१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज ।
२o८१ बैशाख २१ शुक्रबार १९:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाँके राष्ट्रिय निकुञ्जमा एक वर्षमा ४० वन्यजन्तु सवारीसाधनको शिकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४३:oo

बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न कारणले ५१ वन्यजन्तुको मृत्यु भएकोमा ४० वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत शेरबहादुर थापाले बताए । 

थापाले पाँचवटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताउँदै कुकुरको आक्रमण र प्राकृतिक कारणले तीन–तीनवटा चित्तलको मृत्यु भएको बताए । सडक दुर्घटनामा १० वटा बाँदर, सात बँदेल, चार रतुवा र तीन चरिबाघको मत्यु भएको जानकारी दिए । ‘सडक दुर्घटनामा परी मृत्यु हुनेमा बाँदरको संख्या बढी छ,’ उनले भने । 

एक वर्षमा १३ चित्तल र १३ अजिंगरको उद्धार
गत आवमा ४३ वन्यजन्तुको उद्धार गरी पुनर्स्थापना गरिएको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए । उनले एक वर्षमा १३ वटा चित्तल र १३ वटा अजिंगरको उद्धार गरिएको बताए । ‘उद्धार गरी पुनर्स्थापना गरिएका अजिंगर सर्पमध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरी निकुञ्ज क्षेत्रभित्र पुनर्स्थापना गरिन्छ ।’

उनले सातवटा अन्य प्रजातिका सर्पको पनि उद्धार गरी निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेतलगायत जातका सर्पको उद्धार गरिएको उनको भनाइ छ ।

चोरी शिकारीमा संलग्न ९ जनाविरुद्ध मुद्दा दायर
गत आवमा चोरी शिकारीमा संलग्न ९ जना पक्राउ परेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार बँदेल तथा चरिबाघको छाला ओसारपसार गरेको आरोपमा दुई–दुईजना र बँदेलको बच्चा ओसारपसार गरेको आरोपमा तीनजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । 
त्यसैगरी, लंगुर र चित्तललाई सवारीसाधनले ठक्कर दिएर मारेको अभियोगमा एक–एकजनाविरुद्ध मुद्दा दायर भएको सूचना अधिकारी थापाले जानकारी दिए ।

राजमार्ग आपसपासका होटेलका कारण टाइमकार्ड असफल
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–शिवखोलासम्म ७२ किलोमिटर बाँके राष्ट्रिय निकुञ्ज पर्दछ। यो राजमार्गमा सवारी चाप बढी भएकाले वन्यजन्तु उच्च जोखिममा छन् । 
निकुञ्ज प्रशासनले सवारीसाधनको गति सीमित गराउन टाइम कार्ड लागू गर्न खोजे पनि असफल भएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सर्वसाधारणको बसोबास सँगै होटेलहरू सञ्चालनमा भएकोले टाइमकार्ड लागू गर्न नसकिएको सहायक संरक्षण अधिकृत थापाले बताए । 

उनले कोहलपुरदेखि पूर्वतर्फको ७२ किलोमिटर सडक आसपास होटेल र पसल सञ्चालनमा भएकोले टाइमकार्ड सफल नभएको बताए । टाइमकार्ड सफल नभएपछि ‘भेइकल ट्रयाकिङ एन्ड रिकग्नाइजेसन सिस्टम (भिटिआरएस)’ जडान गरिएको उनले बताए । ‘गति सीमित गर्न भिटिआरएस जडान गरिएको छ । सवारीसाधनको गति हेर्न समय–समयमा आकस्मिक जाँच र गस्ती गरिन्छ,’ उनले भने, ‘राजमार्ग आसपास होटेल र पसल रहुन्जेल टाइम कार्ड सम्भव देखिँदैन ।’

निकुञ्जबाट मध्यवर्तीमा जान सडक वारपार गर्ने वन्यजन्तु अत्यधिक गतिमा गुडेका सवारीसाधनसँग ठोकिँदा दुर्घटनाा हुने गरेको उनको भनाइ छ । 
 
 

ad
ad