१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २० शुक्रबार o६:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 प्रशिक्षक मेघराज केसी भन्छन्- भारतको रणनीति बुझ्न सकेनौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार o६:५३:oo

दोस्रो दक्षिण एसियाली यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागीता जनाएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । भारतको कलिंगामा भएको च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । माल्दिभ्स र श्रीलंकामाथि जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो ।चौथो खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको थियो । १० अंक बटुलेको बंगलादेश र ९ अंक बटुलेको भारत फाइनलमा पुगे । समान ४ खेलबाट नेपालले ७ अंक मात्र बटुल्यो ।

प्रतियोगिताको फाइनलमा पुग्न नसक्नुको मुख्य कारण भारतसँगको लज्जास्पद हार मानिएको छ । भारतमा प्रस्थान गर्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले उपाधिमा दाबेदारी दिने बताएका थिए । तर, सात अंकमा सीमित भएको नेपाली टोली फाइनलसम्म पुग्न सकेन । प्रशिक्षक केसी भारतसँगको प्रतिस्पर्धाले खेलाडीको ‘मोरल डाउन’ भएको बताउँछन् । भारतको रणनीति बुझ्न नसक्दा नेपाल फराकिलो अन्तरले पराजित भएको केसीले बताएका छन् ।

‘भारतसँगको प्रतिस्पर्धामा हामीले उनीहरूको रणनीति नै बुझ्न सकेनौँ,’ केसीले भने, ‘यसैकारण हामी पराजित भयोँ ।’ नेपालका मुख्य प्रशिक्षक केसीले दक्षिण एसियामा भारतको स्तर निकै माथि पुगेको बताए । ‘दक्षिण एसियाली क्षेत्रमा भारतको स्तर सोचेभन्दा निकै माथि पुगेको छ,’ भारतको खेल समीक्षा गर्दै केसीले भने, ‘भारतले प्रतियोगितामा विपक्षीको खेल र रणनीतिअनुसार खेल्यो ।’

प्रतियोगितामा भारतले प्रतिद्वन्द्वीअनुसार खेलाडीलाई प्रतिस्पर्धा गराएको उनले बताए । उनी भन्छन्, ‘नेपालसँग प्रतिस्पर्धा गरेका खेलाडीले श्रीलंका र बंगलादेशविरुद्ध खेलेका थिएनन्, भारतले नेपालसँगको प्रतिस्पर्धामा फरक रणनीति र खेलाडी उतारेको थियो ।’ साफ च्याम्पियनसिपमा भारतबाट सहभागी भएका खेलाडीसँग इन्डियन सुपर लिग (आइएसएल) को अनुभव भएको केसीको भनाइ छ । ‘भारतका कतिपय खेलाडीले आइएसएलको अनुभव लिएका थिए, पछिल्लो समय आइएसएलको स्तर माथि नै छ,’ केसीले भने, ‘उच्चस्तरीय लिग खेलेका खेलाडीले हाम्रो जस्तो टोलीलाई सहजै पराजित गर्न सक्छन् ।’

प्रशिक्षक केसीले भारतसँगको हारले आफ्नो स्तर थाहा पाउन सहज भएको बताए । उनी भन्छन्, ‘भारतसँगको हारले एउटा पक्ष स्पष्ट भयो, दक्षिण एसियामा नेपालको स्तर कहाँ छ भन्ने थाहा भयो ।’ पहिलो तथा दोस्रो खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको उनको भनाइ छ ।

‘माल्दिभ्स र श्रीलंकासँगको प्रतिस्पर्धामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन नै गरेका थिए, यो दुई खेलमा नेपाललाई उपाधि दाबेदार टोलीका रूपमा लिइएको थियो,’ उनले भने, ‘तर एक खेलले हामीहरूको योजना नै भताभुंग भयो ।’ नेपालको फुटबलमा आधुनिकीकरण हुनुपर्नेमा उनले जोड दिएका छन् । ‘अब नेपालको फुटबलमा परिवर्तनको आवश्यकता छ, हामीले आधुनिक फुटबल खेल्नुपर्छ,’ केसीले भने, ‘भारतविरुद्ध प्रतिस्पर्धा गर्न बलियो तयारी आवश्यक छ ।’

यसैगरी, नेपाली टोलीका कप्तान आयुष घलानले भारतसँगको प्रतिस्पर्धामा मानसिक दबाब नभएको बताए । ‘हामीले भारतसँग खेल्दा कुनै पनि मानसिक दबाब लिएका थिएनौँ, भारतलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रेका थियौँ,’ कप्तान घलानले भने, ‘तर योजना सफल बनाउन सकेनौँ । कप्तान घलानले पनि भारतसँगको खेलले धेरै पक्षमा कमजोरी भएको ज्ञान हासिल गरेको बताए । उनले भने, ‘त्यो खेलले हामीलाई ठूलो पाठ सिकायो, शारीरिकदेखि प्राविधिक ज्ञानमा जानकारी लिने अवसर पायौँ ।’