१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियमको मूल्य घटेर आयो तर, नेपाली बजारमा यथावत्

पछिल्लो १६ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटेर आएको छ, तर निगमले महँगोमा बेचिरहेको छ

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२१:oo

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो १६ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाएको छ । तर, आयल निगमले अझै घाटा पूर्ति नभएको तथ्यांक देखाउँदै नेपाली बजारमा मूल्य 
घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेका कारण आइओसीले नेपाललाई पेट्रोलियमको मूल्य घटाएर पठाएको हो । स्रोतका अनुसार १ साउनमा पेट्रोल १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ प्रतिलिटर घटेर आएको थियो । त्यस्तै, सोमबार निगमलाई पठाएको नयाँ खरिददरमा पनि पेट्रोल १६.८० रुपैयाँ र डिजेल १२.४५ रुपैयाँ प्रतिलिटर घटेर आएको छ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७७ रुपैयाँ घटेको छ । नयाँ खरिददरअनुसार पेट्रोलियम बिक्री गर्दा निगमलाई आगामी १५ दिनमा ६४ करोड घाटा हुने प्रक्षेपण गरिएको छ । 

नयाँ खरिददर प्राप्त हुनुअघिसम्म निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ प्रतिलिटर तथा ग्यासमा पाँच सय ८२ रुपैयाँ प्रतिसिलिन्डर घाटा थियो । सोमबार नयाँ मूल्य आएपछि पनि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर पाँच सयभन्दा बढी घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँभन्दा बढी नाफा छ ।मुलुक भित्रिने पेट्रोलियममध्ये सबैभन्दा धेरै डिजेलको हिस्सा ५९ प्रतिशत छ । त्यसैले डिजेलमा घाटा हुनासाथ निगमको समग्र वासलातमा असर पर्दै आएको छ । पेट्रोलको २१ प्रतिशत र ग्यासको १७ प्रतिशत हिस्सा रहेको छ ।

 खरिदको तुलनामा नेपाली बजारमा मूल्यवृद्धिदर भने कम
आयल निगम पुस ०७७ देखि निरन्तर घाटामा छ । निगमले १७ पुस ०७७ मा पेट्रोल ४७.५३ रुपैयाँ र डिजेल ४९ रुपैयाँ प्रतिलिटरमा खरिद गरेको थियो । सोमबार नयाँ खरिद पाउँदा पेट्रोल एक सय रुपैयाँ र डिजेल एक सय २४ रुपैयाँ प्रतिलिटर आसपास खरिददर हुन पुगेको छ । आइओसीले पठाएको यो खरिददर पेट्रोलमा एक सय ११ प्रतिशत र डिजेलमा एक सय ५४ प्रतिशतको वृद्धिदर हो ।

तर, निगमले भने खरिददरमा भएको वृद्धिअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नसकेको जनाएको छ । निगमले १७ पुस ०७७ मा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल ९३ रुपैयाँ प्रतिलिटर बिक्री मूल्य तोकेको थियो । अहिले बजारमा पेट्रोल एक सय ८१ रुपैयाँ र डिजेल एक सय ७२ रुपैयाँ निर्धारण गरिएको छ । यो भनेको पेट्रोलमा ६५ प्रतिशत र डिजेलमा ८५ प्रतिशतको वृद्धिदर हो । निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले निरन्तर नोक्सानी खेपेर मूल्य निर्धारण भइरहेको बताए । ‘डेढ वर्षयता हामीले निरन्तर नोक्सान खेपिरहेका छौँ । यो अवधिमा कुनै दिन नाफा भएको छैन,’ उनले भने ।

 ३१ अर्ब सञ्चित नोक्सानीमा
आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ नोक्सानी भएको थियो । ‘अघिल्ला वर्षहरूको नाफाबाट मौज्दात रहेको १९ अर्ब रुपैयाँ गत आवको घाटा पूर्ति गर्नमै खर्च भयो,’ नायब प्रबन्ध निर्देशक साहले भने, ‘यो हिसाबले गत आवमा निगम ३१ अर्ब सञ्चित नोक्सानीमा पुगेको छ ।’ उनका अनुसार गत आवमा पेट्रोलियम पदार्थ खरिद गरेबापत तीन खर्ब १० अर्ब १८ करोड रुपैयाँ आइओसीलाई भुक्तानी दिइएको छ । सबैभन्दा धेरै डिजेल खरिदमा एक खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएको छ । पेट्रोलमा ६६ अर्ब ५९ करोड, मट्टीतेलमा एक अर्ब ५१ करोड, हवाई इन्धनमा १४ अर्ब १६ करोड र ग्यासमा ६१ अर्ब ६० करोड रुपैयाँ भुक्तानी भएको छ ।

आयल निगम अझै घाटामा छ
 विनीतमणि उपाध्याय, प्रवक्ता, आयल निगम

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार नयाँ खरिददर पठाएको छ । अलि ढिला गरी नयाँ खरिददर प्राप्त भएकाले हामीले पूर्ण हिसाबकिताब गर्न पाएका छैनौँ, तर मूल्य केही घटेर आएको छ । अहिले मूल्य घटेर आए पनि विगतमा बढेर आएको मूल्यअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नपाउँदाको घाटा पूर्ति हुन सकेको छैन । विगतमा चर्को घाटा खेपेर मूल्य निर्धारण गर्दै आएकाले अहिलेको नयाँ खरिददरले पनि निगमलाई नाफामा लैजान सकेको छैन । हामीले गरेको मोटामोटी हिसाबअनुसार नयाँ खरिददरपछि अहिलेकै बिक्री मूल्यमा इन्धन बिक्री गर्दा पनि ६४ करोड रुपैयाँ पाक्षिक नोक्सानी हुने देखिएको छ । त्यसअघिको अर्बौँको सञ्चित घाटाको त कुरै नगरौँ ।

 

ad
ad