१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार ३२ शनिबार ०९:४९:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

म थाकेँ सरकार, अब पुतली दिदीको जिम्मा लेऊ

Read Time : > 2 मिनेट
२०७९ असार ३२ शनिबार ०९:४९:००

असार ३/४ गतेतिर मुसिकोट-३ की ५० वर्षीया पुतली रानाको खुट्टा कुहिएर किरा झरिरहेको बिक्षिप्त अवस्थाको भिडियो संचारकर्मी भाई दिपक नेपालीले युट्युबमा राखे । मैले तत्काल दिपकसंग कुरा गरेपछि ठाउँ पहिचान गरे । बिहानै स्टोरी गरेर नयाँ पत्रिकामा पठाएँ । केहि बेरमा डेक्सबाट गाउँमै जान भनेपछि तीन जना पत्रकारको टोली पुतली दिदी भएको ठाउँमा पुग्यौ । निकै धेरैले फोनमा सहानुभूति राख्नुभयो । अवस्था निकै दर्दनाक देखेँ ।

नजिक धेरैबेर बस्न सकिदैन्थ्यो । दिदीको तिर्खा मेट्न छिमेकी नानीले नाक छोपेर माथिबाट ती दिदीको मुख पानी खन्याएको देखेपछि मेरो मन टुक्रा–टुक्रा बन्यो । केहि साथीले भिडियो र तस्विर लिएका पनि थिए । तर, ती भिडियो र तस्विर सार्वजनिक गर्न मन लागेन । मैले सोँचे कस्तो बिडम्बना । कस्तो नियती । त्यो घाउले कति पोल्थ्यो होला । बोल्न सक्ने भए कति चिच्याउँथिन होला पुतली दिदी । तर, पीडा व्यक्त गर्न सास आउँदैन्थ्यो । तैपनि उनले सोचिन म रोएर र चिच्याएर कसलाई सुनाऊँ ।

रिर्पोटिङ्गमा पुगेका पत्रकार भिडियो र तस्बिर खिचेपछि फर्किए त पुग्थ्यो नि ! तर, मनने मानेन । दिदीलाई एकछिन पनि ढिला भएको थियो । जनप्रतिनिधीदेखि प्रशासक र नेतालाई कम्ता सुनाइन मैले पुतली दिदीको अवस्था र पीडा । मुसिकोट सरकार र त्यसका प्रतिनिधीलाई सुझाव होइन दबाब दिएँ । श्रीमान केहि बर्ष पहिले बितेका । स्थानीयका अनुसार छोराले भारतबाट आमा मरेपछि क्रिया गर्न आउँछु भन्थे रे ! खुट्टा कुहिन थालेपछि माइती पनि टाढिए । कस्सम पुतली दिदीका आफन्त त तीनै शरिर वरपर गर्ने किरा बाहेक कोहि थिएनन् । 

विभिन्न हस्पिटल र व्यक्तिहरुले उपचारमा सहयोग गर्ने बचन दिन थालेका थिए । तर, बिक्षिप्त दिदीसंगै हस्पिटलमा पुग्ने र स्याहार गर्ने कोहि निस्किएनन् । मैले मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीलाई कर्मचारी वा महिला स्वास्थ्य स्वयंसेविका भएपनि पठाउनु पर्‍यो भनेर निकै रस्साकसी गरे । दुई दिनको लबिङ्गपछि मुसिकोट नगरपालिकाबाट एम्बुलेन्स र केहि खर्चको जोहो भयो । गाउँकै एक जना छिमेकी दिदीसंग जान तयार भएपछि काठमाडाैं पुरायौँ । मैले त त्यो पनि काफी गरे नि सरकार ...।

नेता र नेतृत्वको चरित्र देख्दा तथा बृद्ध, बालबालिका, अपाङ्ग र बिपन्नका समस्या देख्दा र भेट्दा कस्सम आत्म भक्कानिएर आउँछ ।  किनकी म थाकेँ सरकार...।

दिदीको करिव एक महिनादेखि काठमाडाैं स्थित किर्तिपुर अस्पतालमा उपचार सुरु गरियो । अस्पतालले अप्रेशनको र बेडचार्ज नलिने बताएको छ । औषधीको डेढ लाख मध्ये बिबिएच नेपालले ५० हजार सहयोग गरेको छ रे । संस्थाका हेमन्त जोशीका अनुसार अब औषधीको एक लाख बाँकी छ । सिटी स्क्यान गराउनुपर्ने छ रे । खाना तथा बासको पैसा पनि बाँकी बिरामीले तिनुपर्ने । कस्तो बिडम्बना पैसा आउने माध्यम नभएकाले केहि दिनदेखि उनले खाने एन्टिबायेटिक रोकिएको सुनेँ । म बसेको रेडियोकाे कार्यकक्ष घुम्यो । मैले जोशीलाई सुनाएँ आज दिदीलाई जस्तै पीडा मलाई भएको छ । तै पनि खर्चको जोहो गर्छु भनेर फोन राखे । खुट्टा काटिएकी दिदीले पैसाको अभावमा एन्टिबाइटिक नखाँदा के हुन्छ ? त्यसैले मैले ठुलो सास फेर्दै भने अब त म थाकेँ सरकार...।

सरकार मैले त्यो देखेर र लेखेर गल्ती त गरिन । मैले ति दिदीलाई चिन्दैन्थेँ । मेरो आफन्त होइनन् । बरु तिम्रो त नागरिक हुन् । अहिले त महसुस गर्न बाध्य भएँ, पत्रकारले देखेको नदेखै गरेको भए के सकिन्थ्यो र ? एक जना महिला त मर्थिन । उनले पीडा लुकाउँथिन् । बरु सरकार र आफन्तलाई त्यो पीडा भन्दा हाइसन्चो त हुन्थ्यो होला । एक जना पत्रकार पीडित र पीडाकाबीच कतिन्जेल कुँद्ने । हिजो सोंच्थे मैले त समस्या उजागर गरे नि। अहिले महसुस गरेँ मैले समस्या उजागर होइन निम्त्याएँ । यो समस्यासंग जुध्ने नजिकको सरकार कि पत्रकार ? मैले त बिर्सिएको छैन अझै इस्मा गाउँपालिका-४ दोहलीको कल्यारमा गोठ छेउमा ढाडमा प्वाल परेर मृत्यु कुरेकी उमा दिदीका उपचारमा सहयोग गर्दा मृत्युपछि छोराले क्रियामा दिदी बहिनीले घोत ल्याएको घिउको पैसा माग्न मेरो घर आएको । गाउँका कैयाैँ घटनामा पत्रकारितासंगै परोपकार पनि गरिएको छ । नेता र नेतृत्वको चरित्र देख्दा तथा बृद्ध, बालबालिका, अपाङ्ग र बिपन्नका समस्या देख्दा र भेट्दा कस्सम आत्म भक्कानिएर आउँछ ।  किनकी म थाकेँ सरकार...।

अन्तिममा
सरकार ती दिदी र पूर्वमन्त्री रामकुमारी झाँक्रीको रुवाई फरक हो । झाँक्री दिदीको पद गएको मात्रै हो । तर, पुतली दिदीको खुट्टा । अब भन सरकार, तिमी गर्छौ कि म नै ति दिदीलाई एन्टिबायाेटीक खुवाउन र हस्पिटलबाट निकाल्न चन्दा उठाउन हिँडौ ? त्यो मात्रै होइन । जुन माइतीमा किरा पर्‍यो बलियो खुट्टा गुमाइन् । उनले अब तिनै माइतीका आँगन कसरी टेक्लिन् । जुन नगरले किरा परेपछि मात्रै आफुलाई देख्यो । उनलाई नगर देख्न के रहर होला र ? त्यसैले उनलाई हस्पिटलबाट डिस्चार्जसंगै बाँचुुन्जेल सहज जीवनयापनमा सरकारकाे ध्यान पुगोस्, सरकार अब म थाकेँ...। अब तिमी गर ।