मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २४ शनिबार
  • Saturday, 10 December, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ११:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मिर्गौलामा पत्थरी र उपचार

पिसाब रोकेर नबस्ने, दिनमा तीनदेखि पाँच लिटर पानी पिउने र सन्तुलित आहार लिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ११:१६:००

मिर्गौलामा पत्थरी बन्ने कारण धेरै छन् । यसमध्ये शरीरमा पानीको कमी मुख्य हो । हाम्रो देशको पहाडी र हिमाली भेगका पानीमा क्याल्सियम र मिनिरल्सहरू धेरै हुन्छन् । यहीकारण यहाँको पानीले पत्थरी गराउने सम्भावना ज्यादा हुन्छ ।नेपालगन्जजस्तो अति तातो ठाउँमा गर्मीले पसिना धेरै बग्छ र मानिसको शरीरमा पानीको कमी हुन जाँदा समस्या देखिन सक्छ । खाडीतिर जाने हाम्रा दाजुभाइमा पत्थरी धेरै देखिनुको कारण पनि उच्च गर्मी हो । शारीरिक बनावटले पनि यसमा भूमिका खेलेको हुन्छ । केही व्यक्तिमा मिर्गौलादेखि तल झर्ने पिसाबको नली साँघुरो हुन्छ, जसका कारण पिसाब राम्ररी निख्रिँदैन । त्यसरी जम्मा भएर बसेको पिसाबमा रहेका क्रिस्टल्सहरू मिलेर पत्थरी बन्छ र चुम्बकीय प्रभावस्वरूप अन्य क्रिस्टल्स पनि त्यहाँ आएर टाँसिदा बढ्दै जान्छ र समस्या देखिन्छ । 

समस्या र लक्षण
पिसाबमार्फत प्राकृतिक रूपमै मानिसको शरीरबाट क्रिस्टल्सहरू निस्केर गइरहेका हुन्छन् र हामीलाई कुनै समस्या पनि महसुस हुँदैन । तर, पत्थरी ठूलो बनेर मिर्गौलाको मुख वा मिर्गौलाबाट पिसाबथैली आउने नलीमा ब्लक गर्‍यो भने मानिसलाई कोखा दुख्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत आउनेलगायत समस्या देखिन्छन् । धेरै देशमा गरिएको अनुसन्धानले पत्थरीलाई मिर्गौला फेलियरको मूल कारक देखाएको छ । पत्थरीले धेरै ब्लक गरिरह्यो, मिर्गौला सुन्निँदै गयो भने बिस्तारै काम नलाग्ने हुँदै जान्छ । त्यहीकारण पत्थरीको समस्या देखिनासाथ जाँच गराइहाल्नुपर्छ । 

सतर्कता 
पिसाब रोकेर नबस्ने, दिनमा तीनदेखि पाँच लिटर पानी पिउने र सन्तुलित आहार लिने गर्नुपर्छ । नुन, दुग्धजन्य पदार्थ (चिज, बटर, घिउ), हरियो सागसब्जी अत्यधिक खाँदा पनि स्टोन बन्न सक्छ । किनकि, दुग्धजन्य पदार्थमा क्याल्सियम र सागसब्जीमा अक्जालेट धेरै हुन्छ । माछा, मासु, गेडागुडी पनि धेरै खान हुँदैन, यसले युरिक एसिड हाई हुन्छ र युरिक एसिड स्टोन बन्छ । त्यसैले यस्ता खाद्यपदार्थ मात्रा मिलाएर सन्तुलित रूपमा कम लिनुपर्छ । खान नहुने भनेको कालो अंगुर, स्ट्रबेरी पनि हो, यसमा असाध्यै धेरै अक्जालेट हुन्छ । गर्मी स्थानमा बस्नेहरूले जाडोमा बस्नेको दाँजोमा धेरै नै पानी पिउनुपर्छ । यस्तै, नियमित व्यायाम गर्नुपर्छ । कोखा दुख्ने, पिसाब छिन–छिनमा लाग्ने, पिसाबमा रगत आउनेलगायत समस्या देखिए उपचारमा विलम्ब गर्नुहुन्न । 

उपचार 
पहिले–पहिले पत्थरीको उपचारका लागि शरीर चिर्नैपर्ने हुन्थ्यो । आजकल धेरैखाले उपचार प्रविधि विकास भइसकेकाले यस्तो बाध्यता छैन । मिनिपिसिएनएल आधुनिक चिकित्साको एउटा पद्धति हो । यसलाई ‘कि होल सर्जरी’ पनि भनिन्छ । शरीरमा सानो (झन्डै पाँच एमएम)को प्वाल पारेर मिर्गौलाको जत्रोसुकै पत्थरीलाई पनि फोडेर टुक्रा–टुक्रा गरी निकालिन्छ । 

अर्को, युरेरेटो रेनोस्कोपी हो, यसमा पिसाबको नलीमा भएको पत्थरीलाई कहीँ घाउ नगरी पिसाब फेर्ने ठाउँबाट दूरबिन छिराएर फोडिन्छ । त्यसपछि प्राकृतिक रूपमै धुलो बनेर पत्थरी निस्कन्छ । यसमा फोड्ने इनर्जी सोर्स दुइटा हुन्छन्, न्युमेटिक लिथोक्लास्ट र लेजर प्रविधि । अर्को प्रविधि आरआइआरएस हो । यसलाई रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी पनि भनिन्छ । यसमा पिसाब फेर्ने ठाउँबाट दूरबिन छिराएर मिर्गौलाभित्र रहेका पत्थरीलाई लेजरले टुक्रा–टुक्रा पार्ने वा धुलो बनाउने गरिन्छ । त्यस्तो धुलो प्राकृतिक रूपमै शरीरबाट निस्किन्छ । यस्ता धेरै प्रविधि अहिले विकास भइसकेका छन्, जसले पत्थरीको उपचारमा सहयोग पुर्‍याइरहेका छन् ।

डा. श्रेष्ठ नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा आबद्ध छन् ।