१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o८:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस बैठक : आरोप–प्रत्यारोपमै केन्द्रित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o८:५६:oo

स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र पार्टी संगठनसम्बन्धी योजना निर्माणका लागि बसेको कांग्रेस बैठक संस्थापन र इतर समूहबीचको आरोप–प्रत्यारोपमै केन्द्रित छ । बुधबार संस्थापन पक्षका नेताहरू आक्रामक रूपमा प्रस्तुत भएपछि बिहीबारको बैठकमा इतर समूहका नेता प्रतिवादमा उत्रेका छन् । 

बुधबारको बैठकमा संस्थापन पक्षका नेताले इतर समूहले बाहिर–बाहिर गुटको भेला गरेर पार्टीलाई कमजोर पारेको आरोप लगाएका थिए । जवाफमा इतर समूहका नेताले पार्टीमा अर्को समूहलाई पेलेर जाने नीति लिएपछि आफूहरूले भेला गरेर दबाब दिनुपरेको बताएका छन् । सभापति देउवाले आगामी निर्वाचनमा गठबन्धन हुने बताए पनि इतर समूहको फरक मत छ । 

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा ठाउँ नपाएपछि बाहिर बैठक गर्नुपरेको बताए । ‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरष्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ । पार्टीमा स्थान नपाएपछि बाहिर मिटिङ नबसेर के गर्ने त ?’ उनले भने, ‘सभापतिज्यूले पनि पार्टी नेतृत्वमा आउनुअघि समूहको बैठक गरेको नबिर्सिनुस् ।’

केसीले गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन् । ‘चुनावी गठबन्धन तात्कालिक रणनीति मात्र हो । यो नै गन्तव्य र लक्ष्य होइन । संघीय र प्रदेश संसद्को निर्वाचनमा गठबन्धन आवश्यक छ भने कांग्रेसको स्वाभिमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टतासहित निश्चित मापदण्ड र आचारसंहितासहित पार्टीको संस्थागत निर्णयका आधारमा स्पष्ट हुनुपर्छ,’ केसीको भनाइ थियो । 

अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले गठबन्धनभन्दा पहिलो सर्त कांग्रेस एक हुनुपर्नेमा जोड दिएका थिए । उनले इतरले निर्वाचनमा असहयोग गरेको र कारबाही गर्नेबारे प्रतिवाद गरेका थिए । ‘गठबन्धन गर्ने, नगर्ने भनेर विभाजित नहोऊ । कांग्रेस एक हुनुपर्छ, पार्टी मिलाएर जानुपर्छ, सभापतिजीले पार्टी मिलाएर लैजानुस्,’ उनले भने, ‘गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ । उहाँहरूले नै हो हामीलाई अन्त भोट हाल्न सिकाउनुभएको ।’

बैठकमा बोल्दै केन्द्रीय सदस्य कृष्ण सिटौलाले बैठकको पहिलो दिन डा. शेखर कोइरालाले निर्वाचनका क्रममा आफूमाथि सुराकी खटाइएको भन्दै राखेको बिषयमा छानबिन आवश्यक रहेको बताए । ‘निर्वाचनमा पार्टीभित्रै सुराकी पठाइएको भन्ने विषय पनि बैठकमा आए । त्यस्तो विषय बैठकमा आउने अवस्था नहुनुपथ्र्यो । यसबारे छानबिन गर्नुपर्छ,’ सिटौलाले भने । 

सहमहामन्त्री बद्री पाण्डेले बैठकमा गठबन्धनको विकल्पका विषयमा समेत आवाज उठिरहेको बताए । उनले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ पदाधिकारीले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । ‘सरकारसँग सम्बन्धित प्रश्न पनि उठेका छन् । हामी पदाधिकारीले दिन सक्ने जवाफ हामीले दिन्छौँ, सरकारका तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ,’ उनले भने, ‘आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्न छन् । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । गठबन्धन तोड्नुहुँदैन, तोडिए प्लान बीमा पनि जानुपर्ने हुन्छ ।’

प्रवक्ता डा. प्रकाशशरण महतले बैठक निर्वाचन, समसामयिक विषय र जनजीविकालगायत सबै विषयमा छलफल भइरहेको जानकारी दिए । ‘बैठक चालू छ । सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयमा छलफल भएको छ । साउन १ वा २ गते अन्तिम निष्कर्ष निकालेर निर्णय गर्छौं,’उनले भने । 

देउवालाई निधिको सुझाव : पार्टीभित्रका गुट–उपगुट मिलाउनुस् 
केन्द्रीय सदस्य विमलेन्द्र निधिले सभापति देउवालाई पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर जान आग्रह गरेका छन् । उनले पाँचदलीय गठबन्धनसँगै पार्टीलाई पनि एक बनाउन आवश्यक रहेको बताए । ‘१४ओैँ महाधिवेशनमा पनि म तपाईं (देउवा)को खिलापमा उठेको थिएँ । शेखरजी हुनुहुन्थ्यो । प्रकाशमानजी हुनुहुन्थ्यो । रामचन्द्र, शशांक र सिटौलाजीले चुनाव लड्नुभएको थिएन । तर, हामी सबैलाई थाहा छ, कांग्रेसमा शक्तिकेन्द्र र उपकेन्द्र छन्, त्यसलाई मिलाएर लैजानुहोस्,’ उनको भनाइ थियो । 

विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ : खड्का
बैठकमा कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताए । उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तराष्ट्रियस्तरमा समेत हुने गरेको बताए । परराष्ट्रमन्त्री खड्काले विचार नमिल्ने देशहरूबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए । ‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन । गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ,’ उनले भने, ‘गठबन्धन गरेर जाँदा पार्टीलाई घाटा छैन । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ । संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ ।’

‘सरकारले हतियार किन्ने निर्णय गरेको छैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सदस्यले देशमा डलरको सञ्चिति घटेर अर्थतन्त्र धराशायी बनिरहेका वेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएपछि यस्तो जवाफ दिएका हुन् । बैठकमा अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले यसबारे प्रश्न गरेका थिए । श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नुपर्ने बताएका थिए । ‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन,’ श्रेष्ठले बोल्ने क्रममा सभापति देउवाले रोक्दै भनेका थिए ।

ad
ad