निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
सुवास भट्ट काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ०६:२७:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रशासन हाँक्ने युवा : ४० भन्दा कम उमेरमै नीतिगत तहमा पुगेका छन् ३२ युवा 

Read Time : > 6 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ०६:२७:००

राजनीतिक हस्तक्षेपलाई बेवास्ता गर्दै समग्र प्रशासनलाई नागरिकमैत्री र विश्वसनीय बनाउन मात्रै युवा प्रशासकले पहल गर्न सके सेवा–प्रवाह चुस्त बन्न सक्छ

राज्यका हरेक अंगमा युवाको हस्तक्षेपकारी भूमिकाको आवश्यकतामाथि बहस जारी छ । क्षमता, योग्यता, ऊर्जा सबै हिसाबले तयार भए पनि युवाले उपयुक्त भूमिका पाउन नसकेको आमगुनासो छ । तर, देशको स्थायी सरकार निजामती सेवामा भने केही फरक हुँदै छ, ४० वर्षमुनिका मात्रै झन्डै तीन दर्जन युवा प्रशासन हाँक्ने सहसचिव तहमा पुगेका छन् । स्वाभाविक रूपमा उनीहरू भावी सचिवका दाबेदार हुन् ।

निजामती किताबखानाबाट प्राप्त विवरणअनुसार अहिले ४० वर्षभन्दा कम उमेरका ३२ युवा निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीमा कार्यरत छन् । निजामतीमा यो तह नीति निर्माणमा प्रत्यक्ष संलग्न हुनुका साथै प्रभाव पार्न सक्छ । सुस्त बढुवा प्रणालीबाहिर भिडेर थोरै संख्यामा भए पनि युवा नीतिगत तहमा पुगेका हुन् । राजनीतिक हस्तक्षेपलाई बेवास्ता गर्दै समग्र प्रशासनलाई नागरिकमैत्री र विश्वसनीय बनाउन मात्रै युवा प्रशासकले पहल गर्न सके सेवा–प्रवाह चुस्त बन्न सक्छ ।

निजामती सेवामा एक लाख ३७ हजारको दरबन्दी छ, तर अहिले कार्यरत संख्या भने एक लाख १० हजार मात्रै छ । त्यसमध्ये सहसचिवको संख्या ६ सय ७० छ । 

जो ३२ वर्षकै उमेरमा सहसचिव भए
बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्रांकित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः सबैभन्दा कान्छो उमेरको सहसचिव हुन् । ०६९ मा रेन्जर ९नासुसरह०बाट निजामती सेवा प्रवेश गरेका पौडेल १० वर्षमै सहसचिवमा छलाङ मार्न सफल भए । उनी ०७० मा शाखा अधिकृत र ०७७ मा उपसचिवमा बढुवा भएका थिए । बढुवा भएको अर्को वर्ष खुला प्रतिस्पर्धाबाट उनले सहसचिवमा नाम निकाले । 

३२ वर्षमै सहसचिव बन्न सफल अर्का युवा हुन्, पर्वतका प्रदीप परियार । उनले गत चैतमा सहसचिवमा नाम निकालेका हुन् । ०६९ मा नासुबाट निजामती सेवामा प्रवेश गरेका उनले ०७० मा शाखा अधिकृत पास गरेका थिए । त्यसको नौ वर्षपछि खुला प्रतिस्पर्धाबाट सहसचिव बने । 

आफूले लिएको लक्ष्य प्राप्तिका लागि निरन्तर लाग्ने र विषयवस्तुको गहिराइमा डुब्ने बानीका कारण सफलता मिलेको पौडेल सुनाउँछन् । परियार भने खुला प्रतिस्पर्धामा लड्न पाउने व्यवस्था, निरन्तरता, धैर्य र समर्पण नै आफ्नो सफलताको राज भएको बताउँछन् ।

लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले युवा नेतृत्वपंक्तिमा पुग्नु देशका लागि पनि सकारात्मक भएको बताए । ‘युवामा भरपूर ऊर्जा र नयाँ सोच हुने भएकाले विद्यमान अवस्थामा सुधार ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने । तर, यसलाई सामान्यीकरण गरेर युवा मात्र राम्रो र उनीहरूले मात्र गर्न सक्छन्, पुराना पुस्ता खराब हुन् भन्ने कुराचाहिँ गलत भएको उनको भनाइ छ ।

४० मुनिका यी नौ सहसचिव महिला

निजामती सेवामा महिलाको उल्लेख्य उपस्थिति छ । उनीहरू अब्बल पनि छन् । हाल कार्यरत सहसचिवमध्ये नौ महिला ४० वर्षभन्दा कम उमेरका छन् । उनीहरूमध्ये ६ जनाले त खुला प्रतिस्पर्धामा भिडेर ३५ वर्षको उमेरभित्रै यो सफलता हात पारेका हुन् । 

काठमाडौंकी सुलोचना श्रेष्ठले ३३ वर्षको उमेरमै गत जेठमा सहसचिवमा नाम निकालेकी हुन् । ०७० मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी उनी ०७५ असारमा उपसचिव बनेकी थिइन् । यसको चार वर्षपछि सहसचिवको परीक्षा पनि उत्तीर्ण गरिन् । मकवानपुरकी स्किम श्रेष्ठ पनि ३३ वर्षमै सहसचिव बनेकी हुन् । ०६९ मा शाखा अधिकृतसरहको महिला विकास अधिकृतबाट निजामतीमा प्रवेश गरेकी उनी ०७७ असारमा सहसचिवमा नाम निकाल्न सफल भइन् । 

चितवनकी जानुका पण्डितले ०७३ मा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालिन् । त्यतिखेर उनी ३४ वर्षकी थिइन् । उनले ०६६ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी हुन् । बाग्लुङकी सरिता गौतम पनि ३४ वर्षमै सहसचिव बनेकी हुन् । ०६९ मा कृषि प्रसार अधिकृत (शाखा अधिकृतसरह)बाट सेवा प्रवेश गरेकी उनी गत जेठमा खुला परीक्षा उत्तीर्ण गरेर सहसचिव बनिन् । 

झापाकी रेखा दास ३५ वर्षमा सहसचिव बनिन् । उनी ०७४ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी थिइन् । ०७८ कात्तिकमा उनले सहसचिवमा नाम निकालिन् । ०६६ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी पर्वतकी सुशीला अर्यालले ३६ वर्षको उमेरमा सहसचिवमा नाम निकालिन् । उनी ०७१ मा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बनेकी थिइन् । १९ वर्षको उमेरमा ०५९ मंसिरमा खरिदारबाट सेवा प्रवेश गरेकी संखुवासभाकी अनिता निरौला पनि ३६ वर्षको उमेरमै सहसचिव बनेकी हुन् । लोकसेवाको परीक्षा पास गरेर उनले ०७७ असारमा सहसचिवमा नियुक्ति लिएकी हुन् । उनी ०६३ मा शाखा अधिकृत र ०७० मा उपसचिव भएकी थिइन् । 

काठमाडौंकी अरुणा जोशी र झापाकी बबिता मिश्र पनि ४० वर्षभन्दा कम उमेरमै सहसचिव बनेका हुन् । ०६९ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी जोशी ०७४ मा उपसचिव हुँदै ०७८ फागुनमा खुला प्रतिस्पर्धाबाट सहसचिव बनेकी हुन् । त्यतिखेर उनी ३७ वर्षकी थिइन् । त्यस्तै, सहसचिवमा नाम निकाल्दा मिश्र ३९ वर्षकी थिइन् । ०६६ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी उनी ०७२ मा उपसचिवको परीक्षामा पनि सफल भइन् । ०७८ असोजमा लोकसेवाको परीक्षा पास गरेर उनले सहसचिवको नियुक्ति लिइन् ।

जो शाखा अधिकृतबाट सीधै सहसचिव बने
शाखा अधिकृतमा कार्यरत प्रदीप परियार, स्किम श्रेष्ठ, जानुका पण्डित, सरिता गौतम, रेखा दास र मेख मंग्रातीले खुला प्रतिस्पर्धाबाट एकैपटक सहसचिवमा नाम निकालेका छन् ।

निजामती सेवाबाहिरबाट लडेर जसले एकैपटकमा स्वास्थ्यको ११औँ तहमा नाम निकाले 

कास्कीका डा. अपार लामिछाने यस्ता अपवाद हुन्, जसले निजामती सेवाबाहिरबाट भिडेर एकैपटक स्वास्थ्य सेवाको ११औँ तह अर्थात् सहसचिवमा नाम निकाले । खुला प्रतिस्पर्धामा समेत अधिकांश निजामती सेवाकै कर्मचारी हुने र नाम पनि उनीहरूकै निस्कने गरेकामा उनी भने यसका अपवाद हुन् । 

३६ वर्षको उमेरमा गत वर्ष ०७८ पुसमा उनले सहसचिवमा नाम निकालेका हुन् । ‘म खुलाबाट सीधै लडेको हुँ, नाम निस्कियो,’ उनले भने । यद्यपि, उनीसँग बिपी कोइराला मेमोरियल हस्पिटल र ट्रमा सेन्टरमा करारमा काम गरेको अनुभव भने थियो । लामिछाने अहिले वीर हस्पिटलमा प्लास्टिक सर्जरी विभागका प्रमुख कन्सल्ट्यान्ट हुन् ।

खुला प्रतिस्पर्धासम्बन्धी व्यवस्था 
खुला प्रतिस्पर्धात्मक व्यवस्थाले निजामती सेवामा छिटो वृत्ति विकासको अवसर दिएको छ । ऐनले विभिन्न श्रेणीमा खुला र आन्तरिक प्रतिस्पर्धामा लड्न पाउने व्यवस्था गरेको छ । त्यस्तै, निश्चित योग्यता र कार्यानुभव तोकेर आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था छ ।

निजामती सेवा ऐनको दफा ७ मा निजामती सेवाको पदपूर्तिसम्बन्धी व्यवस्था छ । त्यसमा निजामती सेवाका विभिन्न पदमा खुला प्रतिस्पर्धा र बढुवाबाट गर्ने पदपूर्तिको हिस्सासम्बन्धी व्यवस्था छ । जसअनुसार खरिदारमा ७० प्रतिशत, नासुमा ४० प्रतिशत, शाखा अधिकृतमा ७० प्रतिशत तथा उपसचिव र सहसचिवमा १०–१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था छ । 

निजामतीमा छिरेको १० वर्ष नपुग्दै सहसचिव 
खुला र आन्तरिक प्रतिस्पर्धाका लागि ऐनले गरेको व्यवस्थाका कारण सेवा प्रवेश गरेको छोटो समयमै फड्को मार्ने निजामती कर्मचारी पनि उल्लेख्य छन् । ०७४ मंसिरमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी रेखा दास चार वर्षमै सहसचिव बनिन् । खुला प्रतिस्पर्धाबाट उनी ०७८ कात्तिकमा सहसचिव बनिन् ।

खरिदारबाट सेवा सुरु गरेका हेमराज तामाङ त नौ वर्षकै अवधिमा नासु, अधिकृत, उपसचिव हुँदै सहसचिवसम्मको सिँढी चढ्न सफल भए । ०६७ चैतमा खरिदारमा भर्ना भएका उनले ०६८ मंसिरमा नासु, ०६९ असोजमा शाखा अधिकृत र ०७४ साउनमा उपसचिवमा छलाङ मारे । ०७७ असारमा सहसचिवमा नाम निकाले । ‘बलियो अठोट, सकारात्मक सोच, सिर्जनात्मक अध्ययनका कारण नै म नौ वर्षकै अवधिमा खरिदारबाट सहसचिवसम्म बन्न सफल भएँ,’ उनले भने । 

कास्कीका नवीनचन्द्र अधिकारी पनि सरकारी सेवा प्रवेश गरेको आठ वर्षमै सहसचिव भए । ०७० जेठमा इन्जिनियर (शाखा अधिकृतसरह)बाट सेवा प्रवेश गरेका उनी ०७७ माघमा सिनियर डिभिजनल इन्जिनियर हुँदै ०७८ मंसिरमा सुपरिटेन्डेन्ट इन्जिनियर बनेका हुन् । चितवनका सन्देश श्रेष्ठ सरकारी सेवामा छिरेको नौ वर्षमा सहसचिव बने । उनी ०६६ माघमा शाखा अधिकृत भएका थिए । ०७३ असारमा उपसचिव हुँदै उनी ०७५ चैतमा सहसचिव बने । तामाङ, अधिकारी र श्रेष्ठ तीनैजना ३३ वर्षको उमेरमै सहसचिव भएका हुन् ।

जुम्लाका गोगनबहादुर हमाल सेवा प्रवेश गरेको ६ वर्षमै सहसचिव बने । ०६७ मा मेकानिकल इन्जिनियर (शाखा अधिकृतसरह) भएका उनी ०७४ मा उपसचिव हुँदै त्यही वर्ष सहसचिव भए । इन्जिनियरिङतिरबाट सेवा सुरु गरे पनि प्रशासनतर्फबाट लडेर उपसचिव बने । ‘म इन्जिनियरिङ पढेर र इन्जिनियरिङ सेवाकै शाखा अधिकृत भए पनि प्रशासनको उपसचिव बन्न आएँ,’ उनी भन्छन्, ‘नीतिगत प्रभाव र गर्न सकिने क्षेत्रका हिसाबले प्रशासनमा धेरै स्कोप देखेपछि यता आएको हुँँ ।’ हमाल ३५ वर्षमा सहसचिव भएका हुन् । 

त्यस्तै, गुल्मीका सुरेश पन्थीले उपसचिव भएको दुई महिनामै सहसचिवमा नाम निकाले । ०७० मा खरिदारबाट सेवा प्रवेश गरेर ०७२ मा शाखा अधिकृत भएका उनी ०७८ पुसमा उपसचिव भएका थिए । त्यसको दुई महिनामै सहसचिवमा नाम निकाले । त्यतिखेर उनी ३४ वर्षका थिए । त्यस्तै, जानुका पण्डित सेवा प्रवेश गरेको सात र स्किम श्रेष्ठ आठ वर्षमा सहसचिव भएका हुन् ।

४० वर्षमुनिका अन्य सहसचिव
३३ वर्षको उमेरमा सहसचिव :  हेमराज तामाङ (भोजपुर), सन्देश श्रेष्ठ (चितवन)  नवीनचन्द्र अधिकारी (कास्की) ।

३४ वर्षको उमेरमा सहसचिव :  सोमकान्त रिजाल (सुनसरी),  सुरेश पन्थी (गुल्मी), इन्द्रदेव यादव (सिराहा) ।

३५ वर्षको उमेरमा सहसचिव : गोगनबहादुर हमाल (जुम्ला), मेखबहादुर मंग्राती (सिन्धुली) ।

३६ वर्षको उमेरमा सहसचिव :  सुरेन्द्रकुमार यादव (सिराहा) , जगदीश पाण्डेय (नवलपरासी) ।

३७ वर्षको उमेरमा सहसचिव :  नरेन्द्रकुमार राना (रुकुम पश्चिम), भूपेन्द्र थापा (जुम्ला), अजय कार्की (कास्की), विपिन आचार्य (दैलेख), कौशलकिशोर राय (सर्लाही) ।

३८ वर्षको उमेरमा सहसचिव : ललिजन खनाल (अछाम), प्रेमप्रकाश खत्री (स्याङ्जा), सरोजकुमार चौधरी (रौतहट) ।

३९ वर्षको उमेरमा सहसचिव :  हुमनाथ सुवेदी (स्याङ्जा) ,अरुण काफ्ले (काभ्रे)

युवा प्रशासकले यस्तो सुधार गर्न सक्छन् : डा. गोविन्दराज पोखरेल, योजना आयोगका पूर्वउपाध्यक्ष

नयाँ प्रविधि, बदलिँदो समय–परिवेशको ज्ञान, नयाँ ऊर्जा, उदार भावनालगायतका हिसाबले युवाहरू प्रशासनमा आउँदा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ । तर, नेपालमा त्यो व्यवहारमा देखिएको छैन ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, कूटनीतिमा सुधार ल्याउने, सेवा प्रवाहलाई चुस्त बनाउने, राजनीतिक हस्तक्षेप कम गर्ने, विकास खर्चमा बदलाव ल्याउने, प्रशासनलाई नागरिकमैत्री र विश्वसनीय बनाउनेजस्ता सुधारमा युवा प्रशासकको ध्यान जानुपर्छ । यसप्रति उनीहरू गम्भीर हुनुपर्छ । 

कुनै प्रशासक कानुनबाहिर गएर काम गर्दिनँ भन्न सक्छ । राजनीतिमा नेतृत्वमाथि प्रश्न गर्दा भोलि चुनावमा टिकट पाउँदिन कि भन्ने डर हुन्छ । तर, कुनै प्रशासकले ‘कानुनबाहिर गएर काम गर्दिनँ’ भन्यो भने उसको सेवा–सुविधा र करिअर रोक्न सक्ने भन्ने त हुन्न नि ! हदै भए सरुवा होला ।

प्रशासकहरूले कानुनबाहिर गएर काम गर्दैनौँ भने मन्त्रीले पिएबाट काम गराउने त होइन ! कर्मचारी नै चाहिन्छ । यसर्थ राजनीतिभन्दा प्रशासन धेरै सुरक्षित छ । तर, प्रशासकहरूले हिम्मत गरेको देखिएन । सैद्धान्तिक हिसाबमा युवा पुस्ता आउँदा सुधार हुनुपर्ने भए पनि व्यवहारमा देखिएन ।

यसो भन्छन् युवा सहसचिवहरु:

गणेश पौडेल 
अध्ययनको नियमितता, विषयवस्तुको गहिराइमा पुग्ने प्रयास र जिम्मेवारीप्रतिको प्रतिबद्धता महत्वपूर्ण कुरा हुन् । यी पक्षमा ध्यान दिन्छु । कामको अनुभव पनि आफैँमा ज्ञान हो । सुरुमा अध्ययन महत्वपूर्ण हुन्छ, पछि कामबाट सिक्ने कुरा महत्वपूर्ण हुन्छ । फिल्डदेखि विभाग र मन्त्रालयमा खटेर गरेका कामले धेरै कुरा सिकाउँछ । मेरो हकमा यिनै पक्षले भूमिका खेले । 

प्रदीप परियार 
निजामती ऐनको खुला प्रतिस्पर्धासम्बन्धी व्यवस्थाका कारण पनि सहसचिव भएको हुँ । भलै, प्रतिस्पर्धामा सफल हुन मिहिनेत त चाहिन्छ नै । आफूले तय गरेको लक्ष्यमा निरन्तर लाग्ने, धैर्य र समर्पण पनि उत्तिकै आवश्यक छ । मेरो हकमा यी सबै पक्ष लागू हुन्छ । 

स्किम श्रेष्ठ 
कुनै व्यक्तिको सफलतासँग धेरै पक्ष जोडिएको हुन्छ । पहिलो कुरा त अध्ययन नै हो । त्यसपछि लक्ष्यप्रतिको प्रतिबद्धता, लगनशीलता, धैर्यलगायतका कुरा पनि महत्वपूर्ण हुन आउँछ । मेरो हकमा परिवारको सहयोग, निकट र साथीहरूको उत्साहलगायतले पनि सफलतामा महत्वपूर्ण भूमिका खेले ।

सुलोचना श्रेष्ठ
सबैभन्दा महत्वपूर्ण कुरा त ज्ञान र क्षमता नै हो । यो नभए त माथि पुग्न सक्ने कुरै हुँदैन । प्रतिस्पर्धा गरेर अघि बढ्न अरूभन्दा अब्बल हुनैपर्छ । त्यसपछि समय व्यवस्थापन, समसामयिक विषयमा जानकारी राख्नुपर्ने कुरा पनि महत्वपूर्ण हुन् । अर्को अनुभव पनि हो । ज्ञानबाट अनुभव र अनुभवबाट खारिँदै फेरि ज्ञान आर्जन, यही सिलसिलाबाटै अघि बढ्ने हो ।