मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
Invalid date format २३:४४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मापसे गरेरै स्कुल बस सरर...

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४४:oo

स्कुल भन्नेबित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।
त्यही विद्यालयमा दैनिक विद्यार्थीलाई ल्याउने लैजाने बस पनि विद्याको मन्दिरकै एउटा भाग हो । त्यसमाथि सुन्दर भविष्यको सपना बोकेर स्कुल जाने धेरै विद्यार्थीको जीवन चालकको स्टेरिङमा अडिएको पनि हुन्छ । 
त्यस्ता भविष्यका कर्णधार बोकेर शिक्षाको मुहानमा पुग्ने स्कुल बसका चालक भने रक्सी (मदिरा) पिएर बस चलाउँछन् भन्दा अनौठो लाग्नु स्वाभाविक नै हो । काठमाडौं उपत्यकामा यस्तै घटना फेला पर्दै आएका छन् । उक्त घटना आज बिहान पनि दोहोरिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने ६ जना चालक भेटिए । प्रहरीले उक्त अभियान बिहान ५ः३० बजे ८ः३० बजेसम्म सञ्चालन गर्दा उनीहरू मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा फेला परेपछि कारबाही गरेको हो ।

यसरी मापसे गरेर बस चलाउने चालकमा ओमेगा सेकेन्डरी स्कुल कुमारीपाटीको बा.३क ९३५ नम्बरका बसचालक इन्द्रबहादुर श्रेष्ठ, टाइम इन्टरनेसनल कलेजको बा.१क ९४५६ नम्बरका बसचालक राजकुमार श्रेष्ठ र त्रियोग हाइस्कुलको बा.१क ९३५६ नम्बरका बसचालक सांगेल शेर्पा रहेका छन् । 

त्यस्तै, रेडियन्ट पब्लिक स्कुलको बा.८च ९३८३ नम्बरका भ्यानचालक  शिवकुमार क्षेत्री, ओरेन्ट इस्ट मन्टेश्वरी स्कुल बल्खुको बा.१८च ९८०१ नम्बरका भ्यानचालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपन्डाेलको बिएबी ००६४ नम्बरका भ्यानचालक भीमसेन नेपालीलाई समेत मापसे गरेर स्कुल बस चलाएको भन्दै कारबाही गरिएको छ । 

आजै मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्का चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

यस्तै, अन्य ट्राफिक नियम उल्लंघन गर्ने आठजना स्कुलबसका चालकलाई समेत कारबाही गरिएको जनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म एक सय १७ वटा स्कुलबसका चालक कारबाहीमा परिसकेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९५ जना चालक छन् ।