मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ १ बुधबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘एनिहाउ’, एमाले हराउ रणनीतिमा गठबन्धन : रायमाझी

Read Time : < 1 मिनेट
२०७९ भदौ १ बुधबार १५:२५:००

एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले सत्तागठबन्धनको मुख्य उद्देश्य एमाले हराउनु मात्र रहेको आरोप लगाएका छन् । बुधबार पार्टी प्रशिक्षणका लागि रोल्पाको लिबाङ पुगेका रायमाझीले सत्तागठबन्धनको नेतृत्वमा सरकार बनेदेखि राष्ट्रियतामाथिको खतरा झन् बढेको र विकास पनि धाराशायी बन्दै गएको दाबी गरे । 

‘अहिलेको सत्तागठबन्धन ‘एनिहाउ’ एमाले हराउको उद्देश्यसहित बनेको अराजनीतिक गठबन्धन हो,’ रायमाझीले भने, ‘गठबन्धन बनाऊँ, सत्तामा जाऊँ र मिलिजुलि खाऊँ भन्ने नै गठबन्धनको मुख्य एजेन्डा हो ।’ उनले नेपालमा आफ्नै एजेन्डा बोकेर अगाडि बढेको पार्टी एमाले मात्र रहेको जिकिर गरे । सुखी नेपाली, समृद्ध नेपालको नारा एमालेको भएको र मुलुक त्यही नारामा अगाडि बढेको उनको भनाइ थियो । 

माओवादी पृष्ठभूमिबाट आएका नेता रायमाझी नेकपा विभाजनसँगै एमालेतिर लागेका थिए । सोही सन्दर्भमा कुरा गर्दै उनले नेकपाकै निरन्तरताको रूपमा अहिलेको एमाले रहेको दाबी गरे । सबैले छोड्दै–छोड्दै गएको पार्टीमा बसेर आफ्नै अस्तित्व समाप्त हुने देखेर एमालेतिर लागेको उनको भनाइ थियो । माओवादी केन्द्रतिर इंगित गर्दै रायमाझीले भने, ‘समाजवादमा जानै नचाहने कांग्रेसको पुच्छर समाएर यी वामपन्थीहरू कता पुग्ने हुन् ?’ 

कांग्रेस र कम्युनिस्ट भनेको पूर्व र पश्चिम हिँडेका पार्टीहरू भएको भन्दै उनले ती पार्टीहरूको गठबन्धन राजनीतिक र वैचारिक दुवै हिसाबले असम्भव रहेको बताए । सत्तारूढ गठबन्धन काशी जान कुतीको बाटो हिँडेको उनको आरोप छ । माओवादी केन्द्रको विगत गौरवपूर्ण, वर्तमान संकटपूर्ण र भविष्य निराशपूर्ण रहेको उनको दाबी थियो ।