मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ श्रावण १९ बिहीबार ०९:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शून्य लागतमा जापान रोजगारी सुरु हुँदै

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ श्रावण १९ बिहीबार ०९:३९:००

जापानमा कामदार लैजाने प्रक्रिया टुंगो लगाउने विषयमा नेपाल र जापानका प्रतिनिधिबीच बिहीबार छलफल हुँदै छ

नेपालले शून्य लागतमा जापान रोजगारी सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये आठ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो । 

२०१९ मार्चमा नपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । जापानले १४ वटा विभिन्न पेसागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने सहमति भएको थियो । तर, श्रम समझदारीमा भएका केही विषय अस्पष्ट भएपछि यो प्रक्रिया रोकिएको थियो । यसै विषयमा छलफल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको संयोजकत्वमा समिति बनाएको थियो ।

समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिल्वाल, कानुन मन्त्रालयका हिमालचन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन् । त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाज्युको नेतृत्वमा १७ जनाको प्रतिनिधिमण्डल समिति बनेको छ । दुवै पक्षबीच १९ साउनमा बिहीबार बृहत् छलफल हुँदै छ । बिहीबार हुने बैठकमा जापानमा कामदार लैजाने प्रक्रियाको विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । 

पाँच हजार ३२० परीक्षामा उत्तीर्ण
जापान रोजगारीको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । गत सातासम्ममा पाँच हजार तीन सय २० जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेको मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बताए । उनका अनुसार सम्झौताअनुसार परीक्षा पास भएका सबै जापान रोजगारीका लागि योग्य हुन् । केयर–गिभरमा एक हजार आठ सयजनाले परीक्षा पास गरेको मन्त्रालयले जनाएको छ । 

जापानले पहिलो चरणमा केयर–गिभरका लागि नेपाली कामदार लैजाने बताएको थियो । तर, मन्त्रालयले भने निर्माण, उत्पादन र सेवाक्षेत्रमा पनि नेपाली कामदार लैजान प्रस्ताव गरेको मन्त्रालयका उपसचिव भुसालले बताए । उनका नेपालको सो प्रस्तावमा जापान सहमति भएको छ । तत्काल चारवटा क्षेत्रका लागि नेपाली कामदार लैजाने सम्भावना छ । 

एसएसडब्लु प्रणालीमार्फत कामदार लगिने 
जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्लू)बाट नेपाली कामदार लैजानेछ । कामदार छनोट प्रक्रियाका लागि नेपालमा जापानका लागि जापान फाउन्डेसनले काम गर्नेछ । फाउन्डेसन जापानको अर्धसरकारी संस्था हो । कम्प्युटर परीक्षाको जिम्मेवारी भने जापानिज कम्पनी प्रोमोटिकले पाएको छ । 

जापानले भाषा तथा सीप परीक्षामा उत्तीर्ण भएका कामदारलाई मात्रै रोजगारीका लागि लैजानेछ । दुवै परीक्षामा उत्तीर्ण भएका कामदार नेपालको वैदेशिक रोजगार विभागको जापान इकाइमा सूचीकृत हुनेछन् । जापानी रोजगारदाता वा रोजगारदाताका एजेन्टले आफ्नो आवश्यकताअनुसार विभागको जापान इकाइमा माग गर्नेछ । विभागले जापानी रोजगारदाताको आवश्यकता र उपलब्ध नेपाली कामदारबीच म्याचिङ गर्नेछ । म्याचिङ भएपछि रोजगारदाताले नेपाली कामदारको नाममा योग्यताको प्रमाणपत्र (सिआई) पठाउनेछ ।

सिआई प्राप्त गरेका कामदार भिसा प्रक्रियाका लागि योग्य हुनेछन् । कामदारले अन्य कागजपत्रसहित जापानिज दूतावासमा भिसाका लागि आवेदन दिन सक्नेछन् । भिसा प्राप्त भएपछि कामदार मेडिकल परीक्षण, बिमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । त्यसपछि जापान इकाइ श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । श्रम स्वीकृतिपछि कामदार जापान जान पाउँनेछन् । 

जापान सरकारले नेपालबाट व्यक्तिगत र प्रशिक्षार्थी कामदार प्रक्रियाबाट पनि नेपाली कामदार जापान लैजाने गरेको छ । व्यक्तिगत प्रक्रियाअन्तर्गत कामदारले व्यक्तिगत रूपमा नै जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारीका लागि जान सक्नेछन् । यस्तो खालको प्रक्रिया जापानले कुकका लागि बढी नेपाली कामदार लैजाने गरेको छ । त्यस्तै, प्रशिक्षार्थी कामदार (टिआइटिपी) प्रणालीअन्तर्गत जापानले नेपालका म्यानपावर कम्पनीमार्फत नै कामदार लैजाने गरेको छ । यस्तो खालका कामदार प्रशिक्षार्थीका रूपमा जापान जान पाउँनेछन् । तर, प्रशिक्षणको क्रममा उनीहरूले पारिश्रमिक सुविधा भने पाउँनेछन् ।