मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ श्रावण १ आइतबार ०५:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

११ वर्षीय बालकलाई प्रिन्सिपलले  निर्घात कुटे, घटना सामसुम पार्ने कोसिस

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ श्रावण १ आइतबार ०५:५५:००

ललितपुरको चापागाउँस्थित लिटिल स्टार इंग्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले पाँच कक्षामा पढ्ने ११ वर्षीय दीपेश खड्कालाई निर्घात कुटेका छन् । कक्षामा हल्ला गरेको भन्दै महर्जनले स्टिलको स्केल र मुड्कीले हिर्काउँदा बालकको शरीरभरि नीलडाम बसेको छ । 

घटना १७ असारको हो । बालकलाई १० कक्षासम्म निःशुल्क पढाइदिने र परिवारलाई आर्थिक सहयोग पनि गर्ने आश्वासन दिँदै प्रिन्सिपल महर्जनले घटना बाहिर नल्याइदिन परिवारलाई आश्वासन दिँदै आएका थिए । तर, बालकका परिवारले महर्जनलाई कारबाहीको माग गर्दै महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दिएको छ । 

आमाले छाडेर अन्तै गएपछि बालक हजुरआमा र फुपूको संरक्षणमा बस्दै आएका छन् । हाल उनी धापाखेलस्थित फुपूको घरमा बस्छन् । ‘घटना भएको दिन बिहान ८ बजे नै स्कुलको गाडी लिन आएको थियो । तर, फर्किने वेला गाडीले ढिला ल्याइदियो,’ हजुरआमा कौशिला खड्काले भनिन्, ‘बेलुका घर आउँदा बच्चा रोइरहेको थियो । सोधखोज गर्दा प्रिन्सिपलले कुटेको थाहा भयो ।’ 

स्कुल प्रशासन र प्रिन्सिपल महर्जनले भने बालकलाई आफूले नकुटेको दाबी गरेका छन् । एक शिक्षिकाले गल्ती गरेको भन्दै मिलापत्रका लागि दबाब दिइरहेका छन् । ‘मैले कुटपिट गरेको होइन । एकजना मिसले कुट्नुभएको रहेछ,’ उनले भने, ‘मिलेर घटनाको समाधान गरौँ । मुद्दा–मामिलातर्फ लाग्यो भने बच्चालाई असर पर्छ । उसको पढाइ बिगार्न भएन ।’ 

प्रिन्सिपलले विभिन्न आश्वासन दिएर मिलापत्र गरी उम्किन खोजेको भन्दै बालकका आफन्तले भने कारबाही नै हुनुपर्ने अडान राखेका छन् । बालककी फुपू शोभा खड्काले महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी छिन् । उनले प्रिन्सिपल महर्जनलाई कारबाही र क्षतिपूर्तिको माग गरेकी छिन् । ‘विद्यालयका प्रिन्सिपलबाटै यति सानो बालकमाथि निर्घात कुटपिट भएको छ । बरु हामी बच्चालाई त्यो स्कुलमा पढाउँदैनौँ, तर प्रिन्सिपललाई कारबाही हुनुपर्छ,’ उनले भनिन् । 

प्रहरीले पनि बच्चामाथि कुटपिट भएको विषय मिलापत्र हुन नसक्ने बताएको छ । प्रारम्भिक जानकारीमा प्रिन्सिपलले नै कुटेको देखिएको प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए । ‘बच्चामाथि कुटपिट भएको विषय मिलापत्र हुन सक्दैन । प्रारम्भिक जानकारी अनुसार प्रिन्सिपलले नै कुटेको देखिन्छ,’ उनले भने, ‘यस्तोमा फौजदारी मुद्दा अन्तर्गत दोषीलाई कारबाही हुन्छ ।’ 

तर, पीडित पक्षले ठाडो निवेदन दिएपनि मुद्दा दर्ताको रित पु¥याएर जाहेरी नदिएको उनको भनाई छ । ‘उहाँहरू (पीडित पक्ष) घटना भएको भोलिपल्ट बालकको शरीरमा घाउ देखाउँदै ठाडो निवेदन लिएर आउनु भएको थियो । तर, रित पु¥याएर जाहेरी दिन मान्नु भएन । त्यसैले घटनाको आवश्यक अनुसन्धान र कारबाही अघि बढाउन कठिन परेको छ,’ एसएसपी पोखरेलले भने । 

घाइते बालकलाई उपचारका लागि धापाखेलको सुमेरु अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनको डिस्चार्ज भइसकेको छ । तर, बालक अहिले विद्यालय गएका छैनन् । यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बालक कुट्ने प्रिन्सिपललाई कारबाहीको माग गरेको छ । युनियनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दोषीउपर कारबाही नभएमा त्यसको विरुद्धमा अनेरास्ववियु सशक्त रूपमा उभिनेछ ।’