
जेन–जी आन्दोलनले सरकारी तथा निजी क्षेत्र ठप्प बनेका छन् । आन्दोलनको प्रभाव खेलकुद क्षेत्रमा समेत परेको छ । गत साता सोमबार र मंगलबारको जेन–जीको आन्दोलनका कारण सबै घरेलु प्रतियोगिता स्थगित भएका छन् । प्रतियोगिता गर्ने तयारीमा रहेका केही खेल कहिले गर्ने भनेर संघले निर्णय लिन सकेका छैनन् । खेलकुद मन्त्रालय रिक्त रहँदा मंसिरमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुदका विषयमा अन्योल बढेको छ । १ असोजदेखि सुरु हुने भनिएको राष्ट्रिय महिला लिग प्रतियोगिता अनिश्चितझैँ बनेको छ ।
आइतबारदेखि खेलकुदको प्रमुख निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यालय खुलेको छ । खेल संघमध्ये सबैभन्दा चलायमान बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने २५ भदौदेखि कार्यालय खुलाएको थियो । एन्फाले कार्यालय खुलेको दिनै यू–१७ टोलीलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिदाई गर्यो । जेन–जीको प्रदर्शनबाट असुरक्षित महसुस गरेको एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अहिलेसम्म सम्पर्कमै नरहेको एन्फा स्रोतले बताएको छ । यसैबिच नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का जेन–जी पुस्ताको पक्षमा समर्थन गर्दै सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।
एन्फा यू–१६ लिग प्रभावित
एन्फाले आयोजना गरेको एन्फा यू–१६ लिग प्रभावित बनेको छ । सहिद स्मारक ‘ए’ डिभिजनका १४ क्लब सहभागी भएको युथ लिगका सात चरणका खेल बाँकी छन् । अब, बाँकी खेल कहिले हुने टुंगो छैन । एन्फाले वर्तमान परिस्थितिका कारण यू–१६ लिगका सम्बन्धमा चासो राखेको छैन । लिगको १८ चरणको खेल सम्पन्न हुँदा नेपाल पुलिस क्लब २ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा छ । मच्छिन्द्र क्लब ३९ अंकसहित दोस्रो स्थानमा छ । एकै खेल जित्न नसकेको सातदोबाटो युथ क्लब पुछारमा छ ।
एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न गत सोमबार बैठक आह्वान गरेको थियो । एन्फा अध्यक्ष र महासचिवसहित अन्य पदाधिकारी सम्पर्कमा नआउँदा बैठक भएन । नेम्वाङ एन्फाको नेतृत्वमा आएको चौथो वर्षमा प्रवेश गर्दा मात्र एकपटक डिभिजन लिगको साइकल पूरा भएको छ ।
नेपाल र बंगलादेशबिचको खेल रद्द
२२ महिनापछि दशरथ रगंशालामा फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग २२ भदौमा पहिलो मैत्रीपूर्ण खेल खेल्यो । पहिलो खेल गोलरहित बराबरी खेलेको थियो । निर्णायक तथा उपाधि भिडन्तको दोस्रो खेल २४ भदौमा हुने तालिका थियो । फिफा विन्डोमा आयोजना भएको यो खेलले वरीयतामा समेत प्रभाव पार्ने थियो । २३ भदौमा जेन–जीको आन्दोलको पहिलो दिनै १९ जनाको मृत्युपछि एन्फाले दोस्रो मैत्रीपूर्ण खेल नहुने निर्णय गर्यो । काठमाडौंमा रहेका बंगलादेशी फुटबल टोली तीन दिनपछि मात्र घर फर्कियो । उनीहरू बंगलादेशकै सेनाको हवाईजहाजबाट घर फर्किएका थिए ।
काभा महिला भलिबलसहित साधारणसभा स्थगित
नेपाल भलिबल संघ (एनभिए)ले १५ देखि २२ नोभेम्बरसम्म पहिलोपटक काभा महिला भलिबल लिग आउटडोरमा गर्ने तयारी गरेको थियो । दर्शकको मागअनुसार काठमाडौंको टुँडिखेलमा खेल गर्ने योजनामा थियो । संघले देशको घटनाक्रमअनुसार प्रतियोगिता स्थगित गरेको छ । शनिबार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले भर्चुअल बैठक बस्दै यो निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्भित्र रहेको कभर्ड हल पुनर्निर्माण भए पनि दर्शक क्षमता एक हजार मात्र रहेको छ । यसकारण संघले टुँडिखेलमा गर्ने निर्णय गरेको थियो । जेन–जीको आन्दोलनकै कारण ३० भदौमा पोखरामै हुने तय भएको संघको साधारणसभा स्थगित भएको छ ।
नाइट रन स्थगित
३ असोजमा तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित भएको छ । देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको संस्थापक टिएस ठकुरीले जानकारी दिए । विश्व दौडको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रूपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो । यो प्रतियोगिताको विजेतालाई थाइल्यान्डको बाङ्सेनमा हुने दौडमा सहभागी गराउने तयारी थियो । नाइट रन स्थगित गरे पनि आयोजकले २८ असोजमा गौघाट ग्रिन रन र ६ मंसिरमा हुने नेपालगन्ज म्याराथनको तयारीमा जुटेको ठकुरीले बताएका छन् ।
अन्तिम चरणको तयारीमै रोकियो स्पोर्टस् अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड पनि आन्दोलनका कारण स्थगित भयो । अवार्ड पहिलोपटक काठमाडौंबाहिर पोखरामा आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो । २४ भदौमा अवार्ड समारोहस्थल आगजनीमा पर्यो । देशको परिस्थितिका कारण तत्काललाई अवार्ड स्थगित गरिएको मञ्चका महासचिव अञ्जन खड्काले बताए ।
महिला भलिबल लिगको नयाँ मिति तोकिने
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका बाँकी खेलको नयाँ मिति घोषणा गरिने भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको लिग २४ भदौमा रोकिएको थियो । लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले आइतबार लिगका बाँकी खेल सुचारु गर्न नयाँ मिति तोकिने जानकारी दिएकी छिन् ।
लिगका १६ मध्ये नौ खेल सम्पन्न भएका थिए । सात खेल बाँकी रहेकाले अंकतालिका हेरेर नयाँ मिति घोषणा गर्ने उनले बताइन् । ‘नेपाल भलिबल संघ, सहभागी ६ फ्रेन्चाइज टोली र प्रायोजकसँग मिलेर नयाँ मिति घोषणा गर्छौँ,’ चापागाईंले भनिन्, ‘नयाँ मिति तय गर्दा सुरक्षालाई प्राथमिकता दिइनेछ ।’ लिगमा सहभागी ६ टोलीले समान तीन खेल खेलेका छन् । नियमअनुसार सहभागीले एकआपसमा पाँच खेल खेल्नुपर्नेछ । अंकतालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उपविजेता ललितपुर क्विन्स र साबिक विजेता कर्णाली यसबिसले समान ९ अंक बटुलेका छन् ।