१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
लोकेश ढकाल
Invalid date format o६:४९:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्झनामा बिपी, वैचारिक विचलनमा कांग्रेस

Read Time : > 4 मिनेट
लोकेश ढकाल
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

आज साउन ६ गते, ४०औँ बिपी स्मृति दिवस । आधुनिक नेपाली राजनीतिक इतिहासमा अहिलेसम्मका सर्वाधिक लोकप्रिय राजनेता बिपी कोइरालालाई सम्मानपूर्वक सम्झिने विशेष दिन । नेपाली राजनीतिका महान् विचारक, नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ६८ वर्षको उमेरमा ४० वर्षअगाडि आजकै दिन घातक क्यान्सर रोगबाट दुःखद निधन भएको थियो । 

बिपीलाई उनको जन्मदिन र स्मृति दिवसमा मात्र होइन, सधैँ सम्झिदिएहुन्थ्यो, उनको विचारको मार्गलाई सबैले पछ्याइदिएहुन्थ्यो, विशेषगरी उनका अनुयायी हुँ भनेर दाबी गर्ने कांग्रेसीजनले । तर दुर्भाग्य ! आज कांग्रेसकै जीवनमा बिपी खोज्नुपर्ने अवस्था छ, कांगे्रसको जीवनमा कांग्रेस नै खोज्नुपर्ने अवस्था छ । विचारको राजनीति छाडेर सत्तासुखमा रमाइरहेका कांग्रेसीले ती दुई दिन पनि बिपीलाई राम्रोसँग स्मरण गर्दैनन् । अहिले कांग्रेसमा एक प्रकारले बिपीको नाम लिँदा प्रतिगामी कित्तामा परिने अवस्था छ । 

बिपीविना बितेको ४० वर्षमा नेपाली राजनीतिमा ठूला आन्दोलन र परिवर्तन भए । पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, लोकतन्त्र र गणतन्त्र पनि आयो । यी सबै परिवर्तनको नेतृत्व बिपीकै कनिष्ठ भ्राताले गरे, बिपीकै अनुयायी र उनैले स्थापना गरेको कांग्रेसले गर्‍यो । तर, यी परिवर्तनमा कहीँ कतै बिपी भेटिन्नन् । विचारधारा, सिद्धान्त, निष्ठा र मूल्यको राजनीति भए न त्यहाँ बिपी भेटिन्थे र कहिलेकाहीँ गणेशमान र किसुनजी भेटिँदा हुन् । वर्तमान नेपाली राजनीतिबाट विचारको राजनीति, मूल्य–मान्यता अनि निष्ठा र आदर्शको राजनीति पूरै मरिसकेको छ । केवल विचारशून्य सत्ताको राजनीति मात्र जीवित छ, त्यो राजनीति पनि अब बलशाली र धनशालीको कब्जामा छ, बिचौलिया र दलालको कब्जामा छ । 

बिपी कोइरालाले चार दशकअगाडि नै अनुमान गरिसकेका थिए– ‘म मरेपछि कांग्रेसमा मेरो भूमिकाबारे व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनालाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । कांग्रेसमा मैले लिएको अडान र मेरा दृष्टिकोणलाई गौण बनाइनेछ ।’ नभन्दै, आफ्नै परिवार, कांगे्रस, कांग्रेसका कार्यकर्ताबाटै बिपीका दृष्टिकोणलाई निरन्तर रूपमा गौण बनाउने प्रयास भइरहेको छ । बिपीसँग थोरबहुत संगत गरेका, कांग्रेसका वैचारिक नेताका रूपमा चिनिने वरिष्ठ नेता रामचन्द्र पौडेल नै बिपीको विचार र चिन्तनविपरीत रुख छाँटेर हँसिया र हथौडाको बिँड बनाउने बाटामा छन् भने पार्टीभित्र विचारको राजनीतिको कस्तो दुर्दशा छ, सहजै अनुमान गर्न सकिन्छ ।

बिपीले उसै वेला भनेका थिए– ‘....जुन दिन कांगे्रसले राष्ट्रियतामाथिको आफ्नो अडान छाड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्श छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ नभन्दै आज कांग्रेसको राष्ट्रियतामाथिको अडान पनि भुत्ते हुँदै गएको छ भने विचार र सिद्धान्तको राजनीति छाडेर केवल सत्ताको राजनीति गर्न पुग्दा प्रजातन्त्रको आदर्श पनि निम्छरो भइरहेको छ । कांग्रेसले आफ्ना स्थापनाकालीन सिद्धान्त र बिपीका विचार परित्याग गरेकै कारण नेपाली राजनीतिमा कम्युनिस्टहरू शक्तिशाली बनिरहेका छन्, प्रजातान्त्रिक शक्ति निरन्तर कमजोर बनिरहेको छ । 

बिपीलाई उनको जन्मदिन र स्मृति दिवसमा मात्र होइन, सधैँ सम्झिदिएहुन्थ्यो, उनको विचारको मार्गलाई सबैले पछ्याइदिएहुन्थ्यो, विशेषगरी उनका अनुयायी हुँ भनेर दाबी गर्ने कांग्रेसीजनले । तर दुर्भाग्य ! आज कांग्रेसकै जीवनमा बिपी खोज्नुपर्ने अवस्था छ ।

वामपन्थी रुझान राख्ने कतिपय कांग्रेसी बिपी बाँचेको युग र अहिलेको युग फरक हो । अहिले बिपी नै बाँचिरहनुभएको भए उहाँ पनि घोर गणतन्त्रवादी बन्नुहुने थियो भन्दै बिपीका विचार र चिन्तनलाई अपव्याख्या गरिरहेका छन् र बिपीप्रति घोर अपमान, अवमूल्यन र अन्याय गरिरहेका छन् । रामचन्द्रजी त्यसैको अगुवाइ गरिरहेका छन् । रामचन्द्रजी वेलामौका कांग्रेसमा बिपीको वैचारिक लिगेसी आफूसँग भएको दाबी गर्छन् । निश्चय नै कांग्रेसभित्रका समकालीन नेतामा रामचन्द्र पौडेल र प्रदीप गिरी सबैभन्दा वैचारिक नेता मानिन्छन् । बिपीका विचार र कांग्रेसकै परम्परागत विचार र सिद्धान्तविपरीत कुन राजनीतिक प्रेरणा र स्वार्थले हो, जीवनको यो कालखण्डमा आएर रामचन्द्र पौडेल ‘अब विचारधाराको राजनीति सकियो भनेर वैचारिक बहसमा उत्रिएका छन्, यो बुझिनसक्नु भएको छ । उनको यो वैचारिक विचलनलाई बौद्धिक रूपमा टाट पल्टिएको वा दिवालियापन, के मान्ने ? गम्भीर प्रश्न खडा भएको छ । दुई सातापहिले एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा नेपाली राजनीतिबाट अब विचारधाराको द्वन्द्व सकिएको कुरा उठाएपछि उनको वैचारिक दिवालियापन उदांगो भएको हो । 

पौडेलले अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाको ‘अब विचारधाराको द्वन्द्व सान्दर्भिक रहेन’ भन्ने विचारसँग आफ्नो विचार जोडेर, यतिखेरको नेपाली राजनीतिमा विचारधाराको द्वन्द्वको सान्दर्भिकता सकिएको पुष्टि गर्ने चेष्टा गरेका छन् । उनले नेपाली राजनीतिमा अब सवाल कांग्रेस र कम्युनिस्टबीच होइन, सवाल मुलुकमा स्थायित्व चाहने र नचाहनेबीच छ । कांग्रेस र कम्युनिस्टको सहकार्यले नेपाली राजनीतिमा नयाँ युग सुरु भएको छ । त्यो युग सहमति, सहकार्य र एकताको युग हो भनेर यतिखेरको नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्ट विचारको आधारमा द्वन्द्व गर्नुको औचित्य सकिएकोमा जोड दिँदै कांग्रेसको मौलिक सिद्धान्त र राजनीतिक अडान ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’लाई गौण बनाउने प्रयास गरेको देखिन्छ । 

निश्चयः नै वर्तमान नेपाली राजनीतिमा निकै वर्ष पहिलेदेखि विचारको राजनीति सकिएको हो । कांग्रेस र कम्युनिस्टका नाममा सत्ताका लागि तर विचारशून्य लडाइँ हुँदै आएको छ । वर्तमान नेपाली राजनीतिबाट देशप्रेम वा राष्ट्रभक्तिको राजनीति पूरै मरेको छ, विचार, सिद्धान्त र आदर्शको राजनीति सकिएको छ । विचारको दृष्टिले आजको कांग्रेस, कांग्रेसजस्तो छैन, कम्युनिस्ट, कम्युनिस्टजस्तो छैन । कांग्रेस आफ्ना स्थापनाकालीन राजनीतिक अडान, विचार र सिद्धान्त छाडेर वामपन्थी कित्तामा लहसिएको छ ।

त्यसैगरी नाना नामधारी कम्युनिस्टहरू रणनीतिक रूपमा प्रजातन्त्रको आवरणमा माक्र्सवाद, लेनिनवाद वा माओवादलाई पृष्ठभूमिमा राखेर सत्ता सुखभोग मात्र गरिरहेका छन् । त्यसैले, अहिले कांग्रेस र कम्युनिस्ट पार्टीहरूमा विचारको सन्नाटा छ । सत्ताका लागि मरिहत्ते गर्ने यी पार्टीबीच अब तात्विक वैचारिक भिन्नता छैन । यी दलमा पद, सत्ता र शक्तिको मात्र कोलाहल छ । यी सबैको धेय केवल सत्ता प्राप्ति मात्र भएको छ । चुनावी तालमेल पनि देश र जनताका लागि होइन, केवल सत्ताकै लागि मात्र हो । तर, भ्रममा नपरौँ, मेरा वैचारिक नेता रामचन्द्रजीले यस सन्दर्भमा नेपाली राजनीतिमा विचारको द्वन्द्व सकियो भन्न खोजेका होइनन् । उनको धेय गठबन्धनका दलबीच हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि चुनावी तालमेल गरेर जानका लागि जबर्जस्ती उठाएको तर्क मात्र हो । चुनावी तालमेलकै लागि नेपाली राजनीतिमा विचारधाराको द्वन्द्व सान्दर्भिक छैन भन्दै उनी कांग्रेस र कम्युनिस्ट मिलेर चुनावमा जानुपर्नेमा जोडबल गरिरहेका छन् । 

समान विचारधाराका दलबीचको तालमेललाई प्रजातन्त्रमा नाजायज मानिँदैन, तर विचार नमिल्ने दलबीच केवल सत्तास्वार्थबाट गरिने चुनावी लालमेल एक प्रकारको राजनीतिक सिन्डिकेट हो । चुनाव भइसकेपछि कुनै एक दलले बहुमत नल्याएको अवस्थामा सरकार गठनका लागि न्यूनतम साझा कार्यक्रम बनाएर गरिने गठबन्धन वा तालमेल बेग्लै कुरा हो । त्यसमाथि कांग्रेसजस्तो प्रजातन्त्रवादी दलले कम्युनिस्ट पार्टीहरूसँग गर्ने चुनावी तालमेल एक प्रकारको राजनीतिक असंगति हो । यस्तो असंगत विचार बोकेर रामचन्द्र पौडेलजस्ता वरिष्ठ नेताले अरूभन्दा अझ अगाडि सरेर तालमेलका लागि मरिहत्ते गर्नु अनौठो हो । 

आफ्ना हजारौँ कार्यकर्ता र मतदाताको मन दुःखाएर भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई निःसंकोच मतदान गर्न आफ्ना पार्टीका साथीलाई गौरवसाथ आह्वान गर्दै हँसिया–हथौडा आज काट्ने मार्ने अर्थमा छैन, त्यो त हाम्रा घरेलु कामका चिज हुन् । हँसिया हथौडामा मतदान गरौँ, रुख र हँसिया हथौडामा मत आदानप्रदान गरौँ । यसो गर्नु नै सहमति, सहकार्य र एकता हो । यो नै नयाँ युगको माग हो । रामचन्द्रजीको विचारको सार यही हो । कस्तो विडम्बना ! 

कांग्रेसले अहिलेसम्म राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो मूलभूत सिद्धान्त मान्दै आएको हो । पौडेलले ‘सहमति, सहकार्य र एकता’ लाई अबको राजनीतिक सिद्धान्त बनाउने प्रयास गरेको देखिन्छ । उनी अगाडि लेख्छन्, ‘सहमति, सहकार्य र एकताको सूत्र अँगाल्दा मात्रै उपलब्धि हासिल गर्न सक्ने अवस्थामा छौँ ।’ 

शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ट चरणमा गरिएको ‘सहमति, सहकार्य र एकता’ प्रयासलाई सामान्य राजनीतिक अभ्यासको हतियार बनाउने प्रयास भएको छ । निर्वाचनमा दलबीच स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न छाडेर विचार नमिल्नेबीच सत्ताका लागि तालमेल गर्नु नितान्त प्रजातन्त्रविरोधी कुरा हो । प्रजातन्त्र भनेको बहुमत र अल्पमत हो । बहुमतले शासन गर्छ । अल्पमतले सरकारलाई दबाब दिन्छ, पाँच वर्ष कुर्छ, जनताबीच जान्छ । सके अर्कोपटक चुनाव जितेर आउँछ, सरकार बनाउँछ । विचार र सिद्धान्त नमिल्ने केही दल मिलेर चुनावमा जाने भनेको राजनीतिक सिन्डिकेट सिर्जना गर्नु हो । सत्ताका लागि कम्युनिस्टसँग चुनावी तालमेल गरेर हामी सिन्डिकेट प्रजातन्त्रको हिस्सा बनिरहेका छौँ, रामचन्द्र पौडेल त्यसैलाई मलजल गरिरहेछन् । 

विचार र सिद्धान्तमाथि आँखा चिम्लेर राजा महेन्द्रले भनेको खुरुखुरु मानेको भए अहिलेका नेताले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थमा दिल्ली वा बेइजिङ दौडेजस्तो दिल्ली पुगेर नेहरूसँग थोरबहुत साउती मार्दै राजनीतिक कम्प्रोमाइज गरेको भए बिपी कोइराला लामो समय प्रधानमन्त्री बनिरहन सक्थे । लामो कठोर कारावास र कष्टकर निर्वासनको जीवन भोग्नुपर्दैनथ्यो । तर, बिपीले प्रजातान्त्रिक मूल्य र आदर्शको राजनीतिक बाटो रोजे । जीवनमा दुःख र कष्ट व्यहोर्न तयार भए तर सिद्धान्तको राजनीति छोडेनन् । त्यसैले त उनको निधनको ४० वर्षपछि पनि जनताले सबैभन्दा सम्झने र सम्मान गर्ने नेता बिपी नै छन् । नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनमा दूर–भविष्यसम्म बिपीलाई नेपाली जनताले सम्झिरहनेछन् । 
४०औँ स्मृति दिवसमा बिपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली !