मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २६ बिहीबार १४:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीको जोखिममा श्रीवगडवासी

Read Time : > 1 मिनेट
२०७९ श्रावण २६ बिहीबार १४:५६:००

महाकाली नगरपालिका– १ को श्रीवगड र दुहुँ गाउँपालिका– ३ को श्रीवगड क्षेत्रमा पक्की तथा तारजालीसहितको तटबन्ध निर्माणका लागि तीन वर्षअघि नै ठेक्का भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।  महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम खलंगासँगसँगै श्रीवगडको जोखिम क्षेत्रमा तटबन्ध निर्माण गर्न राजेन्द्र निर्माण सेवासँग ०७६ असार २४ गते प्याकेज नम्बर १८ र १९ को सम्झौता गरेको थियो । 

दुवै ठेक्का डडेल्धुराको परशुराम नगरपालिकाका पूर्वमेयर एवं हाल नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले पाएका छन् । तीन वर्षदेखि निर्माण व्यवसायीले तटबन्धको काम नगर्दा श्रीवगडबस्ती कटानको जोखिममा कायमै रहेको स्थानीय मोहनबहादुर बमले बताए । उनले भने, ‘बर्खामा निद्रा लाग्नै छोड्यो । ठेकेदार प्रतिनिधि कोही आउँदैनन् । राजनीति नै गर्ने भए ठेक्का लिएर दार्चुला किन आउनुपर्थ्याे । अहिले तटबन्धको काम नगरेकै कारण श्रीवगड पूरै बस्ती जोखिममा छ ।’

गत वर्ष भदौ दोस्रो साता  निजाङगाड खोलामा आएको बाढिले दर्जनौँ घर बगायो भने दुहुँ र महाकाली जोड्ने दार्चुला तिंकर सडकअन्तर्गतको मोटरेबल पक्की पुल बगाएको थियो । अहिले पनि कुन वेला नदी बढ्छ र कटान सुरु गर्छ भन्ने चिन्ता दोहोरिने गरेको छ ।

निर्माण कम्पनीले श्रीवगडको दुहुँ गाउँपालिका क्षेत्रमा तीन सय मिटर लम्बाइ पक्की तबन्ध निर्माण गर्नुपर्ने सम्झौता छ भने महाकाली नगरपालिकाको श्रीवगडमा ५० मिटर लम्बाइमा पक्की तटबन्ध बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर, अहिले पनि तटबन्धनको काम हुन सकेको छैन् । महाकाली नदी नियन्त्रण आयोजना प्रमुख कमल महतका अनुसार प्याकेज नम्बर १९ को श्रीवगड क्षेत्रमा ५५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । कुल ११ करोड ५५ लाख ४४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । 

यस्तै, सोही निर्माण कम्पनीले प्याकेज नम्बर १८ अन्तर्गत नै रहेको कलौन भिर, बंगावगड र सदरमुकाम पुलघाटमा पनि ठेकेदारले काम सकेको छैन । यो क्षेत्रमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । कुल नौ करोड ४५ लाख ४८ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । दुवै प्याकेजमा निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि काम गर्न नआएको आयोजनाको गुनासो छ । 

‘राजनीतिक पहुँचकै कारण ठेकेदारले कार्यालयलाई टेर्दैैनन्,’ आयोजनाका एक कर्मचारी भन्छन्, ‘हामीले धेरैपटक लिखित तथा मौखिक रूपमा निर्माणको काम सक्न भनेका छौँ । विभिन्न बहानामा बनाएर निर्माण कम्पनी उम्किने गरेको छ ।’