मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २५ बुधबार ०६:२७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

२२ प्रतिशत मोटरबाटो मात्रै कालोपत्रे

नेपालभर हालसम्म ९८ हजार ६ सय १३ किलोमिटर सडक विस्तार, राजमार्गकै नौ हजार किलोमिटर सडक कच्ची

Read Time : > 3 मिनेट
२०७९ श्रावण २५ बुधबार ०६:२७:००

नेपालका ७७ जिल्लामा राष्ट्रिय राजमार्गको पहुँच विस्तार भइसकेको छ । अधिकांश स्थानीय तहमा समेत सडकको पहुँच पुगिसकेको छ । संघ, प्रदेश र स्थानीय तहको गरेर नेपालभर हालसम्म ९८ हजार ६ सय १३ किलोमिटर सडक विस्तार भएको छ । तर, त्यसमा पक्की (कालोपत्रे) सडकको हिस्सा भने २२ प्रतिशत मात्रै रहेको सडक विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण र सडक विभागको वार्षिक प्रतिवेदनअनुसार हालसम्म २१ हजार सात सय ७९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । विभागको प्रतिवेदनमा राष्ट्रिय राजमार्ग र आर्थिक सर्वेक्षणमा प्रदेश तथा स्थानीय तहले बनाएका सडकहरू समावेश गरिएका छन् । तथ्यांकअनुसार हालसम्म राष्ट्रिय राजमार्गअन्तर्गत ३३ हजार नौ सय ९६ किलोमिटर सडक सञ्चालनमा छन् भने प्रदेश र स्थानीय तहले ६४ हजार ६ सय १७ किलोेमिटर सडक विस्तार गरेका छन् । देशभर सञ्चालित सबै सडकहरूको संयुक्त विवरणमा पक्की सडकको हिस्सा अत्यन्त न्यून देखिएको हो । करिब २२ हजार किलोमिटर कालोपत्रे सडकमा राष्ट्रिय राजमार्गअन्तर्गत १७ हजार दुई सय ३२ किलोमिटर रहेको छ । 

त्यस्तै, प्रदेश तथा स्थानीय तहअन्तर्गत भने चार हजार पाँच सय ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । अझै ७६ हजार आठ सय ३४ किलोमिटर सडक (ग्राबेलसहितको) कालोपत्रे गर्न बाँकी रहेको उक्त तथ्यांकले देखाउँछ । कुल सडकमा कच्ची सडकको हिस्सा आधाभन्दा बढी देखिएको छ । 

 ग्राबेल सडक २२ प्रतिशत
कुल सडकमा ग्राबेल सडकको हिस्सा २२ प्रतिशत देखिएको छ । कुल सडकमा २१ हजार पाँच सय १७ किलोमिटर सडक ग्राबेल भएको छ । सडक ग्राबेल गरेपछि मात्रै कालोपत्रे गर्न योग्य हुन्छ । तथ्यांकअनुसार कुल सडकमा कच्ची सडकको हिस्सा ५६ प्रतिशत छ । कुल सडकमा ५५ हजार तीन सय १७ किलोमिटर सडक कच्ची (धुलो) अवस्थामा छ ।

 राजमार्ग नै नौ हजार किमि कच्ची 
राष्ट्रिय सडक सञ्जालमा रहेको राजमार्गतर्फ नै झन्डै नौ हजार किलोमिटर सडक कच्ची देखिएको छ । हाल सडक विभागअन्तर्गत देशभर ८० राजमार्ग सञ्चालित तथा निर्माणाधीन अवस्थामा छ । त्यसमा हालसम्म निर्माण भएको सडकको लम्बाइ ३३ हजार नौ सय ९६ किलोमिटर छ । त्यसमा १७ हजार दुई सय ३२ किलोमिटर सडक कालोपत्रे भएको छ । यसका अलावा सात हजार आठ सय ८८ किलोमिटर सडक ग्राबेल गरिएको छ भने आठ हजार आठ सय ७९ किलोमिटर कच्ची छ । विशेष निर्माणाधीन राजमार्गअन्तर्गतका सडकहरू कच्ची रहेको सडक विभागको भनाइ छ । 

 प्रदेश र स्थानीय तहका सडक बढी कच्ची
तथ्यांकअनुसार प्रदेश र स्थानीय तहले बनाएको सडक बढी कच्ची देखिएको छ । प्रदेश र स्थानीय तहले हालसम्म ६४ हजार ६ सय १७ किलोमिटर सडक विस्तार गरेका छन् । त्यसमा ७२ प्रतिशत अर्थात् ४६ हजार चार सय ४१ किलोमिटर सडक कच्ची छ । पक्की सडकको हिस्सा भने ७ प्रतिशत मात्रै छ । यसका अलावा ग्राबेल सडकको हिस्सा २१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार प्रदेश र स्थानीय तहअन्तर्गतका चार हजार पाँच सय ४७ किलोमटर सडक कालोपत्रे र १३ हजार ६ सय २९ किलोमिटर सडक ग्राबेल भएको छ । 

 प्रदेश र स्थानीय तहका सडक किन बढी कच्ची भए ? 
विशेष गरी पाँच वर्षअघि आएका प्रदेश र स्थानीय तहले सडक विस्तार गर्नुलाई फेसनका रूपमा लिएका कारण कच्ची सडकको हिस्सा बढी देखिएको हो । विगतमा स्थानीय तहहरू जता पनि सडक विस्तार गर्नमा केन्द्रित भएका थिए । केही पालिका प्रमुख, वडा अध्यक्षलगायतका जनप्रतिनिधिले नै डोजरजस्ता मेसिन किनेर पालिकाको पैसाले बाटो खन्ने काम गरे । तर, सडक गुणस्तरीय बनाउने विषयमा भने प्रदेश तथा स्थानीय तह केन्द्रित भएनन् । त्यसको असरले सडक विस्तार व्यापाक भए पनि गुणस्तरीय नभएको जानकारहरू बताउँछन् । 

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक भीर्माजुन अधिकारीले प्रदेश र स्थानीय तहहरू सडक गुणस्तर र दिगो बनाउनमा केन्द्रित नभएको बताए । ‘सडक विभागअन्तर्गतका राजमार्गमा पनि केही कच्ची छन् । तर, प्रदेश र स्थानीय तहले भने नयाँ सडक बनाउन मात्रै ध्यान दिए,’ उनले भने, तर, सडकको गुणस्तर बढाउन, मर्मत गर्न, कालोपत्रे गर्नमा उनीहरूको ध्यान पुगेको छैन । त्यसले गर्दा सडकलाई गुणस्तरीय बनाउन चुनौती भएको छ ।’ 

तर, प्रदेश र स्थानीय तहका सडकलाई गुणस्तरीय बनाउन बजेटको अभाव हुने गरेको जानकारहरू बताउछन् । साथै, सडक गुणस्तरीय बनाउने मामलामा प्रदेश र स्थानीय तहमा प्रणालीको विकाससमेत नभएको उनीहरूको भनाइ छ । अब स्थानीय तहहरूले सडकको मर्मत गर्ने, गुणस्तर बढाउने, कालोपत्रे गर्ने मामलामा पनि स्रोत जुटाएर अघि बढ्नुपर्ने उनीहरूको सुझाव छ । 

 पाँच वर्षमा कति सडक थपिए  ? 
तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा (आव ०७४/७५ देखि आव ०७८/७९ सम्म) कुल ११ हजार पाँच सय ५७ किलोमिटर सडक थपिएको छ । त्यसमा राष्ट्रिय राजमार्गतर्फ चार हजार आठ सय ७९ किलोमिटर रहेको छ । प्रदेश र स्थानीयले भने ६ हजार ६ सय ७८ नयाँ सडक विस्तार गरेका छन् ।आव ०७३/७४ को अन्त्यमा कुल सडकको लम्बाइ ८७ हजार ५६ किलोमिटर थियो । आव ०७/७९ सम्म आउँदो त्यो ९८ हजार ६ सय १३ किलोमिटर पुगेको छ । यस्तै, पछिल्लो पाँच वर्षमा थप ६ हजार सात सय सात थप सडक कालोपत्रे भएको छ । त्यसमा राष्ट्रिय राजमार्गतर्फ चार हजार चार सय २९ किलोमिटर थप सडक कालोपत्रे भएको छ । प्रदेश र स्थानीय तहले भने दुई हजार दुई सय ७८ सडक कालोपत्रे गरेका छन् । आव ०७३/७४ को अन्त्यसम्म १५ हजार ७२ किलोमिटर सडक कालोपत्रे थियो । आव ०७८/७९ सम्म आउँदा त्यो २१ हजार सात सय ७९ किलोमिटर पुगेको छ ।