१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ११ बुधबार २०:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुर नगरपालिकामा धनगढीका मेयर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार २०:१४:००

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति  र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमलबीच भेटवार्ता भएको छ । भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहाेर मैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा आएका हमाललाई नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे बताएका थिए । 
 
भेटमा प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नगरपालिकाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरंग सेवा सुरु गरिसकेको  बताए । उनले ख्वप अस्पतालबाट जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा गरे ।
 
नगरपालिकाले चार वर्षअघिदेखि कुहिने र नकुहिने फोहाेर अलगअलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहाेरबाट कम्पोस्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्री गर्नसमेत सुरु गरेको बताए ।  विकास निर्माणको सन्दर्भमा भक्तपुर नगरपालिकाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गुणस्तरीय निर्माण गर्दै आइरहेको बताए । मेयर प्रजापतिले युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दैै सञ्चालित सीपमूलक तालिमले नगरपालिकामा रोजगारी सिर्जना गरेको बताए ।  

त्यस्तै, धनगढी उपमहानगर प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै उपमहानगरले वडा क्लिनिकको अवधारणाअनुसार गर्भवती महिलाहरूको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउन्ड, इसिजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रूपमै सुरु गरेको जानकारी गराए । उनले  भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनबारे सिक्ने उद्देश्यले भक्तपुर आएको बताए । जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरूले काम गर्नुपर्ने मेयर हमालको भनाइ थियो । 

उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानपाबाट महेशप्रसाद दाहाल र रूपक जोशीको उपस्थिति रहेको थियो ।

 मेयरद्वयले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको समेत स्थलगत अवलोकन गरेका थिए ।