१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Friday, 04 July, 2025
प्रतिनिधिसभाको शुक्रबारको बैठक । तस्बिर : रासस
कमलराज भट्ट काठमाडाैं
२o७९ श्रावण ८ आइतबार o५:५४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बजेट अधिवेशनमा विधेयकै–विधेयक

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार o५:५४:oo

चालू अधिवेशनबाट १५ विधेयक पारित, ५४ अझै विचाराधीन 

सामान्यतः बजेट अधिवेशनमा बजेटसम्बन्धी विधेयकमाथि छलफल र पारित गर्ने संसदीय अभ्यास छ । तर, संसद्को ११औँ अधिवेशनमा हिउँदे अधिवेशनको झल्को दिने गरी धमाधम सार्वजनिक महत्वका विधेयक पारित भइरहेका छन् ।

सभामुखको तयारी
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने गृहकार्य गरिएकाले चालू अधिवेशन प्रतिनिधिसभाको अन्तिम अधिवेशन बन्ने सम्भावना छ । त्यसैले सभामुख अग्नि सापकोटाले चालू अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गराउने योजना बनाएका छन् ।

संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट चालू अधिवेशनबाट पारित गरेर प्रमाणीकरण भई १५ वटा विधेयकले कानुनको रूप लिएका छन् । प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीनवटा विधेयक छन् ।

प्रतिनिधिसभाले शुक्रबार मात्रै नागरिकता संशोधन विधेयक, २०७९ लाई पारित गरेको छ । बुधबार मात्रै ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको थियो । यी दुवै विधेयक प्रमाणीकरण हुन भने बाँकी छ । 

संसद् सचिवालयका अनुसार ५४ विधेयक विचाराधीन छन् । अधिकांश अन्तिम चरणमा पुगेका छन् । जसमध्ये राष्ट्रिय सभाले १० विधेयक अन्तिम चरणमा पुर्‍याएको छ । 

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने गृहकार्य गरेकाले चालू अधिवेशन प्रतिनिधिसभाको अन्तिम अधिवेशन बन्ने सम्भावना छ । त्यसैले सभामुख अग्नि सापकोटाले चालू अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गराउने योजना बनाएका छन् । 

३ जेठबाट सुरु भएको दुवै सदनको बर्खे अधिवेशनमा धेरै विधेयकमाथि हतारोमा छलफल तथा पारित गरिनुमा कोभिड महामारी, राजनीतिक गतिरोध, संसद् विघटन, त्यसपछि नौ महिनासम्म एमालेको अवरोधलगायत कारण रहेको संसद् सचिवालयका कर्मचारी बताउँछन् । त्यसमाथि प्रतिनिधिसभा कार्यकालको अन्तिम चरणमा पुगेकाले दलहरू, सरकार र संसद् हतारिएको हो । 

एमालेले अवरोध गर्दै आएको प्रतिनिधिसभा दुई सय ५१ दिनपछि सहज रूपमा सञ्चालनमा आएपछि अधिवेशनमा विधेयकसम्बन्धी काम अगाडि बढाउन सहज भएको हो । २३ भदौ ०७८ देखि निरन्तर अवरोध गर्दै आएको एमालेले ३ जेठबाट सुरु भएको ११औँ अधिवेशनमा संसदीय काम–कारबाहीमा सहभागिता जनाएको थियो । 

कुन–कुन विधेयक पारित ?
३ जेठबाट प्रारम्भ भएको बर्खे अधिवेशनमा प्रतिनिधिसभाबाट पारित भएका १२ वटा विधेयक कानुन बनेका छन् । जसमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्‍चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदर्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, लोकसेवा अयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । 

त्यस्तै, बजेटसम्बन्धी चारवटा आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९, ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ रहेका छन् । बिउ–बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक र बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पनि पारित भई कानुनका रूपमा लागू भएको छ । 

त्यस्तै, राष्ट्रिय सभाबाट तीनवटा विधेयक कानुन बनेका छन् । जसमा रेल्वे विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ र औषधि (तेस्रो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ रहेका छन् । राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अहिले दर्ता भएर चर्चामा छ ।