१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Friday, 09 May, 2025
२o७९ श्रावण ११ बुधबार २o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती गाउँपालिकाद्वारा विद्यालय आसपासमा ‘जंकफुड’ बिक्री गर्न रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार २o:५६:oo

दाङको राप्ती गाउँपालिकाले विद्यालय आसपासमा जंकफुड बिक्री गर्न रोक लगाएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले विद्यालयको एक सय मिटर वरपर जंकफुड तथा कोल्ड ड्रिंक्सजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार जंकफुडले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने भएकाले यसलाई निषेध गर्ने  निर्णय गरिएको हो । उनका अनुसार जंकफुडका साटो स्थानीयस्तरमा उत्पादन हुने फलफूल, धान, मकै, गहुँ, अन्डा, तरकारी तथा सागसब्जी, काउली, आलु, केराउ, चना आदिबाट बनेका खाना तथा खाजाको बिक्री वितरणको व्यवस्था मिलाउनसमेत विद्यालयलाई निर्देशन दिइएको छ । त्यस्तै, कोल्ड ड्रिंक्सको साटो दूध, दही, मही, लसी, पनिरलगायत प्रयोगका लागि प्रोत्साहन गर्नसमेत गाउँपालिकाले निर्देशन दिएको छ । 

सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायतले सार्वजनिक कार्यक्रममा प्लास्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंकफुड प्रयोग नगर्न गाउँपालिकाले निर्देशन दिएको छ । अध्यक्ष विष्टले प्लास्टिकजन्य वस्तुको साटो स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्नसमेत निर्देशन दिएको बताए ।

त्यस्तै, विद्यार्थीले गह्रौँ झोला बोक्दा टाउको तथा हड्डीमा समेत नाकरात्मक असर पर्ने भन्दै निजी तथा सामुदायिक विद्यालयलाई गह्राैँ झोला बोक्ने अवस्थाको अन्त्य गर्नसमेत निर्देशन दिएको अध्यक्ष विष्टले बताए । परिवर्तनको सुरुवात स–साना कामबाट गर्नुपर्ने भन्दै बानीब्यहोरालाई सुधार गर्नका लागि यस्तो निर्णय गरिएको उनको भनाइ छ । ‘हामीले सुरुवात स–साना कुराबाटै गर्ने हो,’ उनले भने, ‘यो निर्णय मात्रै कार्यान्वयन भए पनि गाउँपालिकाको पहिचान भिन्नै हुन्छ ।’