
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग सहायता मागेका छन् । मन्त्री शर्माले वीरगन्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखाना सञ्चालनको लागि अध्ययन गर्न सहायता मागेका हुन् ।
अर्थ मन्त्रालयमा आज भएको भेटमा मन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालन गर्ने सरकारले निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययनका लागि आग्रह गरेका थिए ।
‘कृषि औजार कारखानालाई कृषि औजार आविष्कार केन्द्रकै रूपमा विकास गर्ने सरकारको लक्ष्य छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले नयाँ पत्रिकालाई भने ।
केन्द्रका अध्यक्ष पुनले कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्रसमेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताएको धितालले जानकारी दिए ।
धितालका अनुसार पुनले कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरूसमेत निर्माण गर्न सकिने बताएका थिए ।
यस्तै, कारखानालाई कम्प्युटर प्रविधिबाटसमेत सञ्चालन हुने गरी आधुनिकीकरणसमेत गर्न सकिने धारणा राखेका थिए ।
अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनपछि प्राप्त सुझाबका आधारमा सरकारले कृषि औजार कारखानालाई पुनर्जीवन दिने प्रतिबद्धता जनाएको धितालले जाकारी दिए ।