१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ श्रावण ३० सोमबार २२:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा, लोसपा र सिके राउतको पार्टी आन्दोलित

नागरिकता विधेयक फिर्तापछि मधेश प्रदेशमा प्रदर्शन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ श्रावण ३० सोमबार २२:३२:००

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामै फिर्ता गरेपछि मधेस प्रदेश आन्दोलित भएको छ । विधेयक फिर्ता गरेर राष्ट्रपतिले मधेसविरोधी चरित्र प्रदर्शन गरेको भन्दै सोमबार जनकपुरधाममा विरोध प्रदर्शन भएको छ । जसपा, लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेकोमा विरोध गर्दै प्रदर्शन गरेका हुन् । 
जसपाले सोमबार साँझ जनकपुरधाममा विरोध जुलुस प्रदर्शन गर्दै कोणसभाको आयोजना गरेको थियो । लोसपाले निकालेको जुलुस जनक चोकमै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य रामगोविन्द यादवले वर्षौंदेखि नागरिकताविहीन रहेका मधेसी, आदिवासीलाई नागरिकता दिन खोज्दा राष्ट्रपतिले विधेयक फिर्ता गरेर मधेसविरोधी चरित्र प्रदर्शन गरेको आरोप लगाए । 
लोसपाका नेता मनोज चौधरीले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको कदम जनभावना र मधेसी जनताविरोधी रहेको आरोप लगाए । नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा फिर्ता गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले तत्काल राष्ट्रपतिले आफ्नो कदम सच्याउनुपर्ने बताए । उनले राष्ट्रपतिले आफ्नो कदम नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए । जनमत पार्टीले सिराहाको गोलबजारमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी राष्ट्रपतिको कदमको विरोध गरेको छ ।