मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौंको कमलादीस्थित गणेश मन्दिरअगाडि थुप्रिएको फोहोर । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
नवदीप अजनवी नुवाकाेट
२०७९ भदौ १ बुधबार ०६:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरी खटाएर बन्चरेडाँडामा फोहोर विसर्जन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नवदीप अजनवी, नुवाकाेट
२०७९ भदौ १ बुधबार ०६:४५:००

सिसडोल र बन्चरेडाँडावासीको अवरोधबीच मंगलबार फोहोरका एक सय ८६ गाडी ल्यान्डफिल साइट पुगे

सिसडोल र बन्चरेडाँडावासीको अवरोधका बीच मंगलबार एक सय ८६ कन्टेनर फोहोर विसर्जन गरिएको छ । स्थानीयवासीले बिहानैदेखि फोहोर बोकेका गाडीमाथि ढुंगा र गुलेली हान्न थालेपछि प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको हो । 

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार माग सम्बोधन गर्ने सहमति गरिसकेपछि पनि स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन् । सोमबार मात्रै महानगरले यसअघि गाडी तोडफोड गर्नेलाई कारबाही नगरिने सहमतिसमेत गरेको थियो । तर, पनि मंगलबार बिहानैदेखि स्थानीयवासीले अवरोध पुर्‍याए । ‘हामीले स्थानीयका माग सम्बोधन गर्ने सहमति जनाइसकेका छौँ, कति त सम्बोधन पनि भइसकेका छन्,’ उनले भनिन्, ‘तर उहाँहरूले ढुंगा र गुलेली हान्न छाड्नुभएन ।’ 

अब फोहोर कम उत्पादन गर्ने उपाय पनि अपनाउन जरुरी छ : सरिता राई, वातावरण विभाग प्रमुख, काठमाडौं महानगरपालिका

जबसम्म फोहोरलाई स्रोत वा सम्पत्तिका रूपमा लिइन्न, त्यतिवेलासम्म यसको दीर्घकालीन समाधान हुन्न । हामीले फोहोरबाट धन आर्जन गर्ने योजना अघि बढाउने र त्यसलाई कार्यान्वयनमा ल्याउने हो भने काठमाडौंको फोहोर व्यवस्थापन सहजै हुन्छ । अब फोहोर कम उत्पादन गर्ने उपाय पनि अपनाउन जरुरी छ । 

राईले यस्तै अवरोध भइरहने हो भने काठमाडौंको सडकमा थुप्रिएको फोहोर व्यवस्थापन प्रलय बन्न सक्ने बताइन् । तर, स्थानीयले माग सम्बोधन गर्दागर्दै पनि अवरोध गरे भने प्रहरी प्रयोग गरेर भए पनि काठमाडौंको फोहोर हटाइसकिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनले स्थानीयका माग सम्बोधन गर्ने सहमति भए पनि फोहोरका कन्टेनरमाथि एकपछि अर्को अवरोध हुँदै आएको जानकारी दिए । ‘हामीले प्रहरी सुरक्षाका बीच काठमाडौंको फोहोर व्यवस्थापन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘मंगलबार पनि प्रहरी सुरक्षामा केही कन्टेनर फोहोर फाल्न सकिएको हो ।’

हाल उपत्यकाका सडक किनारमा फोहोरको डंगुर थुप्रिएको छ । बन्चरेडाँडामा अवरोध भए पनि महानगरले सडक किनार तथा घरघरको फोहोर उठाउन सकेको छैन । जताततै फोहोर थुप्रिएरपछि महानगरले करिब पाँच हजार मेट्रिकटन फोहोर टेकुस्थित वातावरण विभागमा राखेको छ । 

बन्चरेडाँडाको अवरोध हटे फोहोर व्यवस्थापन गर्न कम्तीमा पनि चार दिन लाग्नेछ । महानगरले दैनिक दुईदेखि तीन सय कन्टेनर फोहोर बन्चरेडाँडामा पुर्‍याउन सक्छ । हाल काठमाडौंका सडकमा करिब सात हजार मेट्रिकटन फोहोर थुप्रिएको छ । महानगरले मुख्य सडक र अस्पताल आसपासमा जम्मा भएको फोहोर कन्टेनरमा उठाएर राखेको छ । मंगलबार दिउँसो प्रहरी सुरक्षामा केही कन्टेनर फोहोर बन्चरेडाँडा पुर्‍याएपछि स्थानीयले गाडी तोडफोड गर्ने डरमा बेलुकीदेखि फोहोर गाडी नपठाइएको महानगरले जनाएको छ । बुधबार बिहान प्रहरी सुरक्षामा फोहोरका कन्टेनर पठाइनेछ । 

प्रधानमन्त्री देउवाले मेयर साहसँग भने– फोहोर ‘होल्ड’भएकोमा चित्त बुझेको छैन
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी महानगरको फोहोर व्यवस्थापनबारे जानकारी गराएका छन् । धादिङको धुनीबेँसी नगरपालिकाका जनप्रतिनिधिले नै फोहोर रोक्नेबारे विज्ञप्ति जारी गरेकोप्रति साहले प्रधानमन्त्री ध्यानाकर्षण गराएका छन् । 

प्रधानमन्त्री देउवाले फोहोर होल्ड भएकोप्रति आफ्नो चित्त नबुझेको बताएका थिए । उनले आफूले गर्नुपर्ने र भन्नुपर्ने सबै सहयोग गर्ने बताउँदै सक्दो छिटो फोहोर व्यवस्थापन गर्न मेयर साहलाई सुझाब दिएका छन् । साहले पनि प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे पहल गरिदिन आग्रह गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । भेटको क्रममा बन्चरेडाँडा जाने सडक निर्माणमा पनि सहयोग गर्न मेयर साहले आग्रह गरेका थिए । ‘मेयरसापले फोहोरको विषय प्रधानमन्त्रीज्यूसँग राख्नुभएको छ,’ मानन्धरले भने, ‘प्रधानमन्त्रीले मैले भन्नुपर्ने ठाउँमा भन्छु, तर महानगरमा फोहोर होल्ड भएकोप्रति मलाई चित्त बुझेको छैन भन्नुभयो ।’

झडपमा एक स्थानीय घाइते
मंगलबार दिउँसो फोहोर बोकेर गएका गाडीको सुरक्षामा खटिएका प्रहरी र स्थानीयबीच झडप हुँदा बन्चरेडाँडाका एकजना घाइते भएका छन् । प्रहरीले हानेको रबरको गोली लागेर स्थानीय कमल तामाङ घाइते भएका हुन् । स्थानीयले प्रहरी र फोहोरका गाडीमाथि ढुंगामुढा तथा गुलेली हानेपछि प्रहरीले तर्साउन रबरको गोली प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए । उनका अनुसार प्रहरीले सुरक्षा दिएपछि फोहोरका केही कन्टेनर बन्चरेडाँडा पुगेका थिए । सुरक्षाका लागि गएको प्रहरी मंगलबार साँझ फर्किएको छ ।