मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २९ आइतबार o५:५८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालिकाको इमानदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार o५:५८:oo

एकपटक एउटा देशमा अनिकाल पर्‍यो । मानिसहरू भोकले मर्न थाले । सहरमा एक धनाढ्य नि:सन्तान व्यापारी बस्थे । उनी निकै दयालु थिए । उनले सहरका अनिकाल प्रभावित ससाना बालबालिकालाई साँझ–बिहान एउटा–एउटा रोटी दिने घोषणा गरे । घोषणा सुनेपछि हरेक साँझ–बिहान उनको बगैँचामा बालबालिकाको भिड लाग्न थाल्यो । ती सबैलाई एक–एकवटा रोटी बाँड्न थालियो । 

सबै रोटी समान आकारका थिएनन् । कुनै ठुला थिए भने कुनै साना । त्यसैले सबैजसो बालबालिका ठुलो रोटी हात पार्न तँछाडमछाड गरिरहेका थिए । तर, एक बालिका भने चुपचाप उनीहरूको तँछाडमछाड हेरिरहेकी थिइन् । सबैले रोटी हात पारिसकेपछि उनी अघि बढिन् । टोकरीमा सबैभन्दा सानो अन्तिम रोटी बचेको थियो । उनले प्रसन्नतापूर्वक रोटी हातमा लिइन् र घर गइन् । 

दोस्रो दिन पुन: रोटी बाँडियो । ती बालिकालाई आज पनि सबैभन्दा सानो रोटी प्राप्त भयो । बालिकाले घर पुगेर जब रोटी टुक्रा पारिन्, त्यसबाट एउटा सुनको सानो सिक्का निस्कियो । उनकी आमाले सो सिक्का तत्काल रोटी बाँड्ने व्यापारीलाई फिर्ता गरेर आउन अह्राइन् । बालिका दौडेर व्यापारीकहाँ पुगिन् । 

उनलाई देखेपछि व्यापारीले उनी त्यसरी हतारिँदै आउनुको कारण सोधे । बालिकाले भनिन्– मैले यहाँबाट लगेको रोटीबाट यो सुनको सिक्का निस्कियो । सायद पिठोमा खसेको थियो होला । हजुरलाई फिर्ता दिन आएकी हुँ । आफ्नो सिक्का लिनुहोस् । उनले सिक्का व्यापारीलाई दिइन् ।

बालिकाको इमानदारी देखेर व्यापारी निकै खुसी भए । उनले बालिकालाई आफ्नी धर्मपुत्री बनाए । र, उनकी आमाका लागि मासिक तलबको व्यवस्थासमेत गरिदिए । ठुली भएपछि तिनै बालिका व्यापारीको सम्पूर्ण सम्पत्तिकी उत्तराधिकारी बनिन् ।