निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
२०७९ श्रावण १६ सोमबार ०८:५०:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रानाथारू समुदायमा एक महिनाअघि नै तिज

Read Time : > 1 मिनेट
२०७९ श्रावण १६ सोमबार ०८:५०:००

धनगढी उपमहानगर– ११, बेलास्थित रानागाउँ आइतबार दिनभर उत्सवमय बन्यो । परम्परागत पोसाकमा सजिएका रानाथारू महिला र युवती गाउँको एउटा घरमा जम्मा भएका थिए । घरको आँगनमा गाडिएका खाँवामा डोरी र काठको फल्याक बाँधेर पिङ (सावनको डोला) राखिएको थियो । सामूहिक रूपमा पिङ खेल्दै आनन्द लिइरहेका महिलाहरू परम्परागत ‘सावन गीत’ गाउँदै थिए । कैलाली र कञ्चनपुरका रानाथारू बस्तीमा सावनको डोला खेल्दै आइतबार तिज मनाइएको छ । १ साउनमै रानाथारू बस्तीमा पिङ राखिएको थियो, जसलाई डोला भनिन्छ । साउनको पहिलो दिन डोला राखेसँगै रानाथारूको ‘सावनका डोला’ पर्व सुरु हुन्छ । साउन शुक्ल तृतीयाको दिन त्यही पिङ खेल्दै महिलाले तिज पर्व मनाउने चलन छ ।

स्थानीय प्रतिभा रानाका अनुसार तिजका अवसरमा दिनभर पिङ खेल्दै रमाइलो गर्ने गरिन्छ भने साँझ सामूहिक रूपमा नदीखोलामा गएर पूजाआजा र व्रत समापन गर्छन् । ‘अरू समुदाय र हाम्रो समुदायले मनाउने तिजमा फरक छ ।’ प्रतिभाले भने, ‘यो पर्व मनाउने हाम्रो आफ्नै मौलिक शैली छ । तिज मनाउनुको कारण पनि फरक छ ।’ नेपाली पात्रोअनुसार तिज आउन अझै एक महिना बाँकी छ । रानाथारू समुदायका महिलो भने साउनमा तिज पर्व मनाइसकेका छन् । साउनको पहिलो दिनमै गाउँमा डोला राखेर हरेक रात रमाइलो गर्दै पिङ खेल्ने र तिज मनाउने चलन छ । 

 यसरी बस्छन् व्रत
तिजको दिनभर महिलाहरू निराहार व्रत बस्छन् । सक्नेले पानीसमेत पिउँदैनन् । पिङ राखेको ठाउँमा जम्मा भएर पिङ खेल्दै परम्परागत सावनको गीत गाएर रमाइलो गर्छन् । बेलुकी नदी–खोलाको किनारमा गई दाजुभाइको दीर्घायु र सुखशान्तिको कामनासहित पूजाआजा गरी व्रत समापन गर्छन् । चिचिरा जातको घाँसमा विवाहिताले सात र अविवाहितले पाँचवटा गाँठा पार्छन्, जसलाई चाँदीको गहनाले काटेर बत्ती र प्रसादका रूपमा चढाएका खानाका परिकारसँगै नदीमा बगाइन्छ र पूजाआजासँगै व्रत समापन हुन्छ ।

नदीमा पूजाआजा सकिएपछि महिलाहरू घर आएर खानाका मीठामीठा परिकार खाने गर्छन् । पकवानहरू आफन्तलाई बाँड्ने र घरमा सबैसँगै बसेर खाने चलन छ । तिजमा पुरी, पाप्रा, गुलगुला, पपडिया, सिभीलगायत मौलिक परिकारहरू पकाउने गरिन्छ । तिजका दिन महिलाहरू परम्परागत पहिरन र आभूषणमा सजिन्छन् । उनीहरूले अंगिया, घघरिया, पैडा, नथबेसर, कठुल्ला, कैधनी, घुँघट, साम, उनिया, गुर्खालगायत घाँटीदेखि खुट्टासम्म आभूषण लगाउँछन् । 

आदिवासीमा सूचीकृत रानाथारू समुदायको बसोवास कैलाली र कञ्चनपुरमा मात्र रहेको छ । रानाथारूको तिज पर्वको आइतबार धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास र बेलौरी नगरपालिका, लालझाँडी गाउँपालिकालगायत स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए ।

 दाजुभाइकोे दीर्घायुका लागि व्रत
हिन्दू धर्म परम्पराअनुसार तिजमा व्रत बस्दा पतिको दीर्घायु र सुयोग्य वर प्राप्त हुन्छ । तर, रानाथारू समुदायमा भने फरक चलन छ । रानाथारू महिलाहरू आफ्ना दाजुभाइको दीर्घायु र सुख–शान्तिका लागि तिजको व्रत बस्छन् । तिजमा व्रत बस्दा दाजुभाइको आयु बढ्ने विश्वास रहेको प्रह्लाद रानाले बताए ।साउने संक्रान्तिका दिन दाजुभाइले दिदीबहिनीहरूका लागि डोला राख्ने गर्छन् । रानाका अनुसार दाजुभाइहरू विवाहिता दिदीबहिनीलाई बोलाउन जाने गर्छन् । ‘दिदीबहिनीलाई ल्याउँछौँ । उनीहरूका लागि डोला राखिदिन्छौँ । दिदीबहिनीहरू हाम्रो दीर्घायुका लागि व्रत बस्छन् ।’