मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ८ आइतबार ०९:०८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखराको प्याराग्लाइडिङ  अन्योलमा 

Read Time : > 3 मिनेट
२०७९ श्रावण ८ आइतबार ०९:०८:००

पोखरामा मात्रै अहिले प्याराग्लाइडिङका ५९ कम्पनी छन्, ती कम्पनीमा सवा अर्ब लगानी 

पोखरामा सञ्चालनको अन्तिम तयारीमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि पोखरामा सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परेको छ । विमानस्थल सञ्चालनपछि प्याराग्लाइडिङ उडानमा रोक लाग्ने हल्लाले व्यवसायीहरू झन्डै तीन दशकदेखिको व्यापार छोड्नुपर्ने चिन्तामा डुबेका छन् ।

हवाई र प्याराग्लाइडिङ उडानको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको अन्तिम तयारी गरिरहँदा प्याराग्लाइडिङका विषयमा निर्णय दिएको छैन । प्राधिकरणले आगामी १ जनवरीदेखि विमानस्थल सञ्चालनको तयारी गरिरहेको छ । औपचारिक रूपमा प्राधिकरणले केही नभने पनि अनौपचारिक रूपमा प्याराग्लाइडिङ सार्न भनिसकेको व्यवसायीको भनाइ छ । तर, व्यवसायीहरू भने पोखराबाट अन्यत्र प्याराग्लाइडिङ सार्न नहुने पक्षमा छन् । 

हाल उडान भइरहेको स्थानबाट प्याराग्लाइडिङ गरिए विमानस्थल सञ्चालनमा अवरोध पुग्छ । राज्यले विमानस्थलमा २६ अर्ब लगानी गरिसकेको छ, प्याराग्लाइडिङ यसमा बाधक बन्नु नहुने प्राधिकरणको भनाइ छ । 

पोखरा प्याराग्लाइडिङका लागि विश्वकै १०औँ उत्कृष्ट गन्तव्य 
प्याराग्लाइडिङ उडानका लागि विश्वका १०औँ उत्कृष्ट गन्तव्यमध्ये पोखरासमेत एक हो । पोखरा–१८ स्थित सारङ्कोट र तोरिपानीबाट प्याराग्लाइडिङको अधिकांश उडान हुँदै आएको छ । केही उडान मान्द्रेढुंगा, अर्मला र ढिकीडाँडाबाट समेत हुने गरेको छ । उडान भरेका अधिकांश यात्री फेवाताल किनारको खपौदीआसपास अवतरण गर्छन् । 

नेपाल हवाई खेलकुद संस्था(ना) मा प्याराग्लाइडिङ व्यवसायी आबद्ध छन् । नाले पोखरामा २३ वर्षदेखि विभिन्न विधामा प्याराग्लाइडिङका प्रतियोगिता गर्दै आएको छ । नाले पोखरामा दुईपटक प्रि–वर्ल्डकप र एसियन टुरसमेत आयोजना गरिसकेको छ ।

प्याराग्लाइडिङको नेपाल उडान यस्तो छ
पर्यटन व्यवसायी बिरु बम्जनले बेलायती नागरिक एडम हिलसँगको सहकार्यमा नेपालमा सन् १९९६ मा प्याराग्लाइडिङ भित्र्याएका थिए । नेपालका पहिलो प्यारापाइलट बम्जनका छोरा राजेश हुन् । पोखरामा उडान सुरु भएको चार वर्षपछि सन् २००० देखि प्याराग्लाइडिङ कम्पनी स्थापना भए । पोखरामा अहिले सयौँ प्याराग्लाइडिङ पाइलटहरू आउने गरेको व्यवसायीहरू बताउँछन् । 

५९ कम्पनी, सवा अर्ब लगानी
पोखरामा मात्रै अहिले प्याराग्लाइडिङका ५९ कम्पनी छन् । ती कम्पनीमा सवा अर्ब हाराहारीमा लगानी रहेको छ । प्याराग्लाइडिङ उडानका लागि लाइसेन्स लिएका ३७५ जना पाइलट छन् । सँगै अन्य १५० गरी पाँच सय हाराहारीमा पाइलट पोखरामा मात्रै छन् । साथै प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीनवटा, अल्ट्रालाइट कम्पनी चार र हट एयर बेलुन कम्पनी पनि पोखरामा सञ्चालनमा छन् । 

दैनिक ६ सयले गर्छन् उडान                            

सिजनका वेला यहाँ दिनकै १५ सयजनासम्मले उडान भर्ने गर्छन् । अन्य वेला पनि पोखरामा दैनिक पाँच सयदेखि ६ सयजनाले उडान भर्ने गरेको नाका अध्यक्ष सुनिल भट्टराई बताउँछन् । सिजनका वेला त कहिलेकाहीँ एक–दुई दिन पालोसमेत कुर्नुपर्ने उनको भनाइ छ । 

सम्भव छ वर्षभरि उडान : राजेश बम्जन, पाइलट, प्याराग्लाइडिङ 
पोखराबाहेक अन्य स्थानमा वर्षभरि नै उडान सम्भव छैन । यसका लागि सराङकोट सबैभन्दा उपयुक्त स्थान हो । यस्तो ठाउँ आसपासमा छैनन् । पोखराबाट अरू स्थानमा लैजाने हो भने सिजनमा मात्र उडान भर्न सकिन्छ ।

प्याराग्लाइडिङप्रतिको आकर्षणसमेत कम हुन्छ । उडान मात्रै त जुनसुकै अग्लो  डाँडाबाट गर्न सकिन्छ, तर त्यहाँ बाटोलगायत अन्य असुविधा हुन सक्छ र अन्य समस्यासमेत आउन सक्छ । यसकारण सराङकोटबाटै उडान भर्ने व्यवस्था मिलाउनुपर्छ । 

प्याराग्लाइडिङ उडान सम्भव छैन : ज्ञानेन्द्र भुल, सूचना अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण
प्याराग्लाइडिङ उडान के गर्ने भन्नेमा हालसम्म केही निर्णय भएको छैन । नाका तर्फबाट हामीलाई पोखराबाट विस्थापन नगरियोस् भनेर दुई–तीनपटक ज्ञापनपत्र आएको छ । अहिले विमानस्थल सञ्चालनका लागि रिठेपानी डाँडा कटानलगायत काममा प्राधिकरण लागेको छ । 

पहिला विमानस्थल सञ्चालनको मिति तय होस्, त्यसपछि मात्र प्याराग्लाइडिङ के गर्ने भन्नेमा निर्णय हुन्छ । डाँडाकाँडाका कारण पोखराको आकाश सानो छ । आकाश सानो भएका कारण जहाज केही सयम होल्ड गर्नुपर्‍यो भने समस्या हुन्छ । जति ठूलो आकाश, त्यति धेरै स्पेस हुने भएकाले जहाजसँगै प्याराग्लाइडिङ उडानका लागि समेत स्थान तोक्न सकिन्थ्यो, तर पोखरामा एकैपटक जहाज र प्याराग्लाइडिङ उडान सम्भव छैन । 

प्याराग्लाइडिङ पोखराको परिचय हो : सुनील भट्टराई, अध्यक्ष, नेपाल हवाई खेलकुद संस्था
पोखरा विमानस्थल निर्माणमा हामीले पनि धेरै संघर्ष गरेका छौँ । विमानस्थलका कारण प्याराग्लाइडिङ उडानमा रोक लगाउनु हुँदैन । प्याराग्लाइडिङ पोखराको परिचयसँगै साहसिक पर्यटकको आकर्षणको केन्द्र हो । विश्वका धेरै देशमा हवाई र प्याराग्लाइडिङ उडान एकै स्थानबाट भइरहेका छन् ।

पोखरामा पनि यो सम्भव छ । यसका लागि आवश्यक विधि, प्रविधि र अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्नुपर्‍यो ।पोखरा विमानस्थल २४सैै घन्टा सञ्चालनमा आउने होइन । हामीलाई एउटा निश्चित समय र क्षेत्र दिएर हाल भइरहेकै स्थानमा उडानको व्यवस्था मिलाउनुपर्छ । 

०७६ मै भएको थियो अध्ययन
भदौ ०७६ मा तत्कालीन नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय एवं नागरिक उड्डयन प्राधिकरणको १ असोज ०७६ मा बसेको बैठकले ‘प्याराग्लाइडिङ सेवाको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा अध्ययन’ गरी प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको थियो । 

गठित कार्यदललाई प्याराग्लाइडिङ सेवाको भाडादर, मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ संशोधनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नपश्चात् आउने अवस्थाको अध्ययन अवलोकन गरी प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको थियो ।

कार्यदलले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि प्याराग्लाइडिङ सञ्चालनका लागि दुई विकल्प दिएको थियो । पहिलो विकल्प साविकको क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्ने र दोस्रो साविकको क्षेत्रभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्ने । 

प्रतिवेदनअनुसार साविकको क्षेत्रबाट प्याराग्लाइडिङ सञ्चालन गर्दा उडानको अधिकतम उचाइ पाँच हजार फिट कायम हुने गरी नयाँ जोन बनाउने, दिनमा बढीमा दुई घन्टा (१० देखि १२ बजेसम्म) मात्र सञ्चालन गर्न दिने, उडानको अधिकतम उचाइ पालना भए–नभएको हेर्न अत्याधुनिक प्रविधिको प्रयोग गरी निगरानी गर्ने, पाइलटहरूलाई सो प्रविधिको जानकारी गराउने र भिएचएफ कम्युनिकेसनसँग जोड्ने व्यवस्था गर्नेलगायतका थिए । यी सर्तका आधारमा मात्र हाल सञ्चालन रहेका स्थानबाट सञ्चालन गर्न दिने, अन्तर्राष्ट्रिय विमानस्थलआसपास प्याराग्लाइडिङ सञ्चालन भएका स्विट्जरल्यान्ड, इटली, फ्रान्सलगायत युरोपियन देशले अवलम्बन गरेका तरिका र व्यवस्था अवलोकन गरी अवलम्बन गर्ने कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी साविकभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्ने हो भने वैकल्पिक एयरस्पेसका लागि पोखरा उपत्यकाआसपासका क्षेत्र, जस्तै– पञ्चासे वा माछापुच्छ«े गाउँपालिकालगायत नजिकका क्षेत्रमा आवश्यकताअनुसार पूर्वतयारी गर्दै जाने प्रतिवेदनमा उल्लेख छ ।