
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायतका नेताहरूविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई लिएर ‘प्रतिरोध’ले आपत्ति जनाएको छ।
मंगलबार अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डितले विज्ञप्ति जारी गर्दै सरकार राजनीतिक रूपमा उठ्ने फरक मतप्रति असहिष्णु रहेको साथै राष्ट्रघातविरुद्ध आवाज उठाउनेलाई तर्साउनका लागि पक्राउ पुर्जी जारी गरिएको बताएका छन्।
‘नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको यस घटनाले अहिलेको संविधानले व्यवस्था गरेको भनिएको राजनीतिक स्वतन्त्रता तथा सरकारको देखाउने शान्ति, सुव्यवस्था, कानुनी राज्य र विधिको शासनप्रतिको नक्कली प्रतिबद्धतालाई लज्जास्पद ढंगले उजागर गरेको छ। आजको विकृत संसदीय राजनीतिक व्यवस्थाको विकल्पमा संगठित शक्तिहरूप्रति सरकारले देखाउँदै आएको यस्तो दमनकारी रवैयाको हामी कडा भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले राजनीतिक रूपमा भिन्न मत राख्नेदेखि लिएर राष्ट्रघाती एवं जनविरोधी गतिविधिविरुद्ध उठ्ने आवाजहरूप्रति वर्तमान राज्य र सरकार कति असहिष्णु छ भन्ने कुरा पनि सँगसँगै पुष्टि गर्दछ।’
हातहतियार तथा खरखजना मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै ललितपुर जिल्ला अदालतले नेकपाका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रतिरोधले विरोध जनाएको हो।