मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७९ भदौ २ बिहीबार २२:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

शून्य लागतमा मलेसियामा रोजगारी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ भदौ २ बिहीबार २२:२३:००

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । 
मलेसियन कम्पनी माइटेक एन्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौंस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संसाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ । 

दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले जानकारी दिए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने उनको भनाइ छ । 

श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौंसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बिमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ । 

सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबिए) मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताए । 

नेपाली श्रमिकले न्यूनतम एक हजार ५०० मलेसियन रिंगेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उनले जानकारी दिए । नेपाली श्रमिकले मलेसियाका श्रम कानुनअनुसारका सुविधा प्राप्त गर्नेछन् ।     

ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यताअनुसार नै श्रमिक पठाइने बताए ।