१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डेभिड जोलिसर्भ
२०७९ श्रावण १६ सोमबार १०:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी लोकतन्त्र बचाउन तेस्रो पार्टी आवश्यक

Read Time : > 2 मिनेट
डेभिड जोलिसर्भ
२०७९ श्रावण १६ सोमबार १०:२८:००

अमेरिकाका प्रमुख दुई दल देशमा बढ्दै गएको राजनीतिक ध्रुवीकरण र अतिवादको समाधान गर्न असफल भएका छन् । देशको राजनीतिक ध्रुवीकरणले हिंसा निम्त्याइरहेको छ । विगत दुई वर्षको अवधिमा कंग्रेस सदस्य, गभर्नर, सर्वोच्च अदालतका न्यायाधीश र देशका उपराष्ट्रपतिविरुद्ध समेत ज्यान मार्ने धम्की आएका छन् । कुनै कदम नचाल्ने हो भने संयुक्तराज्य अमेरिका यही शताब्दीमा स्थापनाको ३०० वर्ष पुग्दा अर्कै भइसकेको हुनेछ । त्यसैले, हामी डेमोक्रेट, रिपब्लिकन र स्वतन्त्र राजनीतिज्ञ एक ठाउँमा आएर नयाँ र एकता पार्टी निर्माण गर्न लागेका छौँ । यो विभाजन मन नपराउने र अतिवादलाई अस्वीकार गर्ने बहुसंख्यक अमेरिकीको पार्टी हुनेछ । 

अमेरिकामा लोकतन्त्र असफल हुँदै जाँदा देखिने लक्षण देखिन थालेका छन् । यसको एक उदाहरण सरकारप्रतिको विश्वास घट्दै गएको छ भने डोनाल्ड ट्रम्पजस्ता अतिवादी नेताप्रति विश्वास बढ्दै गएको छ । मानिसहरूविरोधी राजनीतिक शक्तिविरुद्ध हतियार उठाउन तयार हुने मनस्थितिमा पुगेका छन् । यहीकारण, अहिले अमेरिकामा ‘गृहयुद्ध’को सम्भावनाबारे चर्चा सुरु हुन थालेको छ । 

यस्तो संकटको समाधान कसरी गर्ने ? : पहिलो त दुई प्रमुख दलद्वारा विभाजित प्रणालीलाई हस्तक्षेप गरेर राजनीतिमा छनोट र प्रतिस्पर्धाका विकल्प बढाउनुपर्छ । अमेरिकालाई अहिले नयाँ राजनीतिक पार्टी अत्यन्त जरुरी भइसकेको छ । यस्तो पार्टी, जसले मझधार र सामान्यजनको भावना प्रतिनिधित्व गरोस् । तर, आजका म्याद गुज्रिइसकेका दलहरू सानो समुदायलाई खुसी बनाउन व्यस्त छन् । परिणामस्वरूप अधिकांश अमेरिकीले आफूलाई प्रतिनिधित्व गर्ने दलको अभाव महसुस गर्न थालेका छन् । 

अमेरिकी इतिहासमा अधिकांश तेस्रो दल असफल बनेका छन् । त्यसको कारण छ । नयाँ दल या त वैचारिक रूपमा धेरै साँघुरा थिए या तिनले आममतदातालाई तान्न सकेनन् । तर, आज मतदाताहरू आफैँले नयाँ पार्टी चाहिरहेका छन् । आधुनिक इतिहासमा पहिलोपटक, झन्डै आधा अमेरिकीले आफूलाई ‘स्वतन्त्र’ ठान्छन् र दुईतिहाइले नयाँ पार्टी आवश्यक रहेको र त्यसलाई भोट दिने बताइरहेका छन् । डेमोक्रेट र रिपब्लिकनलाई मत दिने जनताले नै विकल्प खोजिरहेका छन् ।

राजनीतिज्ञ र पूर्वनिर्वाचित अधिकारीका रूपमा हामी तेस्रो मार्गबारे कुरा गर्दागर्दा थाकिसकेका थियौँ । त्यसैले, यो महिना हामीले अमेरिकी राजनीतिमा वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थी विचार प्रतिनिधित्व गर्ने तीन राष्ट्रिय संगठनलाई एकीकरण गरेर ‘फरवार्ड’ नामको नयाँ राजनीतिक पार्टी सार्वजनिक गरेका छौँ । खासमा अमेरिकाका दुई दल दुई विषम धारतर्फ गएकाले यसै पनि मध्यमार्गमा ठूलो रिक्तता निर्माण भएको छ । नयाँ पार्टीले यही रिक्त बनेको बीचको ठाउँ लिनेछ । 

यही स्थानमा रहेर नयाँ दलले अमेरिकाले सामना गर्ने हरेक मुद्दामा अधिकांश अमेरिकीहरू सहमत हुन सक्ने व्यावहारिक समाधान निकाल्नेछ । अमेरिकाका प्रमुख विवादास्पद मुद्दाका रूपमा रहेका बन्दुकको विषयमा सबै नागरिकबाट बन्दुक जफत गर्नुपर्ने उग्रवामपन्थी मागसँग बहुसंख्यक अमेरिकी सहमत छैनन् । सबै बन्दुकसम्बन्धी कानुन खारेज गर्नुपर्ने उग्रदक्षिणपन्थी अडानलाई लिएर पनि उनीहरू चिन्तित छन् ।

इतिहासमा पहिलोपटक, झन्डै आधा अमेरिकी आफूलाई ‘स्वतन्त्र’ ठान्छन्, दुईतिहाइले नयाँ पार्टी आवश्यक रहेको र त्यसलाई भोट दिने बताइरहेका छन् । डेमोक्रेट र रिपब्लिकनलाई मत दिने जनता नै विकल्प खोज्दै छन् ।

जलवायु परिवर्तनका सवालमा अधिकांश अमेरिकी न अर्थतन्त्र र जीवनशैलीलाई पूर्ण रूपमा उलटपुलट बनाउनुपर्ने उग्रवामपन्थी मार्गसँग सहमत छन् न जलवायु संकट केही होइन भन्ने उग्रदक्षिणपन्थी धारणासँगै सहमत छन् । यस्तै, गर्भपतन सम्बन्धमा दुई पार्टीका अडानसँग पनि अमेरिकीहरू भिन्न मत राख्छन् । नयाँ पार्टी सफल हुने हो भने अहिलेको मतदातालाई थप राजनीतिक विकल्प दिनबाट रोक्ने बाधाहरूलाई तोड्नैपर्छ । हामी श्रेणी छनोट मतदान र खुला प्राइमरीमा बदलावको पक्षमा छौँ । निर्वाचन क्षेत्र सत्तारूढ दलको हितमा हुने गरी बदल्न मिल्ने ‘गेरी म्यान्डरिङ’ अभ्यासको अन्त्य गर्नुपर्ने माग राख्छौँ । हामी मतदान प्रक्रिया एकदम सजिलो तथा सुरक्षित बनाउनुपर्ने माग राख्छौँ । उल्लिखित प्रणालीगत परिवर्तनविना अमेरिकी जनताले अहिलेकै बिग्रेको प्रणाली र न्यून विकल्प सामना गुर्नपर्नेछ । संयुक्तराज्य अमेरिकामा पाँच लाखभन्दा बढी पदका लागि निर्वाचन गरिन्छ ।

तर, भर्खरै सम्पन्न एक अध्ययनबाट सन् २०२० को चुनावमा ७० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार निर्विरोध भएको पाइयो । आउने नोभेम्बरमा अमेरिकी कंग्रेसका लागि हुने चुनावमा अधिकांश पदमा कसले जित्ने भन्ने पहिले नै पक्काजस्तै हुन्छ, सीमित पदमा मात्र प्रतिस्पर्धा हुन्छ । अमेरिकाका दुई ठूला दलले राजनीतिक छनोटको विकल्पलाई संकुचित गरिदिएका छन् । यसको दुष्परिणाम अमेरिकाले भोगिरहेको छ । 

त्यसैले, हामीले देशको पहिलो ‘खुला’ पार्टी प्रस्ताव गरेका छौँ । यसमा सबै राजनीतिक रंगका अमेरिकीहरू ( डेमोक्रेट, रिपब्लिकन वा स्वतन्त्र)ले तिनको राजनीतिक आबद्धता नत्यागी हामीसँग आएर घरबारविहीन बनेका बहुसंख्यकका लागि आशावादी र समावेशी घर कसरी बनाउने भन्ने बहसमा भाग लिइदिनुस् । नयाँ दल गठन गर्न एक भएका हाम्रा संस्थाहरू यस आन्दोलनको प्रस्थान बिन्दु मात्र हुन् । हामी अर्को वर्षको गर्मीमा राष्ट्रिय सम्मेलनबाट ठोस रूपमा अगाडि आउने योजना बनाइरहेका छौँ । त्यसपछि हामी सन् २०२४ र पछिपछिका चुनावमा हाम्रा उम्मेदवारलाई उतार्न सक्ने गरी हरेक राज्यका मतपत्रमा पहुँच खोज्नेछौँ । हामी पूर्वअमेरिकी विधायक, गभर्नर, उद्यमी, शीर्ष राजनीतिक व्यवस्थापक र सामुदायिक नेताहरूलाई सक्रिय रूपमा हाम्रो दलमा जोड्दै छौँ । 

अमेरिकाका संस्थापकहरूले पहिले नै दुईदलीय प्रणालीको खतराबारे चेतावनी दिएका थिए । आज हामी यसको गम्भीर परिणामसँग जुधिरहेका छौँ । अमेरिकीलाई थप विकल्प दिँदा यसले एकातर्फ राजनीतिमा शिष्टता फर्काउँछ भने यसले हाम्रो जीवन, जीविकोपार्जन र जीवनशैलीमा समेत आमूल परिवर्तन ल्याउनेछ । 
द वासिंगटन पोस्टबाट