मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ श्रावण १६ सोमबार ०८:१९:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पटकथामा छैन लगानी

Read Time : > 2 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ श्रावण १६ सोमबार ०८:१९:००

चलचित्र ‘एक्स ९’का लागि अभिनेता अनमोल केसीले ७५ लाख पारिश्रमिक लिएको हल्ला अहिले फिल्मीवृत्तमा छ । यही फिल्मबाट मोडल नीति शाहले अभिनयमा डेब्यु गर्दै छिन्, उनले पनि १४ लाख रुपैयाँ लिएको चर्चा छ । यद्यपि, यी दुवैथरी हल्लाको आधिकारिक पुष्टि भइसकेको छैन । 

कलाकारको पारिश्रमिकलाई लिएर बजार हल्ला र अड्कल चलिरहन्छन् । नेपालमा महँगो रकम लिने कलाकारको सूचीमा अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का, विपिन कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मालगायत पर्छन् । तर, यी महँगा कलाकारले खेल्ने फिल्म भने खासै चलेको देखिन्न । सिनेमा नचल्नुका धेरै कारण होलान्, मुख्य कारण फितलो कथा नै हो ।

 सिनेमाको मेरुदण्ड मानिने पटकथा लेखनमा पर्याप्त लगानी गर्न निर्माता–निर्देशकले आनाकानी गर्ने पटकथाकारहरूको अनुभव छ ।,‘कलाकारहरूलाई भनेजति पारिश्रमिक दिन तयार हुने निर्माता लेखकको हकमा भने मुट्ठी कस्छन् । निर्देशकले पनि यसमा ध्यान दिएको देखिन्न,’ पटकथाकार सामीप्यराज तिमल्सिनाले भने ।

 लेखक अभिमन्यु निरवी पनि फिल्ममेकरहरूले पटकथामा ध्यान नदिएको बताउँछन् । उनी भन्छन्, ‘राम्रो पटकथा लेख्ने पटकथाकार किन टिक्न सकिरहेका छैनन् ? नयाँ पटकथाकार आउने र पुराना पटकथाकार जाने क्रम किन बढिरहेको छ ? नेपाली सिनेमाको पटकथा किन कमजोर भयो ?’ यी विषयमा अझै हाम्रा निर्माताहरूको ध्यान गइसकेको छैन । निर्माताहरू राम्रो कथा नभएर स्टार कलाकारको पछाडि दौडिएको उनको अनुभव छ । ‘पटकथा तयार हुँदासम्म ५० प्रतिशत फिल्म बनिसकेको हुन्छ भन्ने विषय निर्माताले महसुस गरेनन् । बरु पटकथा जसले लेखे पनि भइहाल्छ, एउटा ‘स्टारकास्ट’ लिएर लेखेपछि फिल्म बनिहाल्छ भन्ने मानसिकताबाट देखियो,’ उनले भने । 

एउटा पटकथाको पारिश्रामिक पाँच लाखमाथि लिने गरेको उनले बताए । ‘मेरो पारिश्रमिक पहिलेजति नै छ । कोरोना महामारीपछि महँगी बढे पनि पटकथाको पारिश्रमिक मैले बढाएको छैन । मैले पाँचदेखि सात लाखसम्म लिने गरेको छु,’ उनले भने । 

निर्माताहरूले फिल्म क्षेत्रलाई नबुझेका कारण यस्ता समस्या देखिने गरेको पटकथाकार प्रदीप भारद्वाजको अनुभव छ । ‘फिल्म बुझेर आउने निर्माताहरू एकदमै कम छन् । कतिपय पुराना निर्माता आजभन्दा २० वर्षअघिको ढाँचाले काम गराउन खोज्छन् । पहिलेकै पारिश्रमिक दिएर पटकथा लेखाउने मानसिकता गएको छैन,’ उनले भने, ‘यस्ता पनि निर्देशक हुन्छन् जो अरू कसैको प्रभावमा परेर लेखकलाई थाहै नदिई पटकथा परिवर्तन गरेर सिनेमा खिच्छन् । निर्देशकले आफूखुसी सिनेमा बनाउँदा पटकथा कमजोर हुने नै भयो ।’ 

फिल्मको कमान्डर मानिने निर्देशक नै जिम्मेवार नभएकाले यस्तो परिस्थिति निम्तिएको लेखकहरूको बुझाइ छ । ‘लगानीकर्ता भेटेपछि पैसा उम्केला भन्ने डरले निर्माता–निर्देशकलाई एक सातामै सुटिङमा जानु हतारो हुन्छ, अनि लेखकलाई दबाब दिन्छन् । एक सातामा लेखकले कस्तो लेख्छ ? भोलि कस्तो सिनेमा बनेर आउँछ ?’ निरवीले भने ।  एउटा राम्रो पटकथा लेख्न कम्तीमा ६ महिना लाग्ने निरवीले बताए । ‘त्यसवेलासम्म चल्ने पारिश्रमिक आवश्यक पर्छ । करोड–करोडको गफ चुट्ने निर्माता पटकथामा लगानी गर्न लोभ गर्छन् । एक लाख रुपैयाँ निकाल्न दाँतबाट पसिना आउँछ । कसरी राम्रो पटकथा लेखिन्छ ? यो वर्षाैंँदेखिको समस्या हो’, उनले भने । 

 अनि कसरी राम्रो सिनेमा बन्न सक्छ ?
सामीप्यराज तिमल्सिना ,पत्रकार/पटकथाकार 

मैले एउटा सिनेमाको कुल बजेटको पाँचदेखि १० प्रतिशतसम्म रकम लिने गरेको छु । यो पटकथाकारको लागि सन्तुष्ट हुने पारिश्रमिक होइन । कथामा फिल्मको संसार निर्माण गर्नुपर्छ, त्यसका लागि समय लाग्छ । त्यो समयसम्म लेखक पनि बाँच्नुपर्छ । निर्माताहरू पारिश्रमिक दिन मान्दैनन् लेखक कसरी बाँच्न सक्छ रु केहीअघिसम्म १० वटा हिन्दी सिनेमाको कथा र चरित्र लिने चलन थियो । अहिले त्यस अवस्थाबाट हामी केही उठेका छौँ । तर, सिर्जनात्मक वातावरण बनिसकेको छैन । विदेशतिर निर्माता–निर्देशकले पटकथा बनाउन लेखकलाई सहयोग गर्ने गर्छन्, हाम्रोमा त्यस्तो अपेक्षा गर्न सकिने अवस्था छैन । 

फिल्म मेकिङको सबैभन्दा गाह्रो विधा पटकथालाई नेपालका निर्माता र निर्देशकले जसरी बुझ्नुपर्ने हो, त्यसरी अझै बुझिसकेका छैनन् । सिनेमा लेखन सिनेमाटोग्राफरजस्तै प्राविधिक कुरा हो, जुन निश्चित संरचना र शैलीमा हुनुपर्छ । कथामा पात्रहरूको जीवन पनि आउनुपर्छ, मौलिक हुनुपर्छ । त्यसका लागि पर्याप्त लगानी र वातावरण हुनुपर्छ । हाम्रोमा कसले राम्रो खिच्छ रु कसले राम्रो अभिनय गर्छ रु को बजारमा चल्छ रु भनेर धेरै सोधीखोजी हुन्छ । तर, फिल्मको मेरुदण्ड मानिने पटकथा लेखनमा को अब्बल छ भन्नेतर्फ कमैको ध्यान जान्छ ।