मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
परराष्ट्रमन्त्री डा. नारायण खड्का । तस्बिर : नयाँ पत्रिका फाइल
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १४:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीमाथि सांसदका प्रश्नैप्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १४:५९:००

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कामाथि प्रश्नैप्रश्न वर्षाएका छन् । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय गरिसके पनि अमेरिकालाई पत्र नपठाएको भन्दै सांसदले आवाज उठाएपछि शुक्रबारको बैठकमा मन्त्री खड्का जवाफ दिन उपस्थित भएका थिए । 

उनले ६ असारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले ९ साउनमा अमेरिकालाई पत्र पठाई एसपिपीमा सहभागी नहुने स्पष्ट पारिसकेको जवाफ दिए । तर, प्रतिपक्षी दलका सांसदहरू त्यसमा सन्तुष्ट हुन सकेनन् । उनीहरूले सरकारले अमेरिकी सरकारलाई पठाएको पत्र सार्वजनिक गर्न माग गरे । 

एमालेका भीम रावल, शिवमाया तुम्बाहाङ्फेलगायतका १९ सांसदले एकपछि अर्को गरी मन्त्री खड्कासँग पत्र सार्वजनिक गर्न माग गरे । त्यसपछि मन्त्री खड्काले मन्त्रिपरिषद्ले गरेको निर्णय र विभागीय मन्त्री स्वयंले सदनको रोस्ट्रममा उभिएर बोलेको कुरालाई विश्वास गर्न सांसदहरूलाई अनुरोध गरे ।
विपक्षी सांसदहरू सन्तुष्ट भएनन् । ६ असारमै भएको भनिएको निर्णयमाथि पटकपटक सदनमा कुरा उठ्दा पनि सरकारले किन औपचारिक जानकारी गराएन भन्दै सांसदहरूले प्रश्न गरिरहे । जवाफमा मन्त्री खड्काले ९ साउनमा कूटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई एसपिपीमा नेपाल सहभागी नहुने स्पष्ट गर्दै पत्र पठाएको फेरि दोहोर्‍याए । 

सांसदहरूले इन्डो–प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरूको भेलामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहभागी हुन गएको विषयमा प्रश्न गरेका थिए । त्यसको पनि जवाफ दिँदै मन्त्री खड्काले सन् २०१७ भन्दा पहिले एसिया प्यासिफिक हुँदादेखि नै नेपाली सेनाका प्रमुखले त्यस्तो सम्मेलनमा भाग लिँदै आएको भन्दै अन्यथा नलिन आग्रह गरे । 

त्यस्तै, सांसदहरूले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलगायत विभिन्न देशका अधिकारीबाट पछिल्लो समय नेपालमा भइरहेका भ्रमणमाथि प्रश्न उठाएपछि मन्त्री खड्काले भने, ‘विभिन्न देशका अधिकारीहरूबाट भइरहेका भ्रमण द्विपक्षीय हितमै रहेका छन् । कुनै प्रकारको सैन्य वा सामरिक गठबन्धन सहभागी हुँदैन । नेपाल असंलग्न परराष्ट्रनीति, पञ्चशीलको सिद्धान्त र संविधानले निर्दिष्ट गरेका निर्देशनविपरीत गतिविधि सरकारले गर्दैन । म यो सदनलाई विश्वास दिलाउन चाहन्छु ।’