१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
दीपक अधिकारी काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

डुब्दो श्रीलंकालाई किनारामा उतार्न सक्लान् बिक्रमासिंघेले ?

Read Time : > 2 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:५६:oo

६ पटक प्रधानमन्त्री बनिसकेका रनिल बिक्रमासिंघे बुधबार श्रीलंकाको राष्ट्रपति चुनिए। ४५ वर्षअघि २८ वर्षको उमेरमा उनी पहिलोपटक मन्त्री बनेका थिए। उनको उडान त्यसभन्दा धेरैमाथि थियो। अर्थात्, एक दिन राष्ट्रपतिका रूपमा देशको नेतृत्व गर्ने सपनाले उतिवेलै पखेटा हालेको थियो। उनको त्यो सपना पूरा भएको छ। तर, यतिवेला राष्ट्रपतिको कुर्सी ज्वालामुखी विष्फोटपछि निस्किएको लाभाजस्तै गरम छ। त्यसैले ७३ वर्षका बिक्रमासिंघेका सामु प्रश्न तेर्सिएको छ, ‘डुब्दो श्रीलंकालाई सकुशल किनारामा उतार्न सक्लान् ?’
 

श्रीलंकाको पछिल्लो झन्डै पाँचदशकको राजनीतिलाई केलाउने हो भने बिक्रमासिंघे सधैँ प्रभावशाली देखिन्छन्। कहीँ न कहीँ बलियो राजनीतिक बिरासतकै कारण पनि होला, सडकमा उत्रिएका लाखौँ नागरिकले प्रधानमन्त्री पदबाट राजीनामा माग्दामाग्दै पनि उनले गत साता कार्यबाहक राष्ट्रपति बन्न स्वीकार गरे। सडकमा उत्रिएका लाखौँ प्रदर्शनकारी राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै सरकारी कार्यालय र निवासतिर अघि बढेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भाग्न बाध्य भए। तर, बिक्रमासिंघेले न देश छाडे न जिम्मेवारी। बरु अन्तरिम राष्ट्रपति हुँदै बुधबार ६० प्रतिशत सांसदको मत पाएर राष्ट्रपति चुनिए। उनी कठिन अवस्थामा देशको संकट पार लगाउने अभिभारा बोक्न तयार देखिए।

श्रीलंका यतिवेला आर्थिक रूपमा टाट पल्टिएको छ। सन् १९४७ पछि अहिलेसम्मकै ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक संकटसँगै राजनीतिक संकट गहिरिएको छ। 
उनीहरूसँग सबैभन्दा धेरैपटक सरकार चलाएको अनुभव छ। तर, कतिपटक प्रधानमन्त्री भयो भन्ने गन्ती सफलताको कडी बन्न सक्दैन। उनको शासनकालमा नागरिकले सुधारको अनुभूति गरे/ गरेनन् त्यो मानक बन्ने गर्छ। यसरी हेर्दा भने उनी असफल प्रधानमन्त्री हुन्।


लेखक ः दीपक अधिकारी

जोखिमपूर्ण समयमा राष्ट्रको नेतृत्व लिन तयार हुनुका पछाडि उनको राजनीतिक महत्वाकांक्षाले काम गरेको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरिरहेका छन्। यो विश्लेषणमा किन पनि बल मिलिरहेको छ भने उनले यसअघि राष्ट्रपतिका लागि दुईपटक प्रयास गरेका थिए। तर, दुवैपटक पराजित भएका थिए। सन् १९९९ मा पहिलोपटक राष्ट्रपति हुन खोज्दा चन्द्रिका कुमाराटुंगासँग पराजित भएका उनी सन् २००५ मा महिन्दा राजापाक्षेसँग हारेका थिए। पछिल्लो समय उनको राजनीतिक यात्रा यसरी ओरालो लागिरहेको थियो कि गएको आमचुनावमा उनले नेतृत्व गरेको युनाइटेड नेसनल पार्टीले नराम्रोसँग हार व्यहोर्‍यो।  उनी आफैँ पनि पराजित भएका थिए। पछि समानुपातिक कोटाबाट उनी संसद् छिरे। यसरी हेर्दा, झन्डै आधा शताब्दी राजकीय सत्ताको हालीमुहालीमा रहे पनि विक्रमासिंघेका लागि राष्ट्रपति पद टाढा जाँदै थियो। यस्तोमा गत मे महिनामा तत्कालीन राष्ट्रपति नै भर्‍याङ बनिदिए। 
 

प्रभावशाली राजनीतिक परिवारमा जन्मिएका बिक्रमासिंघे २८ वर्षको उमेरमै सांसद चुनिए। सांसद भएको केही समयमै युवा तथा रोजगारमन्त्री बने। त्यसयता उनी निरन्तर सत्ताकै वरिपरि छन्। सन् १९९३ मा पहिलोपटक प्रधानमन्त्री बनेका उनी, २००१ मा दोस्रो, २०१५ मा तेस्रो, २०१८ मा चौथो र पाँचौँपटक प्रधानमन्त्री बने। यसपटक संकट गहिरिँदै गएपछि तत्कालीन राष्ट्रपति राजापाक्षेले गत मे महिनामा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। यो उनको छैटौँपटक थियो। डेढ महिनामै उनी संसद्बाट निर्वाचित राष्ट्रपति बने। 
आगामी नोभेम्बर २०२४ सम्मका लागि राष्ट्रपति चुनिएपछि संसद्लाई सम्बाेधन गर्दै उनले श्रीलंकालाई अहिलेको संकटबाट टार्न सत्ता र प्रतिपक्ष एक ठाउँमा आउनैपर्ने बताए। ‘यो चुनावसँगै हामीबीच कुनै विभाजन रहन हुँदैन। अब म तपाईंहरूसँग कुरा गर्न तयार छु। हामी मिलेर नै संकटको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ।’ 
 

उनको यो सम्बोधनपछि प्रतिपक्षीको प्रतिक्रिया आएको छैन, न प्रदर्शनकारीको। बुधबार राष्ट्रपतिको चुनाव भइरहँदा पनि राष्ट्रपति निवासबाहिर ‘गो होम रनिल’ भन्ने नारा लगाउँदै प्रदर्शन भएका थिए। प्रधानमन्त्री पदबाटै राजीनामा मागेका व्यक्ति राष्ट्रपतिका रूपमा निर्वाचित भएर आउँदा प्रदर्शनकारीले त्यसलाई कसरी लिने हुन् ? यो हेर्न बाँकी छ। तर, बिक्रमासिंघेका लागि सडकको प्रदर्शनभन्दा ठूलो संकट मुलुकको आर्थिक अवस्था हो। यो संकटबाट उनले श्रीलंकालाई कसरी मुक्त गर्ने हुन् ? बुधबारबाटै उनको परीक्षा सुरु भएको छ। 

 

ad
ad