१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
सुवास भट्ट काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तलब वृद्धिको निर्णयबाट पछि हट्यो सरकार

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२o:oo

बजेटले १५ प्रतिशत घोषणा गरेकामा २४.२६ प्रतिशतसम्म बढाउने प्रस्तावपछि विरोध

बजेटमार्फत घोषणा गरिएको स्केलभन्दा बढी तलब वृद्धिको प्रस्तावबाट सरकार पछि हटेको छ । मर्यादाक्रमअनुसार तलब समायोजनका नाममा बजेटबाट घोषितभन्दा बढी अंकमा सरकारले निजामतीको तलब वृद्धि गर्ने गरी तयारी अघि बढाएको थियो । नयाँ तलबमानभन्दा २४ प्रतिशतसम्म बढी प्रस्ताव गरिएको थियो । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको यस्तो प्रस्ताव अब कार्यान्वयनमा नजाने भएको हो । 

अर्थ मन्त्रालयले अघिल्लो साता मर्यादाक्रमअनुसार निजामतीको तलब समायोजन गर्ने भन्दै प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा पेस गरेको थियो । उही वा कम मर्यादाका सुरक्षा निकायका खासगरी सेना र प्रहरीका अधिकारीको भन्दा निजामती कर्मचारीको तलब कम भएको भन्दै त्यसमा एकरूपता ल्याउने गरी अर्थले प्रस्ताव पठाएको थियो । नयाँ तलबमानबमोजिम साबिकमा ३७ हजार ९९० तलब खाने शाखा अधिकृतको ४७ हजार २०८, ४२ हजार ३८० खाने उपसचिवको ५२ हजार २७९, ४९ हजार ३८० खाने सहसचिवको ६१ हजार ५० र सचिवको ६२ हजार ६८० बाट ७४ हजार २२१ रुपैयाँ पुर्‍याइएको थियो । बजेटले १५ प्रतिशत घोषणा गरेकामा २४.२६ प्रतिशतसम्म बढाइएको थियो । 

यससम्बन्धी प्रस्ताव अर्थले मन्त्रिपरिषद्मा पठाएको थियो । अघिल्लो बिहीबारको मन्त्रिपरिषद् बैठकमा अर्थको प्रस्तावबारे छलफल पनि भएको थियो । तर, निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १५ साउनमा ‘मर्यादाक्रमअनुसार अघिल्लो मर्यादाक्रम हुने पदाधिकारीको बढी र पछिल्लो मर्यादाक्रममा रहेका पदाधिकारीको कम हुने गरी आव ०७९/८० को तलबमान समायोजन गर्न’ सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनबमोजिम अर्थ मन्त्रालयले प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । 

बजेटबाट घोषितभन्दा बढी तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको विषय सार्वजनिक भएपछि यसबारे विवाद उत्पन्न भएको छ । सार्वजनिक आलोचना त भएको छ नै, आइतबार राजपत्रअनंकित कर्मचारीहरूले तलब वृद्धिविरुद्ध आन्दोलन नै गरे । 

राजपत्रअनंकित कर्मचारीहरूले अर्थले प्रस्ताव गरेको अतिरिक्त तलब वृद्धिमा आफूहरूलाई नसमेटिएको र विभेद भएको भन्दै आन्दोलन नै गरे । उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नासमेत दिए । मर्यादाक्रममा अधिकृत तहका कर्मचारी मात्र छन् । जसकारण राजपत्रअनंकित कर्मचारीहरू तलब वृद्धिबाट वञ्चित भएका थिए । 

राजपत्रअनंकित कर्मचारीका अतिरिक्त निजामती ट्रेड युनियनहरूले पनि यस विषयमा सरकारलाई दबाब दिए । विभिन्न दलसम्बद्ध निजामती संगठनहरूले प्रस्ताव फिर्ता लिन अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए । भेटपछि शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । 

पाँच निजामती संगठनहरूका प्रतिनिधिसँगको भेटमा मन्त्री शर्माले तत्कालका लागि बजेट भाषणअनुसार नै तलब वृद्धि हुने प्रतिबद्धता जनाएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले बताए । ‘प्रस्ताव कार्यान्वयन नहुने प्रतिबद्धता अर्थमन्त्रीले जनाउनुभएको छ,’ उनले भने, ‘यही सहमतिका आधारमा आन्दोलन पनि फिर्ता भएको छ ।’ 

तलबसम्बन्धी विषयका लागि ‘पे कमिसन’ गठन गर्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको पनि उनले बताए । अर्थमन्त्रीको प्रतिबद्धतापछि अहिलेलाई यो विषय साम्य भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीका अनुसार मन्त्रिपरिषद्मा छलफलका लागि विषय प्रवेश भएको, तर निर्णय नभएकाले अब तलब वृद्धिको प्रस्ताव अघि बढ्नेछैन । बजेटले घोषणा गरेअनुसार १५ प्रतिशत दरमा नै तलब समायोजन हुनेछ । 

प्रस्तावित तलबको विरोधमा श्रेणीविहीनदेखि नासुसम्मका कर्मचारी आन्दोलनमा
सरकारले अघि बढाएको निजामती सेवा ऐनमा प्रस्तावित व्यवस्थाप्रति विमति जनाउँदै कर्मचारीहरू आन्दोलित भएका छन् । ऐनका व्यवस्थाप्रति राजपत्रअनंकित कर्मचारीहरूको विमति छ । ऐन अहिले सहमतिका लागि कानुन मन्त्रालयमा छ । कानुन मन्त्रालयमा रहेको विधेयकमा रहेका बढुवासम्बन्धी व्यवस्थामा राजपत्रांकित कर्मचारीको असहमति छ । यसलाई ट्रेड युनियनहरूले चर्को गरी उठाउँदै आएका छन् । यसका लागि उनीहरूले केही समयअघिदेखि नै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । 

आफ्ना माग सम्बोधन गर्न दबाबस्वरूप उनीहरूले मंगलबार देशभर ‘पेनडाउन’ गर्ने घोषणा गरेका छन् । ‘प्रस्तावित ऐनमा राजपत्रअनंकित कर्मचारीका मागलाई बेवास्ता गरिएको छ,’ नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटवालले भने, ‘यसैको दबाबस्वरूप हामी निरन्तर आन्दोलनमा छौँ, माग सम्बोधन नगरे आन्दोलनलाई सशक्त बनाउँछौँ ।’ 

ad
ad