१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कृष्ण रिजाल काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

देशभर ६० हजार उद्योग पौने चार लाखलाई रोजगारी

राष्ट्रिय औद्योगिक सर्वेक्षण : एक वर्षमा उद्योगले कामदारलाई एक खर्ब सात अर्ब तलब दिए, साढे आठ खर्ब लगानी गरेर १२ खर्बको उत्पादन गरे

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४६:oo

नेपालमा उद्योग प्रतिष्ठानको संख्या ६० हजार पुगेको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ ले देशभर ६० हजार एक सय ८५ उद्योग सञ्चालनमा रहेको देखाएको हो । तीमध्ये सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा ५६ हजार ६ सय ११ र सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६ उद्योग सञ्चालनमा रहेका छन् ।

त्यस्तै, विद्युत्, ग्यास, बाफ  तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४ वटा र पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा दुई हजार दुई सय २४ वटा उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले १ साउन ०७५ देखि असार मसान्त ०७६ सम्म अर्थात् आव ०७५/७६ मा यो सर्वेक्षण गरेको हो । सर्वेक्षण शुक्रबार सार्वजनिक गरेको हो । 

सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूमा चार लाख ९१ हजार दुई सय २७ जना संलग्न रहेका छन् । सबैभन्दा बढी औद्योगिक उत्पादनमा चार लाख ४४ हजार नौ सय ६४ जना र सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्रमा ६ हजार चार सय ८५ जना संलग्न रहेका छन् । त्यस्तै, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार पाँच सय ९३ जना र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा १८ हजार एक सय ८५ जना व्यक्तिहरू संलग्न भएको सर्वेक्षणले देखाएको हो ।

संलग्नको संख्या झन्डै पाँच लाख भए पनि उद्योग प्रतिष्ठानबाट नियमित रूपमा तलब, ज्याला लिने गरी कार्यरत कर्मचारीको संख्या भने तीन लाख ८१ हजार ६ सय ८७ रहेको छ । औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीमध्ये सबैभन्दा बढी अर्थात् तीन लाख ४६ हजार एक सय ४३ जना औद्योगिक उत्पादनमा र सबैभन्दा कम अर्थात् पाँच हजार सात सय १९ जना खानी तथा उत्खनन क्षेत्रमा कार्यरत छन् । त्यस्तै, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार दुई सय ३८ जना र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा १२ हजार पाँच सय ८७ जना व्यक्तिहरू कार्यरत रहेको सर्वेक्षणले देखाएको छ ।

सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूले उक्त आर्थिक वर्षमा तलब–ज्याला तथा सुविधामा एक खर्ब सात अर्ब ८९ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये खानी तथा उत्खनन क्षेत्रले तलब–ज्याला तथा सुविधाका लागि करिब एक अर्ब ८० करोड रुपैयाँ खर्चिएको छ । त्यस्तै, सोही प्रयोजनमा औद्योगिक उत्पादन क्षेत्रमा ९५ अर्ब ७७ करोड, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ६ अर्ब ९२ करोड र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा करिब तीन अर्ब ४० करोड रुपैयाँ खर्च भएको सर्वेक्षणले देखाएको हो ।

साढे आठ खर्ब लगानी १२ खर्बको उत्पादन
सर्वेक्षण गरिएको आर्थिक वर्षमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरूले करिब आठ खर्ब ४६ अर्ब ६६ करोड मूल्यबराबरको रकम लागतका रूपमा खर्च गरेका छन् । उक्त खर्चबाट उनीहरूले १२ खर्ब एक अर्ब १७ करोड मूल्यबराबरको वस्तु तथा सेवा उत्पादन गरेको देखिन्छ । यसबाट औद्योगिक प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब तीन खर्ब ५४ अर्ब ५१ करोडबराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिएको विभागले जनाएको छ । सर्वेक्षण अवधिको अन्त्यसम्ममा औद्योगिक प्रतिष्ठानहरूमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । 

४० प्रतिशत उद्योग मात्रै पूर्ण क्षमतामा चल्छन्
सर्वेक्षणले ३९.९ प्रतिशत उद्योग मात्रै पूर्ण क्षमतमा चल्ने गरेको देखाएको छ । अर्थात्, ६०.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको पूर्ण उपयोग गर्न सकेका छैनन् । यसरी पूर्ण क्षमतामा नचल्नुको कारण बजार वा मागको कमीका कारण ४६ प्रतिशत, कच्चा पदार्थको अपर्याप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत र सीपमूलक कामदारको अभावका कारण ८ प्रतिशत रहेको छ । १८.७ प्रतिशत उद्योगले उत्पादन क्षमताको ७५ देखि ९९ प्रतिशत क्षमता उपयोग गरेको देखिएको छ ।

२९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३ प्रतिशत उद्योगले क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम क्षमता उपयोग गरेको सर्वेक्षणले देखाएको हो । करिब ७६ प्रतिशत उद्योग प्रतिष्ठान एक वर्षमा दुई सय ७० वा सोभन्दा बढी दिन सञ्चालन भएको देखिएको छ । यसैगरी, १९ प्रतिशत उद्योग प्रतिष्ठानहरू एक सय ८० देखि दुई सय ६९ दिन, ४ प्रतिशत उद्योग प्रतिष्ठानहरू ९० देखि एक सय ७९ दिन र बाँकी १ प्रतिशत उद्योगहरू ९० भन्दा कम दिन सञ्चालन भएको देखिएको विभागले जनाएको छ ।

६० प्रतिशत साना उद्योगले बैंकबाट ऋण लिँदैनन्
यस अवधिमा १० जनाभन्दा कम व्यक्तिहरू संलग्न भएका साना उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूमध्ये ३४ प्रतिशतले मात्रै वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिएको छ । त्यस्तै, १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेको देखिन्छ । त्यसैगरी, ५ प्रतिशत साना उद्योग प्रतिष्ठानहरू ऋण लिने प्रक्रियामा रहेको देखिन्छ भने ६० प्रतिशत साना उद्योग प्रतिष्ठानहरूले ऋण नलिएको–नभएको र ऋण लिने प्रक्रियामा समेत नरहेको सर्वेक्षणले देखाएको हो ।

पाँच वर्षमा करिब हजार ठूला उद्योग थपिए
नेपालमा पाँच वर्षको अवधिमा करिब एक हजार ठूला उद्योग थपिएको विभागले जनाएको छ । औद्योगिक सर्वेक्षणले ०६९ देखि ०७६ सम्ममा नौ सय ४१ उत्पादनशील ठूला उद्योग थपिएको देखाएको हो । विभागका अनुसार १० वा सोभन्दा बढी व्यक्तिहरू संलग्न भएका उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूको संख्या ०६९ मा चार हजार ७६ रहेकोमा हाल उक्त संख्या २३ प्रतिशतले बढेर पाँच हजार १७ पुगेको हो । 

यो पाँच वर्षको अवधिमा ठूला औद्योगिक प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ४१ प्रतिशतले बढेर दुई लाख ८८ हजार एक सय ७० जना पुगेका छन् । त्यस्तै, कामदारको संख्या पनि ४१ प्रतिशलते बढेर दुई लाख ७४ हजार तीन सय २४ पुगेको छ । 

०६९ मा नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूले ०७६ मा आइपुग्दा करिब दुई खर्ब ३५ अर्ब ३३ करोडबराबरको मूल्य अभिवृद्धि गरेका हुन् । ०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूको लागत–उत्पादन अनुपात ०.७५ रहेकामा हालको सर्वेक्षणअनुसार सो अनुपात घटेर ०.७३ रहेको देखाएको छ ।

ad
ad