१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १६ सोमबार ११:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयर हर्क साम्पाङविरुद्ध आक्रोशित बराह सहकारीका पीडितद्वारा कार्यकक्षमा तोडफोड

 मेयरले मलाई सोधेर पैसा राख्न दिएको हो ? भनेपछि पीडित आक्रोशित

Read Time : > 2 मिनेट
२०७९ श्रावण १६ सोमबार ११:०८:००

बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरू धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् ।   छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरूले आइतबार मेयरविरुद्ध नाराबाजी गरेका थिए। उनको कार्यकक्षको सिसासमेत फुटाइदिएका छन् ।  वार्तामा बसेका पीडितहरूको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिएपछि आक्रोशित पीडितको समूह मेयरको कार्यकक्षमा पुगेकाे थियाे ।  

पीडितहरूले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन नगरेपछि साँझ ७ बजे सोमबार ११ बजे उपमहानगर घेराउ गर्ने उद्घोष गरेर पीडितहरू घर फर्केका थिए । थप अप्रिय घटना नहोस् भनेर  जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ पनि घटनास्थल पुगेका थिए । 

यस विषयमा मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरूले काम गर्न नदिने गरी घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको प्रतिक्रिया दिएका छन् ।  उनले घटनालगत्तै फेसबुकमा विभिन्न समयमा घटनाबारे प्रतिक्रिया दिएका छन् ।  ‘आफूखुसी सहकारीमा नियमविपरीत पैसा राखेर नगर सरकारलाई हेप्ने, अधिकृतस्तरका कर्मचारीलाई दैनिक हप्काउँदै तोडफोड गर्नेलाई पख्’ भनेर उनले स्टाटस लेखेका छन् । उनले हर्क साम्पाङ ए रिभोलुसन पेजबाट आइतबारेको घटनाको भिडियोसमेत पोस्ट गर्दै पीडितको पक्षमा उभिँदा, छानबिन प्रक्रिया अगाडि बढाउँदै सबै प्रक्रिया बिथोल्ने र मेरो कार्यालय तोडफोड गर्नेलाई के भन्नुहुन्छ ? अब पीडितले न्याय पाउलान् त ? भनेर प्रश्न गरेका छन् ।  

उनले सोमबार बिहान ७ः२५ मा लाइभमा आएर पीडितहरूलाई उक्साएर नगरपालिका घेराउ गर्ने, तोडफोड गर्ने काम निन्दनीय भएको बताएका छन् । उनले उक्त घटना राजनीतिक षड्यन्त्र भएको बताएका छन् । उनले आन्दोलनलाई उक्साउने, तोडफोड गर्ने समूह कुनै न कुनै दलका कार्यकर्ता भएको आरोपसमेत लगाए । उनले फेसबुकमा बराहपीडितलाई उचालेर तोडफाेडको अगुवाइ गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनताको करोडौँ सलाम भनेर व्यंग्यायात्मक अभिव्यक्ति पनि दिएका छन् ।  

उनले पीडितहरूलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजिस्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहँदा घेराउ, नाराबाजी र गालीगलौज भएको बताएका छन् ।  

बराह ग्रुपका सबै कम्पनी तथा फर्मको बैंक खाता रोक्का गर्ने निर्णय 
बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । 

कार्यदलको बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्नका लागि सोमबार पत्राचार गर्ने गरी निर्णय भएको उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । बराह कृषि तथा पशुपालन प्रालि, बराह फेमेली किचन धरान, बराह मल्टिप्रपोज कम्पनी प्रालि भेडेटार, बराहको नाममा रहेको बैंकखातालगायतको स्थिर सम्पत्ति, बराहको लगानी भएको हिसाबमा देखिएको सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई धरान उपमहानगरपालिकाले पत्राचार गर्ने निर्णय भएको हो । 

कम्पनी रजिस्टारको प्रतिनिधि, संघीय सहकारीको प्रतिनिधि र धरान उपमहानगरपालिकाको प्रतिनिधिसहितको पाँचसदस्यीय कार्यदलले यस्तो निर्णय गरेको हो । सो समितिले धरान उपमहानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६५ बमोजिम बराहको सबै सम्पत्ति रोक्का गर्ने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएकाले सोमबार सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

बराह बचत तथा ऋण सहकारीले सेयर सदस्य बनाएर र गैरसेयर सदस्यबाट करिब आठ अर्ब रकम बचतकर्ताहरूलाई कुनै भुक्तानी नदिएपछि उपमहानगरपालिकालाई प्रक्रियागत  रूपमा समस्या समाधानका लागि अघि बढाउन पीडित संघर्ष समिति बनाएर निवेदन दिएको संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बताएका छन् । तर, उपमहानगरले ढिला–सुस्ती गरिरहेको अवस्थामा आइतबार आक्रोशित पीडितले उपमहानगरपालिका घेराउ गरेको उनले बताए । मेयरज्यूको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले पीडितहरूलाई आक्रोशित बनाउने काम भएको उनको भनाइ छ ।