मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार १०:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यसकारण विश्वमा खाद्यसंकट निम्तियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार १०:५३:००

खराब मौसम, युक्रेन–रुस युद्ध र मल अभावले विश्वव्यापी खाद्यसंकट सिर्जना

पछिल्लो समय अति गर्मी, खडेरी र बाढीले गर्दा ल्याटिन अमेरिका, उत्तर अमेरिका र भारतमा खाद्य उत्पादनमा कमी आएको छ

गत फेब्रुअरीबाट रुसले युक्रनेमाथि आक्रमण थालेपछि खेतीका लागि अत्यावश्यक रासायनिक मल आपूर्तिमा गम्भीर समस्या उत्पन्न भएको छ । पछिल्लो समय विश्वलाई चाहिने परिमाणमा रासायनिक मल आपूर्ति हुन सकिरहेको छैन । रसिया विश्वमा नाइट्रोजन मलको सबैभन्दा ठूलो निर्यातक हो भने फस्फोरस र पोटासियमको दोस्रो ठूलो । तर, पश्चिमले लगाएका प्रतिबन्धका कारण रुसले मल निर्यात गर्न पाइरहेको छैन । युद्धमा रुसलाई प्रत्यक्ष सघाइरहेको बेलारुसले पनि उल्लेख्य परिमाणमा मल निर्यात गर्ने गर्छ । बेलारुसमाथि पनि पश्चिममा मुलुकहरूको प्रतिबन्ध छ । युक्रेन संकटअघिसम्म यी दुई मुलुकको विश्वव्यापी मल निर्यातमा ४० प्रतिशत हिस्सा थियो । 

भारत, ब्राजिल, चीन, अमेरिकाजस्ता ठूला मुलुक पनि रुसी मलमा केही हदसम्म निर्भर छन् । मंगोलिया, होन्डुरस, क्यामरुन, घाना, सेनेगलजस्ता विकासशील मुलुकले कम्तीमा २० प्रतिशत मलका लागि रुसमा निर्भर छन् । यसैगरी, रासायनिक मल उत्पादनको महत्वपूर्ण सामग्री प्राकृतिक ग्यासको रुस सबैभन्दा ठूलो निर्यातक हो । अहिले यो शृंखला तोडिएको छ, जसले गर्दा खाद्य तथा कृषि उत्पादनमा चुनौती थपिएको छ ।

विश्वले पछिल्लो समय खाद्य तथा अन्य उपभोग्य वस्तुहरूको मूल्यमा चरम वृद्धि साक्षात्कार गरिरहेको छ । यस्ता वस्तुहरूको चरम अभावसमेत सिर्जना भएको छ । खराब मौसम, युक्रेन–रुस युद्ध र मल अभावले विश्वव्यापी खाद्यसंकट सिर्जना गरेका हुन् ।

रुसले वर्षमा १२.५ अर्ब अमेरिकी डलरबराबरको मल निर्यात गर्छ । दोस्रो ठूलो मल निर्यातक चीनले १०.९ अर्ब डलर र क्यानडाले ६.६ अर्ब डलरको मल निर्यात गर्छन् । उत्तर अफ्रिकी मुलुक मोरोक्को ५.७ अर्ब डलरसहित चौथो निर्यातक हो । पाँचौँ स्थानमा रहेको अमेरिकाले ४.१ अर्ब डलरको मल निर्यात गर्छ । 

खाद्यान्न आपूर्तिमा पनि ठूलो गतिरोध देखिएको छ । युक्रेनमा आक्रमण सुरु गरेदेखि नै रुसी जलसेनाले युक्रेनी बन्दरगाहरूलाई नाकाबन्दी गरिराखेका छन् । युक्रेनले निर्यात गर्न ठिक्क पारेर राखेको दुई करोड मेट्रिकटनभन्दा धेरै अन्न (मुख्यतः गहुँ) त्यही थन्किबसेको छ । रुस र युक्रेनले गहुँको विश्वव्यापी आपूर्तिको करिब एकतिहाइ हिस्सा ओगट्छन् । गहुँ विश्वमा सबैभन्दा धेरै उपयोग हुने अन्न हो ।

युक्रेन मकै, जौ (बार्ली) सूर्यमूखीलगायतको पनि मुख्य निर्यातक हो । नाकाबन्दीका कारण युक्रेनको तेल तथा अन्नको निर्यात ६० लाख टन प्रतिमहिनाबाट २० लाख टनमा झरेको छ । दुई महिना लामो वार्तापछि यी दुई मुलुकले केही दिनअघि युक्रेनी बन्दरगाहबाट गहुँ निर्यातको मार्ग खुला गर्ने हस्ताक्षर गरेका छन् । यसले जारी खाद्यसंकटलाई केही मत्थर बनाउने अपेक्षा गरिएको छ ।

कोभिड–१९ महामारी, जलवायु परिवर्तनजस्ता अन्य संकट सिर्जित उत्पादन एवं आपूर्तिजन्य समस्याहरूले पनि विश्वमा खाद्यान्नको अभावमा योगदान गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार महामारी र जलवायु परिवर्तनले गत वर्ष करिब एक अर्ब मानिस भोकमरीमा परेका थिए । जलवायुका कारण फ्रान्सको वाइन उद्योगले २०२१ मा सन् १९५७ पछिकै न्यून उत्पादन साक्षात्कार गरेको बताइन्छ । विषम मौसम र उच्च तापक्रमका कारण फ्रान्सेली वाइन उद्योगले मात्रै पनि गत वर्ष दुई अर्ब डलरको नोक्सानी व्यहोरेको आकलन छ ।

पछिल्लो समय अति गर्मी, खडेरी र बाढीले गर्दा ल्याटिन अमेरिका, उत्तर अमेरिका र भारतमा खाद्य उत्पादनमा कमी आएको छ । लामो खडेरीका कारण कम उत्पादन भएपछि ब्राजिलमा सन् २०२० को अप्रिलदेखि सन् २०२१ को डिसेम्बरबीच कफीको मूल्यमा ७० प्रतिशतले वृद्धि भएको छ ।