मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २१ शनिबार ११:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहकारीले पनि एटिएम कार्ड दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २१ शनिबार ११:३१:००

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले सहकारीलाई पनि एटिएम कार्ड उपलब्ध गराउने भएको छ । कम्पनीले राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीका सदस्यलाई ग्लोबल आइएमई बैंकको एटिएममा नि:शुल्क प्रयोग गर्न मिल्ने कोप कार्ड नामकरणसहितको एटिएम कार्ड दिने भएको हो । 

एससिटीले हालसम्म बैंक तथा वित्तीय संस्थालाई एटिएम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा प्रदान गर्न सुरु गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनअनुरूप हाल एससिटीले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटिएम कार्ड, स्मार्ट क्युआर र मोबाइल बैंकिङमार्फत आफ्नो सेवा दिँदै आएकोे छ ।

बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएकोे कम्पनीको दाबी छ । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेस प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम–पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने जनाइएको छ । यो कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरूले जारी गर्ने जनाइएको छ ।

सहकारीहरूले आफ्ना सदस्यहरूलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै वेला जहाँबाट पनि एटिएममार्फत रकम निकाल्न सक्ने तथा पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने जनाइएको छ । यो सुविधाका कारण सदस्यहरूको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा २४सै घन्टा उपलब्ध हुने एससिटीले दाबी गरेको छ ।

कोप कार्ड सेवाको सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सार्वजनिक–निजी र सहकारी क्षेत्रको सहभागिता एवं विकासमार्फत उपलब्ध साधन–स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हासिल गर्दै दिगो आर्थिक विकास हासिल गर्नुपर्ने बताइन् । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीमा प्रविधिको महत्व र उपयोगिताबारे प्रकाश पार्दै यस सेवाद्वारा सहकारीहरूलाई विद्युतीय कारोबारका लागि थप प्रविधियुक्त सुविधा दिँदै जाने र सहकारीहरूलाई अझ सबल बनाउँदै जाने विश्वास व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले यस सहकार्यमा सहभागीभई सहकारी क्षेत्रमा पनि केही टेवा पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरेका थिए । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधीकरण हुने विश्वास व्यक्त गरेका थिए ।