मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०६:१८:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नौ वर्षमा ५० हजारले गरे आत्महत्या

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०६:१८:००

बुधबार बिहान बझाङकी २२ वर्षीय गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परे । घटना दर्दनाक थियो । प्रहरीले घटनास्थल सिल गर्‍यो, भेटिएका दशी–प्रमाण संकलन गरिए । केही घन्टाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले निष्कर्ष निकाल्यो– छोरा र छोरीको हत्यापछि गीताले आत्महत्या गरिन् । कारण खुल्यो, पारिवारिक विखण्डन । 

प्रहरीका अनुसार गीताका श्रीमान् पुस्कर पार्की रोजगारीका लागि भारतीय सहर आउजाउ गरिरहन्थे । करिब एक वर्षअघि गीता स्थानीय युवा झलक नेपालीबाट बलात्कृत भइन् । त्यसयता उनी र पति पुस्करबीच सम्बन्धमा दरार सिर्जना भएको थियो । पुस्कर गीताको चरित्रमाथि प्रश्न गरिरहन्थे । यही क्रममा भारतको पिथौरागढबाट गत मंगलबार मात्रै फर्किएका पुस्कर र गीताबीच भनाभन भयो । गीता छोराछोरी काखी च्यापेर साँझ घरबाट निस्किइन् । पुस्कर घरकै खाटमा पल्टिए । गीता र उनका छोरीछोरी भने भोलिपल्ट घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परे । 

गत १६ साउनमा तारकेश्वर नगरपालिका– २ पदमसालस्थित एकतले घरमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र आठ वर्षका छोरा आशिक मृत अवस्थामा फेला परे । दिनेशको पेट र घाँटीमा गम्भीर चोट थियो । सुनिता र छोराछोरीको शरीर पनि क्षतविक्षत थियो । प्रहरीको केही घन्टाको प्रारम्भिक अनुसन्धानपछि खुल्यो– दिनेशले सुरुमा श्रीमती सुनिता र छोराछोरीको हत्या गरे, त्यसपछि आत्महत्या गरे । 

यति बीभत्स घटनाको चुरो पनि पारिवारिक विखण्डन नै थियो । प्रहरीका अनुसार दिनेश १२ वर्षको वैदेशिक रोजगारपछि चार वर्षअघि घर फर्केका थिए । उनको पत्नीसँग सम्बन्ध ठीक थिएन । घरेलु हिंसा गरेको भन्दै सुनिताले दिनेशविरुद्ध प्रहरीमै तीनपटक उजुरी दिएकी थिइन् । यसबाट दिनेश क्रुद्ध थिए । उनी सुनितासँग ‘डिभोर्स’ चाहन्थे, तर सुनिता दिन मानिरहेकी थिइनन् । यही क्रममा सुनिताको बेलायत जान ‘सिजनल भिसा’ लाग्यो । उनले चलाइरहेको ‘ब्युटिपार्लर’ पनि बेचिन् । यो विषय दिनेशलाई चित्त बुझेको थिएन । अन्ततः सोही आक्रोश हत्यापछि आत्महत्यामा बदलियो । 

गत ८ साउनमा झापाको केचनाकवल– ५ बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा ढल्केको बयरको रूखमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश झुन्डिएको अवस्थामा फेला परे । लगभग एकै उमेरका तीन किशोरी एउटै रूखमा झुन्डिएको अवस्थामा फेला पर्नु सामान्य विषय थिएन । यो घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले निष्कर्ष निकाल्यो– तीनैजनाले आत्महत्या नै गरेका हुन् । यसका पछाडि पनि कहीँ न कतै पारिवारिक विग्रहकै समस्या रहेको प्रहरीको भनाइ छ । यद्यपि, घटनाको अनुसन्धान नसकिएको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । प्रहरीका अनुसार मृतक तीनै किशोरी चिया बगानका मजदुर हुन् । 

गत २२ चैत ०७५ मा भरतपुर महानगरपालिका– १८ शशीनगरस्थित सहरी क्लिनिक टोल बस्ने ३५ वर्षीया माया आलेमगर, उनकी १५ वर्षीया छोरी विनिता र १३ वर्षीय छोरा विवेक घरभित्रै झुन्डिएको अवस्थामा फेला परे । यो घटना हुनुमा पनि पारिवारिक विखण्डन नै प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले पारिवारिक विखण्डनले पछिल्ला वर्ष आत्महत्याको दर बढाएको बताए ।

यस्ता घटनामा आपराधिक मनोवृत्ति मात्र नभई मनोवैज्ञानिक, सामाजिक र आर्थिक तीनवटै कारण मुख्य रहने उनको भनाइ छ । ‘आत्महत्याको दर प्रत्येक वर्ष बढेको देखिन्छ । यसका पछि अनेक कारण छन् । सबैभन्दा पहिलो हो, आर्थिक । जब अर्थ बिग्रन्छ, त्यससँगै पारिवारिक ‘हार्मोनिङ’ खत्तम हुन्छ । त्यसपछि मानिसमा नैराश्यता पैदा हुन्छ । यस्ता चिज मनभित्र गुम्सिँदै जाँदा समस्या सिर्जना गर्छ । र, मानिसलाई आत्महत्याको तहसम्म पुर्‍याउँछ । यस्ता घटनालाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि हेरिनु जरुरी छ,’ उनले भने । 

समाजशास्त्री डा. टीकाराम गौतमले भने आत्महत्या वृद्धि हुनुमा बदलिँदो सामाजिक संरचना मुख्य कारण भएको बताए । ‘पारिवारिक विखण्डन मात्र आत्महत्या कारण होइन । यसका पछाडि बदलिँदो सामाजिक संरचना मुख्य कारण हो । जस्तो अहिलेको समाज प्रतिस्पर्धाको छ । पुँजीवादी संरचनामा हुने यस्तै हो । यस्तो समाजमा परिवारभित्रै प्रतिस्पर्धा हुन्छ । जसले प्रतिस्पर्धा गर्दैन, उसले आफ्ना आवश्यकता नै पूरा गर्न सक्दैन,’ उनले भने, ‘पहिला यस्ता आवश्यकता पूरा गर्न सामूहिक रूपमा काम हुन्थे । अहिले त्यो टुटेको छ । यसले मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाएको छ । जब मानिस परिवारबाटै एक्लिन्छ उसमा डिप्रेसन पैदा हुन्छ । जसले मानिसलाई आत्महत्याको मोडमा लिएर जान्छ ।’

दैनिक १८ जनाले गर्छन् आत्महत्या
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला नौ वर्षमा देशभर ४९ हजार आठ सय ८४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७७/७८ मा मात्रै ६ हजार सात सय ९२ जनाले आत्महत्या गरेका छन् । यसलाई आधार मान्दा देशभर दैनिक कम्तीमा १८ जनाले आत्महत्या गर्छन् । यद्यपि, यो तथ्यांक अघिल्लो वर्षको भन्दा ४.५६ प्रतिशत अर्थात् तीन सय २५ ले कम हो । गत आर्थिक वर्ष मुलुकभर सात हजार एक सय १७ ले आत्महत्या गरेका थिए । अर्थात् त्यस वर्ष मुलुकभर एकै दिन आत्महत्या गर्नेको संख्या १९ थियो । 

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै आत्महत्या गर्ने प्रदेश १ मा छन् । गत वर्ष मात्रै सो प्रदेशमा एक हजार चार सय ८७ ले आत्महत्या गरेका थिए । त्यस्तै, लुम्बिनीमा एक हजार दुई सय ९७, मधेसमा एक हजार १५, बागमतीमा नौ सय एक, गण्डकीमा ६ सय ९७, सुदूरपश्चिममा पाँच सय ७९ र उपत्यकाभित्र पाँच सय २६ जनाले गत वर्ष आत्महत्या गरेका थिए । यस अवधिमा कर्णालीमा भने आत्महत्या गर्नेको संख्या दुई सय ९० रहेको प्रहरीको तथ्यांक छ । 

चार वर्षअघि भारतको महाराष्ट्रमा तीन महिनामा ६ सय ९६ किसानले आत्महत्या गरेको घटनाले सञ्चारमाध्यममा सनसनी मच्चायो । विषयमाथि विविध कोणका बहस चले । अन्ततः महाराष्ट्रका मुख्यमन्त्रीले सदनमा स्पष्टीकरण नै दिए । त्यो संख्या अघिल्लो वर्षको तुलनामा २४ अंक मात्रै बढी थियो । अघिल्लो वर्ष महाराष्ट्रमा आत्महत्या गर्ने किसानको संख्या ६ सय ७२ थियो ।

तर, नेपालमा प्रत्येक दिन १८ जनाले आत्महत्याको बाटो रोज्दा सम्बन्धित निकायले न्यूनीकरणको पहल गरेको देखिँदैन । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राई आत्महत्या दरलाई न्यूनीकरण गर्न प्रहरीले प्रत्येक कार्यालयमा विशेष परामर्श युनिट खडा गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार यस्ता युनिट स्थानीय तहले वडास्तरसम्मै पुगेर निर्माण गर्न आवश्यक छ । 

‘आत्महत्या गर्नेको दर हेर्दा अत्यासलाग्दो छ । यसलाई घटाउन नयाँ ढंगले सोच्न आवश्यक छ । जस्तो, जुनसुकै घटना हुँदा ठोक्किने भनेको नेपाल प्रहरी हो । त्यसैले प्रत्येक कार्यालयमा अब विशेष खालको परामर्श युनिट निर्माण गर्नुपर्छ । यस्ता युनिट स्थानीय तहले पनि गर्नुपर्छ । यसो गर्न नसकिए आत्महत्याको दर बढिरहनेछ,’ उनले भने । 

समाजशास्त्र तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. टीकाराम गौतम बदलिँदो समाज र समाज चलाउन विकास भएका नयाँ संयन्त्रबारे विद्यालय तहमै सूचित गरिनुपर्ने बताउँछन् । ‘अहिलेको समाज बदलिँदो छ । समाजमा धेरै नयाँ–नयाँ विषयवस्तु प्रयोगमा आएका छन् । यसका फाइदा–बेफाइदाबारे हामीले कतै छलफल गर्दैनौँ । न विद्यालयमा नै यस्ता विषयको सम्बन्धमा पढाइ हुन्छ । रोग लागेर उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिनु सबैभन्दा ठूलो उपचार पद्धति हो,’ उनले भने, ‘त्यो भनेको समाजका बदलिँदो परिवेशबारे विद्यालय, विश्वविद्यालय र समाजमा व्यापक अन्तर्क्रिया गर्नु हो । यति हुन सके आत्महत्या दर कम हुन्छ ।’

आत्महत्या कुण्ठा, बेचैन, नैराश्यता, दिग्दारीपनको उपज 
वासु आचार्य, मनोविश्लेषक

मानिसको मन र दिमागभित्र विचारहरूका आरोह–अवरोह चलिरहन्छ । सकारात्मक विचारले ऊर्जा दिए पनि नकारात्मक विचारले मानिसमा कुण्ठा, बेचैन, नैराश्यता, दिग्दारीपन हाबी गराउँछ । उसले एक्लोपन महसुस गर्छ । निराशाबाहेक केही देख्दैन । आफूलाई मूल्यहीन, उद्देश्यहीन र असहाय महसुस गरेपछि आत्महत्याको बाटो रोज्छ । कतिपयलाई आफू नहुँदा परिवारका सदस्यले दुःख पाउँछन् कि भन्ने पनि लाग्छ । त्यस्तो अवस्थामा उसले आफूसँगै उनीहरूलाई पनि सक्छ । 

परिवारबाट एक्लिएपछि हुने डिप्रेसनले मान्छेलाई आत्महत्याको मोडमा पुर्‍याउँछ
डा. टीकाराम गौतम, समाजशास्त्री

अहिलेको समाज प्रतिस्पर्धाको छ । पुँजीवादी संरचनामा हुने यस्तै हो । यस्तो समाजमा परिवारभित्रै प्रतिस्पर्धा हुन्छ । जसले प्रतिस्पर्धा गर्दैन, उसले आफ्ना आवश्यकता नै पूरा गर्न सक्दैन । पहिला यस्ता आवश्यकता पूरा गर्न सामूहिक रूपमा काम हुन्थे । अहिले त्यो टुटेको छ । यसले मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाएको छ । जब मानिस परिवारबाटै एक्लिन्छ उसमा डिप्रेसन पैदा हुन्छ । जसले मानिसलाई आत्महत्याको मोडमा लिएर जान्छ ।

जब अर्थ बिग्रन्छ, त्यसपछि नैराश्यता पैदा हुन्छ र आत्महत्याको तहसम्म पुर्‍याउँछ
डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी

आत्महत्याको दर प्रत्येक वर्ष बढेको देखिन्छ । यसका पछि अनेक कारण छन् । सबैभन्दा पहिलो हो, आर्थिक । जब अर्थ बिग्रन्छ, त्यससँगै पारिवारिक ‘हार्मोनिङ’ खत्तम हुन्छ । त्यसपछि मानिसमा नैराश्यता पैदा हुन्छ । यस्ता चिज मनभित्र गुम्सिँदै जाँदा समस्या सिर्जना गर्छ । र, मानिसलाई आत्महत्याको तहसम्म पुर्‍याउँछ । यस्ता घटनालाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि हेरिनु जरुरी छ ।