Skip This
भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई साढे दुई लाखसम्म छुट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Saturday, 27 July, 2024
नवीन अर्याल काठमाडाैं
२o७९ भदौ ३ शुक्रबार o६:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई साढे दुई लाखसम्म छुट

न्यारोबडीले भैरहवामा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सेक्युरिटी र ग्राउन्ड ह्यान्डलिङ शुल्कबापत प्रतिउडान औसतमा करिब दुई हजार अमेरिकी डलर छुट पाउने, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन निगमलाई क्यानको निर्देशन

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार o६:२१:oo

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले छुटैछुट पाउने भएका छन् । अब भैरहवामा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा पनि ५० प्रतिशत छुट पाउने भएका हुन् । सरकारले सुरुवातदेखि नै जिबिआइएमा उडान गर्ने वायुसेवालाई एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, कम्युनिकेसन र नेभिगेसन शुल्क शतप्रतिशत छुट गरिसकेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन सेवाप्रदायक नेपाल वायुसेवा निगमलाई बिहीबार पत्राचार गरेको छ । 

तालुकदार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनअनुसार क्यानले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा छुट दिन लागेको हो । भैरहवामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न छुटको अफर ल्याएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । भैरहवामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै सरह ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क लाग्थ्यो ।  भैरहवामा न्यारोबडी जहाजको प्रतिउडान ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क औसतमा २७ सयदेखि २८ सय अमेरिकी डलर (करिब तीन लाख रुपैयाँ) तिर्नुपथ्र्यो । अब प्रतिउडान ग्राउन्ड ह्यान्डलिङ शुल्कमा करिब एक लाख ५० हजार रुपैयाँ छुट पाउने भएको छ ।

 भैरहवामा उडान गर्ने वायुसेवाले कति छुट पाउँछन् ?
  क्यानले गौतम बुद्ध विमानस्थलमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सेक्युरिटीलगायत सेवा शुल्कमा शतप्रतिशत छुट दिएको छ । एउटा न्यारोबडी जहाजले प्रतिउडान सो छुटबापत करिब एक एक लाख रुपैयाँ बचत गरिरहेका छन् । भैरहवा उडान गर्ने वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्दा कुल दुई हजार डलर (दुई लाख ५४ हजार रुपैयाँ) छुट पाउने देखिएको छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण गर्नुभन्दा भैरहवाबाट उडान गर्दा यात्रुलाई टिकटदर सस्तो पर्नेछ ।

पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, ०७९ को बुँदा ७ मा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सेक्युरिटीलगायत शुल्कमा दिइएको शतप्रतिशत छुटलाई निरन्तरता दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिन क्यानलाई जिम्मेवारी दिएको थियो । सोहीअनुसार क्यानले  बिहीबारदेखि नै लागू हुने गरी ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालय र क्यानले भैरहवामा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ऐतिहासिक निर्णय गरेको जजिरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले बताए । २ जेठदेखि सञ्चालनमा आएको देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कुवेतको जजिरा एयरवेजले मात्रै सातामा तीन दिन उडान गर्दै आइरहेको छ । ‘गौतम बुद्ध विमानस्थलमा यति छुट सुविधा नदिइएको भए उडान नै नहुन सक्थ्यो,’ उनले भने, ‘कुनै पनि नयाँ विमानस्थलमा उडान सुरु गर्न वायुसेवा कम्पनीले जोखिम मोल्नुपर्छ, त्यसैले छुट सुविधा दिएरै भए पनि अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्नुपर्ने हुन्छ ।’ 

गौतम बुद्धमा सुरुवातदेखि नै नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको जजिराले १५ सेप्टेम्बरदेखि दैनिक एक उडान गर्न लागेको छ । यस्तै, सेप्टेम्बरदेखि हंगेरीको ‘विज एयर’ले पनि नियमित उडान गर्ने तयारी गरिरहेको छ । नियमित उडानको प्रस्ताव पेस गरिसकेको विजले अझै उडान सेड्युल भने पाइसकेको छैन । विज एयरले एसिया क्षेत्रमा दुबईलाई बेस बनाएर उडान गर्दै आइरहेको छ । विज एयरले नेपाल उडान गर्नका लागि सोसाइटी इन्टरनेसनल ट्राभललाई नै जिएसए नियुक्त गरिसकेको छ । 

एयर अरेबिया र फ्लाई दुबईले पनि भैरहवा उडान गर्न इच्छा देखाएको विमानस्थल कार्यालयले जनाएको छ । एयर अरेबियाले एक दिन अबुधाबी र एक दिन सारजाँहबाट सातामा सातै दिन उडान गर्ने तयारी थालेको हो । सन् २०२२ भित्र भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्तीमा चार पुग्ने अपेक्षा गरिएको छ ।