मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २८ शनिबार १८:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु सकारात्मक : खनाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार १८:५२:oo

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वामपन्थी एकताको महसुुस गरेर एमालेको सक्रिय राजनीतिमा फर्किनु सकारात्मक रहेको बताएका छन् । कतिपय नेताको स्वार्थका कारण कम्युनिष्ट पार्टी विभाजित भएको भन्दै खनालले एकताको सम्भावना प्रचुर रहेको औल्याएका छन् ।

छिमेकी देश चीनमा भएको ‘विश्व सभ्यता संवाद’मा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘वामपन्थीहरूबिच एकता हुन सक्ने सम्भावना पनि हो । अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ । यदि, विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

खनालले नेपालमा कम्युनिष्ट पार्टी विभाजनप्रति चीनले चासो राखेको पनि बताए । ‘नेपालमा ६० प्र्रतिशतभन्दा धेरै जनता कम्युनिष्ट पार्टीप्रति आकर्षित भएको देखिन्छ तर तपाईंहरूको पार्टी किन विभाजित भएको भन्ने उहाँहरूको चिन्तानजक जिज्ञासा थियो । हामीले देख्दा सिद्धान्तको विवाद, नीतिको विवाद केही पनि देख्दैनौँ । नेताहरूको स्वार्थको लडाइ मात्रै हो की ? भन्ने जस्तो पनि लाग्छ भन्ने कुरा पनि उहाँहरूको थियो’ खनालले भने, ‘यो टिप्पणी धेरै मार्मिक छ । यहाँका नेताहरूका निम्ति बडो घोचक पनि छ । विद्धान भनिने नेताहरूले सुन्न, बुझ्न आवश्यक छ ।’

चीनमा रहँदा खनालले विदेश विभाग प्रमुख लिउ जियांचाओ, विदेश विभाग उपप्रमुख सुन हैयान, पोलिटब्यूरो सदस्य लु सीलेलगायतसँग कुराकानी गरेका थिए । खनालका अनुसार लिउले ओली के गर्दै हुनुहुन्छ ? भनेर सोधेका थिए । ‘ओली आफ्नै ढंगले काम गर्दै हुनुहुन्छ, उहाँको पर्फर्मेन्स हामीलाई चित्त बुझेको छैन भनिदिएँ,’ खनालले भने ।
लिउले नेपाल र चीनका कम्युनिष्ट पार्टी, आम जनता र सिंगो राष्ट्रको सम्बन्धलाई प्राथमिकतामा राखेको बताएका थिए । उनले छिमेक नीतिलाई रिभ्यू गरेर अझै बढी आत्मिय बनाउने पनि बताएका थिए । एकजना चिनियाँ नेताले एमसिसीबारे पनि विज्ञासा राखेका थिए । 

‘एकजना चिनियाँ नेताले खास प्रसंगमा के सोध्नुभयो भने, तपाईंहरूकोमा एमसिसी फेरि आउने भयो होइन ?’ मैले ‘हो आउने भयो’ भनेँ । उहाँले ‘नयाँ ढंगले आउँदै छ’ भन्नुभयो । यो पनि उहाँहरूको नोटिसमा छ भन्ने बुझिन्छ,’ उनले भने । नेपालको विकास निर्माणदेखि चौतर्फी सम्बन्धलाई राम्रो बनाउने पक्षमा चीन रहेको खनालले बताए ।

खनालले पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम एकीकृत समाजवादीमा भित्रिनुलाई पनि स्वागतयोग्य भनेका छन् । ‘कम्युनिष्ट आन्दोलन एकतावद्ध हुने क्रममा वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्नु राम्रो छ, उहाँलाई स्वागत छ । वैचारिक समाजवादको लक्ष्यतिर क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अगाडि बढाउने काममा उहाँले ठोस भूमिका खेल्न सक्नुस्, उहाँसँग मेरा दह्रा हात मिल्नेछन्,’ खनालले भने ।

विश्व शान्ति, विकास र समृद्धिमा चीनको जोड
विश्व सभ्यता संवादमा विश्वका पाँच महादीपबाट १४० देशका ६०० भन्दा बढी नेता सहभागी थिए । चीनको राष्ट्रिय गेष्ट हाउसमा चिनियाँ राष्ट्रपति सी जिङपिङको शुभकामना सन्देशबाट सम्मेलनको सुरुवात गरिएको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलेको शुभकामना सन्देश र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य छाइ चीले किनोट भाषण गरेका थिए । उनले विश्व सभ्यता संवादको आवश्यकता र औचित्वबारे सविस्तार विस्तार गरेका थिए । 

संस्कृति र सभ्यतामा प्रभुत्ववाद स्थापना गर्ने कोसिस भएको भन्दै उनले विविधता नै विश्वको पुँजी भएकोमा उनले जोड दिएका छन् । एकले अर्काले सम्मान गर्दैै एकअर्काबाट सिकेर शान्ति, विकास र समृद्धिको यात्रा अगाडि बढाउन सक्नेमा उनले जोड दिएका थिए । सम्मेलनमा चीनले सभ्यतासम्बन्धी एक सय वटा प्रोजेक्स सुरु गर्ने र पाँच वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।

प्लेनरी सेसनमा खनालले मुख्य वक्ताको रुपमा सम्बोधन गरेका थिए । खनालले नेपालको सभ्यताको बारेमा सविस्तार चर्चा गरेका थिए । भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमारलगायत दक्षिणपूर्वी एसियाली देशहरूको समूहको नेतृत्व खनालले गरेका थिए ।