Skip This
सप्तकोसीले कटान गर्दा  तीन सय हेक्टर जमिन बगरमा परिणत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Friday, 19 July, 2024
सप्तकोसी नदीले गरेको कटान
२o७९ असार २३ बिहीबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सप्तकोसीले कटान गर्दा  तीन सय हेक्टर जमिन बगरमा परिणत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार o८:५८:oo

सप्तकोसी नदीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ वडामा कटान र डुबान बढ्दै छ । उक्त क्षेत्रमा झन्डै तीन सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीय बताउँछन् ।

‘तीन–चार वर्षयता बर्सेनि कटान हुने क्रम बढिरहेको छ । जसका कारण सयौँ घरपरिवार विस्थापित हुनेवाला छन्,’ स्थानीय युवा भरत घिमिरेले भने । उनका अनुसार यस वर्ष बर्खा सुरु नहुँदै बाढीले थप तीन सय मिटर कटान गरिसकेको छ । उनले भने, ‘सोही क्षेत्रमा बसोवास गर्ने सयौँ घरपरिवार विस्थापित हुने देखिन्छ ।’

केही समयअघि स्थानीय सरकारले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गरेर कटान नियन्त्रणमा लिने प्रयास गरिएको थियो । जसमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । सप्तकोसी नदी–तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । स्थानीय प्रकाश राउत भन्छन्, ‘नदी पूरै गाउँतिर सोझिएर आउँदै छ, ढुक्कले निदाउन सक्ने अवस्था छैन ।’ 

कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध बनाउनुपर्ने भए पनि नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयवासी बताउँछन् । उदयपुरलाई केन्द्रविन्दु बनाएर ०४५ भदौमा गएको भूकम्पका कारण उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोसी नदी आफ्नो धार परिवर्तन गरेर सुनसरीतर्फ धेरै ढल्केको थियो । अहिले सुनसरीबाट उदयपुरतर्फ कटान गर्दै पुरानै धारमा कोसी बग्न खोजेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्की भन्छन्, ‘सुनसरीबाट बग्ने सप्तकोसी उदयपुरको भागमा आउँदा सप्तरी जिल्लासम्म क्षति पुर्‍याउँछ ।’

०४५ सालभन्दा अघि सप्तकोसी उदयपुरको भागबाट बगेको थियो । भूकम्पपछि सुनसरीको भूभागबाट बगेपछि उदयपुरतर्फ धेरै खेतीयोग्य जमिन निस्किएको थियो । त्यही जमिनमा अहिले मानव बस्ती छ । मेयर कार्की भन्छन्, ‘अहिले बेलका नगरपालिका–८, डुम्रिबोट खोलानजिक कटान भइरहेको छ । त्यहाँ रहेको केही अग्लो भाग कटान भएको छ । त्यहाँबाट कोसी ०४५ सालभन्दा पहिला बगेको ठाउँमा आइपुग्छ । त्यसकारण झनै जोखिम बढेको छ ।’

सप्तकोसीले धार परिवर्तन गरी गत वर्ष उदयपुरको बेलका नगरपालिका–८ को लाहुरे खोँचमा कटान गरेको थियो । त्यसपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा क्षेत्र जोखिममा परेको थियो । 

मुख्य कारक सप्तकोसी ब्यारेज
सप्तकोसी नदीको तटीय क्षेत्रमा कटान र डुबान हुनुमा सप्तकोसी ब्यारेज मुख्य कारण रहेको छ । यस ब्यारेजकै कारण सुनसरी, उदयपुर, सप्तरीका तटीय क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् । ब्यारेज निर्माणका कारण सुनसरीको चतरा, उदयपुरको कमलाबारीदेखि सप्तरीको रम्पुरा, मल्हनिया, कुनौली, गोबरगाडालगायतका क्षेत्रमा १२ हजार घरधुरी किसान पीडित बन्दै आएका छन् ।

भारत सरकारले कोसी कटानमा परेका जग्गाको मुआब्जा दिने सहमति नेपाल सरकारसँग गरे पनि अझैसम्म कार्यान्वयन भएको छैन । बेलका नगरपालिकाका मेयर कार्की भन्छन्, ‘सप्तकोसी नदीको कटान रोक्न नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गर्न जरुरी रहेको छ । कटान क्षेत्रमा केही दिनअघि आइपुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि कटान रोक्न पहल गर्ने बताएका छन् ।’

कोसी कटानबाट उदयपुर, सप्तरी र सुनसरीका सयौँ बस्ती प्रभावित छन् । नेपाल–भारतबीच सन् १९५४ मा बहुउद्देश्यीय कोसी सम्झौता भएको थियो । कोसी सम्झौताअनुसार भारत सरकारले नदीका दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको नेकपा (माओवादी केन्द्र) बेलका नगरपालिका नेता रमण भट्टराईले बताए । उनले भने, ‘सप्तकोसी नदी कटानको मुख्य समस्या सप्तकोसी ब्यारेज हो । ब्यारेज बनाउँदा भारतले कटान र डुबान हुने क्षेत्रमा दुवैतर्फ बाँध बनाउने सहमति भएको रहेछ । भारतले बेवास्ता गर्दा समस्या भएको हो ।’

ad
ad
ad
ad