मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २६ बिहीबार ०७:१२:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मध्यरातमा मनोहरा बस्ती पसेपछि... 

Read Time : > 5 मिनेट
२०७९ श्रावण २६ बिहीबार ०७:१२:००

मनोहरा, खहरे खोला र बागमतीमा आएको बाढीले तीन सय घरटहरा डुबानमा 

मंगलबार रातिको मुसलधारे वर्षाका कारण मनोहरा, खहरे र बागमती नदीमा बाढी आउँदा आसपासका घर तथा टहरा डुबानमा परेका छन् । बाढीले मनोहरा क्षेत्रका झन्डै तीन सय सुकुमबासीका टहरा, ९० वटा पक्की घर र खोला नजिकका सडक डुबानमा परेका छन् । 

बागमती, विष्णुमती, मनोहरा र पाटन क्षेत्रबाट आएको बाढीले ललितपुरको च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालय डुबानमा परेको छ । त्यस्तै, थुप्रै घरटहरा डुबाएको छ । मंगलबार राति १२ बजेदेखि मुसलधारे पानी परेको थियो । त्यसपछि आएको बाढीले नदीआसपासका पर्खालसमेत भत्काएको छ । 

काँडाघारीमा रहेको प्रहरी प्रभाग कार्यालयको भवन नै डुबानमा परेको छ । तीनकुने बागमती करिडोर र मनोहरा करिडोर सडक पनि बाढीले हिलाम्मे पारेको छ । दुईवटा नदीमा आएको बाढीको मुख्य क्षति सुकुमबासी बस्तीमै परेको छ । खोलाको क्षेत्रफल ओगटेर बसेका सबैजसो घरटहरा बाढीका कारण डुबानमा परेका छन् । अन्य खोला क्षेत्रका पक्की घरसमेत डुबानमा परेको काठमाडौं महानगरपालिका–३२ का वडा सदस्य देवेन्द्र पराजुलीले बताए । उनले मुसलधारे वर्षाका कारण खोलाको बहाव बढेर बाढी आउँदा मनोहरा करिडोर क्षेत्रमा तीन सयभन्दा बढी घरटहरा डुबानमा परेको जानकारी दिए । 

पहलमान घले, अध्यक्ष, सुकुमबासी बस्ती जडीबुटी

राति मस्त निद्रामा थियौँ, उठ्दा कोठाभरि पानी भरिएको थियो, बिस्तारा भिजिसकेका थिए । त्यसपछि क्याम्पसको कम्पाउन्डभित्र गएर बस्यौँ । गत वर्ष पनि यसरी नै बाढी पसेको थियो । अन्त वास नभएकाले नदी–किनार छाड्न सकिएन ।

पराजुलीका अनुसार मंगलबार राति खोला क्षेत्रका घर तथा सडक डुबानमा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण, उपत्यका विकास प्राधिकरण र वडाध्यक्षसहितको टोली अनुगमनमा पुगेको थियो । खोलालाई छुट्याउन लगाइएको एयरपोर्टको बाहिरी पर्खाल पनि मनोहरामा आएको बाढीले कटान गरेको छ । टोलीले खोला क्षेत्रको क्षति, डुबानमा परेका घर, खोलाले कटान गरेका पर्खाल तथा बारलगायतको अवलोकन गरेको छ । ‘मनोहरा खोलाको भूभाग जडीबुटी क्षेत्रमा सुकुमबासी टहराले खोसेको छ,’ उनले भने, ‘त्यहाँ खोलाको क्षेत्रफल निकै साँघुरो छ, पानी बग्न नपाएपछि होल्ड भएर केही बस्तीमा बाढी पसेको छ ।’ 

बाढीले बगाउन थालेको अवस्थामा प्रहरीले काँडाघारी क्षेत्रको खहरे खोलाबाट राति नै दुईजना पुरुषलाई उद्धार गरेको थियो । तीनवटा साना र चारवटा ठूला गाडीको पनि उद्धार भएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । हरहर महादेवनजिकैको गाईगोठमा पाँच–सातजना अलपत्र मानिस र तीनवटा गाईको उद्धार गरिएको थियो । मनोहरा क्षेत्रमा रहेको विष्ट गाउँको एक तलासम्मको घर डुबानमा परेपछि प्रहरीले स्थानीयलाई मंगलबार राति नै अन्य ठाउँमा सारेको थियो । बाढीले सुकुमबासी टोलका १२ वटा टहरा भत्काए पनि मानवीय क्षति भने भएको छैन ।

मुसलधारे वर्षाका कारण प्रहरी प्रभाग काँडाघारीको मेस डुबानमा परेको थियो । बाढीले कार्यालयको एक तलाको सबै भाग डुबाएको छ । मेसभित्र रहेका ग्यास, खाद्यान्न, भाँडाकुँडा, फर्निचरलगायतका सामान पनि बाढीले बगाएको छ । तीनवटा मेस बगाएपछि प्रहरीले बुधबार मेस अन्तै सारेको छ । यस क्षेत्रमा बाढी खहरे खोलाबाट पसेको थियो । 

पीडामा सुकुमबासी बस्ती
जडीबुटीस्थित मनोहरा करिडोर क्षेत्रमा टहरोमा बस्दै आएका पहलमान घले मंगलबार राति खोलामा बाढी आउँदा मस्त निद्रामा थिए । उर्लिएर आएको खोला टहराभित्रै पसेपछि उनी निद्राबाट ब्युँझिए । खोलामा आएको बाढी टहरामै पसेको देख्दा उनी अत्तालिए । मनोहरा करिडोरमा रहेका करिब तीन सय सुकुमबासी बस्तीका परिवारले बाढीको वितण्डा भोग्नुपर्‍यो । मानवीय क्षति नभए पनि सबैका टहराभित्र बाढी पस्यो । सुत्ने, बस्ने र खाने ठाउँ हिलाम्मे बन्यो । बाढी आएपछि करिडोरमा टहरो बनाएर आश्रय लिइरहेका करिब तीन सयजना स्थानीयको भागाभाग भएको थियो । उनीहरू जडीबुटीनजिकै रहेको कोटेश्वर बहुमुखी क्याम्पसको भवनमा बसेका थिए । ‘राति मस्त निद्रामा थियौँ, उठ्दा कोठाभरि पानी भरिएको थियो, बिस्तारा भिजिसकेका थिए,’ पहलमानले सुनाए, ‘त्यसपछि क्याम्पसको कम्पाउन्डभित्र गएर बस्यौँ ।’ सुकुमबासी बस्ती जडीबुटीका अध्यक्षसमेत रहेका उनले यो बस्तीलाई अन्त सार्न राष्ट्रिय सुकुमबासी आयोग र काठमाडौं महानगरलाई पहल गरिरहे पनि चासो नदिएको बताए । 

टहरामा बाढी पसेपछि स्थानीयले कोटेश्वर प्रहरीलाई गुहारेका थिए । प्रहरीले सुकुमबासीलाई क्याम्पसको कक्षाकोठामा राखेको थियो । ‘सुतिरहेका वेलामा घरभित्र पानी पस्यो,’ स्थानीय डमा शेर्पेनीले भनिन्, ‘वडाध्यक्षलाई जानकारी गराएको उहाँहरूले हाम्रो कुरा नै सुन्नुभएन ।’ जडीबुटीस्थित मनोहरामा रहेका सबै टहरामा बाढी पसेको थियो । यहाँ शेर्पा, मगर, राई, लिम्बु, विक, क्षेत्री समुदायका मानिस टहरा बनाएर बसेका छन् । खोलाको कटान क्षेत्रमै रहेका टहरा भत्काएपछि त्यहाँ रहेका सुकुमबासी कोटेश्वर बहुमुखी क्याम्पस परिसरमा बसेका छन् । 

बुधबार पानी पर्ने क्रम रोकिएसँगै खोलाको बहाव घटेपछि स्थानीयले टहराभित्र पसेको पानी फालेर सफा गरेका छन् । भिजेको लत्ताकपडा दिनभर घाममा सुकाएर प्रयोग गर्न मिल्ने अवस्थामा रहेको पीडित लाक्पा शेर्पाले बताए । ‘हाम्रो अन्त जाने ठाउँ छैन, तर वेलावेलामा वडाले हामीलाई हटाउन खोजिरहेको छ,’ उनले भने, ‘रहरले यस्तो ठाउँमा बसेका होइनौँ ।’ नदीको क्षेत्र र बस्तीको उचाइ बराबर छ । जसकारण नदीमा सामान्य बाढी आउनेबित्तिकै यो बस्ती डुबानमा पर्छ । गत वर्ष पनि यसरी नै डुबानमा परेको पहलमान घलेले बताए । ‘म यहाँ बस्न लागेको १७ वर्ष भयो, गाउँमा केही नभएर खोला–किनारमा बसेको, त्यो पनि बाढीले लखेट्न थाल्यो,’ उनले भने, ‘सुकुमबासीका करिब तीन सय टहरा डुबानमा पर्दा पनि वडाले वास्ता गरेन ।’ 

मनसुनमा स्थानीय वायु मिसिँदा क्षणभरमै भीषण वर्षा
मनसुनी वायुमा स्थानीय वायुको सम्मिश्रण हुँदा मंगलबार काठमाडौंमा भीषण वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुन सक्रिय भएका वेला एक्कासि स्थानीय वायुका कारण बादल मडारिँदा उपत्यकामा भीषण वर्षा भएको हो । ‘यो अस्वाभाविक होइन, एक वा एकभन्दा बढी वायुसँगै सक्रिय बन्दा एक–दुई ठाउँमा क्षणभरमै ठूलो पानी पर्ने हुन्छ ।’

उपत्यकामा मंगलबार दिनभरजसो चर्काे घाम लागेको थियो । तर, राति ९ बजेपछि एक्कासि वर्षा भएको थियो । केही घन्टामा सुन्दरीजल क्षेत्रमा ९१.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ । त्यहाँ राति ८ बजेसम्म प्रतिघन्टा दुई मिलिमिटरसम्म मात्र वर्षा मापन भएको थियो । तर, ९ बजे एकै घन्टामा ३०.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यी हुन् उपत्यकामा डुबानको जोखिममा रहेका ठाउँ

उपत्यकाका ठूला नदी बागमती, विष्णुमती, धोबीखोला, मनोहरा मानिन्छन् । यी खोलामा बाढी आउँदा आसपासका क्षेत्र डुबानमा पर्छन् । पछिल्लो समय सुन्दरीजलवरिपरिका भूभागमा डुबानको जोखिम बढ्दै गएको छ । छोटो समयमा अत्यधिक वर्षा, जथाभावी प्लटिङ र उत्खनन, बढ्दो कंक्रिटका संरचनाका कारण हनुमन्तेलगायत बागमती, विष्णुमती, धोबीखोला र सुन्दरीजलवरिपरिका भूभागमा डुबानको जोखिम बढ्दै गएको छ । यी नदीआसपासका सबैजसो बस्ती डुबानको जोखिममा छन् । सहरी विकाससम्बन्धी जानकार किशोर थापाले कंक्रिट संरचनाको बढ्दो चाप, ढलको व्यवस्थापन पर्याप्त नहुनु र मौसम परिवर्तनका कारण केही वर्षयता वर्षाको प्रकृतिमा आएको परिवर्तनले बाढी र डुबानको जोखिम प्रत्येक वर्ष बढाउँदै लगेको बताए । ‘खोलावरपरसमेत मापदण्ड मिचेर संरचना बनेका छन्,’ उनले भने, ‘सहरी क्षेत्रमा आकासे पानी व्यवस्थापनमा चासो नदिनुको परिणाम वर्षामा डुबानको रूपमा देखिएको हो ।’

मनोहरामा आएको बाढीका कारण पुरानो सिनामंगलस्थित मदरल्यान्ड अस्पताल क्षेत्र पनि डुबानमा पर्‍यो । त्यो क्षेत्रमा रहेका अन्य नौ घरभित्र पानी पस्यो । त्यस्तै, पेप्सीकोलापछाडि रहेको टाउनप्लानिङ क्षेत्रका बस्ती पनि बाढीले डुबानमा परेका छन् । बाढीले कागेश्वरी मनोहरा नगरपालिका–९ र काठमाडौं महानगरपालिका–३२ वडामा रहेका बस्तीमा बढी क्षति गरेको छ । त्रिभुवन विमानस्थल हुँदै बग्ने खहरे खोला र मनोहरा खोलाले त्यस क्षेत्रमा क्षति पुर्‍याएको छ । यहाँ करिब एक सय सुकुमबासीका टहरा डुबानमा परेका छन् । अन्य १५ वटा पक्की घरभित्र पनि पानी छिरेको छ । काँडाघारीस्थित मनोहरा खोलाको पुलदेखि उत्तरतर्फ रहेको लाइसियम स्कुलअगाडिको खोलाको पर्खाल भत्किएको छ । 

त्यस्तै, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा रहेको दिव्येश्वरी प्लानिङभित्र पनि बाढी पसेको छ । त्यस क्षेत्रका करिब दुई सय घरभित्र पानी पसेको स्थानीयको भनाइ छ । ‘एक्कासि खोला बढेर आयो,’ मध्यपुर थिमीका स्थानीय नरेश महर्जनले भने, ‘नदीमा लगाएको छेकबार भत्किएपछि करिडोर क्षेत्रका घरमा बाढी पस्यो ।’ बाढी पसेका कारण कालोपत्रे गरिएको मनोहरा करिडोरसमेत हिलाम्मे भएको छ । 

नदीभन्दा होचो करिडोर सडक
बागमती र मनोहरा करिडोर सडक खोलाभन्दा होचा हुँदा सडकमै बाढी आउने गरेको छ । बागमती नदीको अधिकांश क्षेत्रमा पर्खाल उठाएर अग्लो बनाए पनि नदी र करिडोर सडकको गहिराइ एकै हुँदा सडक नै डुबानमा परेका छन् । खोलाको पानी सडकमा पसेपछि सडक हिलाम्मे भएका छन् भने करिडोरनजिकका घरसमेत डुबेका छन् । 

सहरी विकास तथा पूर्वाधारविद् सूर्यराज आचार्यले उपत्यकाका नदी करिडोर क्षेत्र पुग्दो र व्यवस्थित नभएको बताए । उनले नदी करिडोरका मात्रै नभएर धेरैजसो सडक वर्षाको वेला जलमग्न हुने गरेको बताए । ‘उपत्यकाका नदी करिडोर क्षेत्रको मापदण्ड मिलेको छैन, खोलाभन्दा होचा सडक छन्,’ उनले भने, ‘त्यसकारण डुबान पर्नु स्वाभाविक पनि हो ।’ उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता पद्मसुन्दर जोशीले खोलाको क्षेत्रफल र बस्ती निकै नजिक भएका कारण बाढी पसेको बताए । ‘उपत्यकाका अधिकांश खोलालाई स्वतन्त्र बग्न दिइएको छैन, कहीँ न कहीँ खोला चेपिएको छ,’ उनले भने, ‘त्यसकारण खोला आफ्नो बाटो खोज्दै बस्तीमा पसेको हो ।’ 

बागमती, मनोहरालगायत उपत्यकाका ११ वटा खोलाको क्षेत्रफल ३० मिटर कायम छ । बागमती र मनोहरामा खोलापछि नौ मिटरको ग्रिनरी र ११ मिटरको करिडोर सडक छ । त्यसपछि मात्रै व्यक्तिको जग्गा वा घर पर्छ । तर, मनोहरा र बागमती नदीको तोकिएको क्षेत्रफल कायम हुन सकेको छ । बागमती सभ्यता एकीकृत विकास समितिले करिडोर सडक क्षेत्रमा रहेका सुकुमबासी टहरा भत्काउन सकेको छैन । जसकारण नदीको क्षेत्रफल खुम्चिएको छ । 

भारी वर्षाको वेला खोलाको पानी बस्तीमा पस्ने यो पनि एउटा कारण हो । त्यस्तै, मनोहरा खोला पनि अतिक्रमणको चपेटामा परेको छ । जडीबुटी क्षेत्रमा सुकुमबासीका झन्डै तीन सय टहरा छन् । जसकारण नदी बस्तीमा पस्ने गरेको हो । ती बस्ती हटाउन खोला व्यवस्थित गर्ने जिम्मा मनोहरा जग्गा एकीकरण आयोजनाको हो । तर, आयोजनाले सुकुमबासी बस्ती हटाउन नसक्दा करिडोर क्षेत्रको वास्तविक क्षेत्रफल कायम हुन सकेको छैन । आयोजना प्रमुख निर्मल बरालले मनोहरा क्षेत्रका सुकुमबासी व्यवस्थापन गर्ने सम्बन्धमा पहल गरे पनि सम्भव नभएको बताए ।