मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १८ बुधबार ०९:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसी कटान : तटीय बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १८ बुधबार ०९:१२:००

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित

उद्धार र राहतको व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन, परराष्ट्रमन्त्री डा. खड्कासँग पनि छलफल 

उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ मा सप्तकोसी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । 

सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका तटीय बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहराले जानकारी दिए । गृहमन्त्री खाणले बेलकामा सप्तकोसीको कटानबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि छलफल गरेका छन् । परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला उदयपुर हो । 

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी वासस्थानको व्यवस्था गर्न र त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ ।  

विपतमा परेकाहरूलाई अस्थायी वासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिएका छन् । 

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश  प्रमुख डिआइजी गिरीले जानकारी दिए । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उनले बताए । 

नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहराले जानकारी दिए । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको छ ।

यो पनि पढ्नुहोस् : उदयपुरमा पर्ने तटीय क्षेत्रका मानव बस्तीमा सप्तकोसी पस्यो