मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार १२:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुरमा आजै मनाइयो जनैपूर्णिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार १२:२६:००

भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यस वर्ष गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेकोले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो । आज (बिहीबार) जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाउने जनाएको हो । भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइनेछ । 

आज बिहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनै लगाउने परम्परा छ । जनैपूर्णिमाको दिन रक्षा बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्रदान हुने विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रूपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।