मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ श्रावण २२ आइतबार ०८:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँचवटा प्रदेशको जनगणना तथ्यांक प्रविष्टि सकियो : पुससम्म अन्तिम नतिजा आउने जनसंख्या घटबढ हुने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ श्रावण २२ आइतबार ०८:१२:००

केन्द्रीय तथ्यांक विभागले हालसम्म पाँचवटा प्रदेशको जनगणनाको प्रश्नावलीपत्र ‘प्रणालीमा प्रविष्टि’ गरेको छ । जनगणना सकिएको नौ महिनापछि पाँचवटा प्रदेशको विवरण प्रविष्टि सकिए पनि प्रदेश १ र मधेस प्रदेशको तथ्यांक प्रविष्टि गर्न बाँकी नै छ । 

माघमा प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको विभागले अबको दुई महिनाभित्र दुईवटा प्रदेशको तथ्यांक प्रविष्टि सक्ने र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । तथ्यांक प्रविष्टिका लागि तीन सय ‘डेटा इन्ट्री अपरेटर’ र चार सयजना ‘कोडर’ काम गरिरहेको विभागले जनाएको छ । विभागले ३० भदौदेखि ९ मंसिरसम्म गणक तथा सुपरिवेक्षक परिचालन गरेर जनगणनालगायत ८० वटा प्रश्नसहितको प्रश्नावली भराएको थियो । त्यसलगत्तै माघमा प्रारिम्भक तथ्यांक सार्वजनिक गर्दै आयोगले अन्तिम नतिजा आउन समय लाग्ने बताएको थियो । 

जनगणनासँगै ८० थरीका तथ्यांक संकलन गरिएकाले अन्तिम नतिजा आउन समय लागेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । उनका अनुसार ८० थरी प्रश्नसहितको प्रश्नावली भएकाले त्यसको प्रविष्टिमा धेरै समय लागेको हो । अन्तिम नतिजामा प्रारम्भिक तथ्यांक घटबढ हुन सक्ने विभागको अनुमान छ । यसअघिका वर्षमा जनगणनाका वेला पनि प्रारम्भिक तथ्यांकभन्दा अन्तिम तथ्यांकमा फेरबदल भएको छ । माघमा विभागले सार्वजनिक गरेको ०७८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ । 

तथ्यांक घटबढ हुन सक्ने अनुमान गरिएको विभागका महानिर्देशक श्रेष्ठले बताए । ‘यसअघि गणकले संकलन गरेको मोटामोटी तथ्यांकका आधारमा जनगणना तथ्यांक सार्वजनिक भएको थियो,’ श्रेष्ठले भने, ‘प्रश्नावली एक–एक गरी हेर्दा र रुजु गर्दा केही थपघट हुन सक्ने अनुमान छ ।’ उनले अन्तिम नतिजा नआउन्जेलका लागि जनगणनाको प्रारम्भिक तथ्यांक नै आधार मान्नुपर्ने बताए । 

कृषि गणना सकियो, नतिजा बाँकी 
केन्द्रीय तथ्यांक विभागले सातौँ कृषि गणना कार्य सकाएको छ । विभागको प्रणालीमा प्रविष्टि गर्न बाँकी छ । विभागले वैशाखदेखि कृषि तथ्यांक संकलन सुरु गरेको थियो । सात सय ५३ वटै स्थानीय तहलाई समेट्ने गरी तथ्यांक संकलन गरिएको थियो । देशभरको कृषि गणनाका लागि ६ हजार गणक खटाइएको थियो । करिब तीन महिनापछि कृषि गणनाको तथ्यांक सार्वजनिक हुनेछ । 

कृषि गणना पनि जनगणनाजस्तै दश–दश वर्षको अन्तरालमा गरिन्छ । यसपटक गरिएको कृषि गणनाका क्रममा तीन लाख ५० हजार घरपरिवारलाई नमुनाका रूपमा छानिएको थियो । यही संख्या आधार मानेर सबै कृषकको तथ्यांक संकलन गरिएको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार कृषि गणनामा कृषकलाई मात्रै प्रश्न गरिन्छ । हाल देशभर ४० लाख कृषक भएको अनुमान छ । ‘कृषि गणना वैज्ञानिक ढंगले हुन्छ,’ उनले भने, ‘गणनामा कृषकको संख्या निकै कम हुन सक्ने हाम्रो अनुमान छ ।’

चार आना जग्गामा खेती गर्ने पनि कृषक

कृषि गणनामा ठूलो, मझौला र सानो गरी तीन तहबाट तथ्यांक संकलन गरिन्छ । सबैभन्दा साना कृषकभित्र हिमाली र पहाडी क्षेत्रमा कम्तीमा चार आना जग्गा र तराईको हकमा आठ धुर जग्गामा कृषि कार्य गरेकोलाई तथ्यांकभित्र समेटिन्छ । त्यस्तै गाई, भैँसी, बाख्रा, हाँस, कुखुरालगायत पशुपक्षी पाल्नेलाई पनि कृषकका रूपमा गणना गरिन्छ । 

यसबाहेक ठुल्ठूला कृषि व्यवसायसँग आबद्ध परिवारको पनि तथ्यांक संकलन हुन्छ । विभागले थोरै जमिनको प्रयोग गरेर पनि कृषि कार्य गर्नेलाई पनि कृषकभित्र समेटेको छ । कृषकको बालीको क्षेत्रफल, अवस्था, प्रजाति, सिँचाइ, उत्पादन, कृषि सामग्री, औजार, बिउबिजनलगायत विषयमा प्रश्नावली तयार पारेर कृषक गणना भएको छ । प्रश्नावली काठमाडौं ल्याइसकिएको छ ।