१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका आइजिपी र एआइजिपीबीच कार्यसम्पादन सम्झौता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

नेपाल प्रहरीमा आर्थिक वर्ष ०७९-८० का लागि महानिरीक्षकदेखि तल्लो तहका कार्यालय प्रमुखसम्मको कार्यसम्पादन सम्झौता भएको छ । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिम तल्लो तहसम्मका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । 
गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच मंगलबार गृह मन्त्रालयमा सम्झौता भएको थियो । बुधबार प्रहरी महानिरीक्षक सिंह र एआइजी तथा प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत डिआइजीहरूबीच सम्झौता भएको हो । 
प्रदेशका प्रहरी प्रमुखले जिल्ला प्रहरी प्रमुखसँग यस्तो सम्झौता गरेका हुन् । सम्झौता कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले संगठनका लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिवद्ध, नतिजाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै तोकिएको कार्य समय सीमामा सम्पन्न गरी समग्र प्रहरी काम कारबाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने बताएका छन् ।  
प्रहरी महानिरीक्षक सिंह र नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक एआइजी डा. आशा सिंह, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्रबहादुर धानुक, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदी तथा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रशासन विभागका प्रमुख एआइजी अरुणकुमार बिसी, अपराध अनुसन्धान विभागका प्रमुख  एआइजी दिवेश लोहनी र मानवस्रोत विकास विभागका प्रमुख एआइजी पूजा सिंह र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्दराज आचार्यबीच कार्यसम्पादन सम्झौतामा प्रत्यक्ष हस्ताक्षर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
त्यस्तै, सातै  प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको छ ।

 

 

सम्झौता हस्ताक्षर कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको समग्र कार्य सम्पादनको गुणस्तर अभिवृद्धि र विकास गर्ने अभिप्रायका साथ ब्लु प्रिन्टको रूपमा नेपाल प्रहरी कार्य योजना २०७९ जारी गरिएको  बताए । 
कार्य योजनामा उल्लेखित आठवटा लक्ष्य प्राप्तिका लागि सम्बन्धित कार्यालय प्रमुखहरूलाई आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरिवेक्षण गर्नसमेत उपस्थित प्रहरी अधिकृतहरूलाई  उनले निर्देशन दिएका छन् । 
कार्यसम्पादन करारबमोजिम प्राप्त उपलब्धिहरूको मापनको आधारमा सांगठनिक सफलताको मूल्यांकन हुने र यसको कार्यान्वयनको अवस्था र स्तरलाई सम्बन्धित प्रहरी इकाइ र कार्यालय प्रमुखहरूको वार्षिक कार्यसम्पादन मूल्यांकनको आधारको रूपमा समेत लिइने आइजिपीको भनाइ छ ।