारिख लिएर बसेकी छिन् । 

ad
ad